रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

आजभोलि

रेसुङ्गा । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल्(ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए ।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

“परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ”, क्याप्टेन विष्टले भने, “हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।” रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

“गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ”, उनले भने, “नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।” उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !