अचेल, कांग्रेस पूजीवादी कि प्रजातान्त्रिक समाजवादी !

आजभोलि

लोकराज अवस्थी

आधुनिक नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको बीपीको प्रजातान्त्रिक समाजवाद हो । अझ भन्ने हो भने उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यक्रम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बीपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनका कालदेखि बीपीको विचार नेपाली राजनीतिमा नयाँ तरंग पैदा ग¥यो । र, नेपाली कांग्रेसलाई देशकै ठूलो शाक्तिको रुपमा स्थापित गरायो । नेपाली माटो सुहाउँदो व्यवस्था तथा नीति बिपीको मूल लक्ष्य थियो । राजनीतिक रुपमा बीपीले हिंडेको बाटो नै कांग्रेसका लागि दर्शन बन्न पुग्यो । नेपाली समाज, आवश्यकता, व्यवस्था तथा नीतिलाई बीपीले समय वा परिस्थिति अनुसार व्यख्या तथा विश्लेषण गरी लागू गरे । पछि त्यो नै प्रजातान्त्रिक समाजवादको रुपमा व्याख्या गरियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि मूलतः नेपाली कांग्रेसमा वैचारिक रुपमा विचलन आएको देखिन्छ । मुखले प्रजातान्त्रिक समाजवाद भने पनि व्यवहारमा विस्तारै पूजीवादतर्फ ढल्क्यो । उदाउँदो विश्वव्यापीकरण र पूजीवादले विश्वजस्तै नेपालमा पनि प्रभाव पार्यो । २०४६ सालपछि नेपाली कांग्रेसको सरकारले लिएको निजीकरण र उदारवादको नीतिसँगै पूजीवादउन्मुख भयो । र, सरकारले नीति तथा योजना पनि सोही अनुसार तय गर्दै गयो । प्रजातन्त्रवादी वा कम्युनिस्ट जे भनिए पनि सबै पूजीवादको धनचक्करबाट उम्किन सकेनन् । अझ नेपाली कांग्रेस झनै पूजीवादी बन्दै गयो । लोककल्याणकारी राज्यलाई नारामा सिमित राखेर पूर्ण नाफामुखी पूजीवादी बन्यो । पार्टी सिद्धान्तः विचलित हुँदै आयो । जुन अहिलेको अवस्थामा आइपुगेको छ ।

प्रजातान्त्रिक समाजवाद राजनीतिक तथा आर्थिक समानता हो । सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिकरण हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो । बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बीपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनपर्छ भन्ने नै हो । यसरी बीपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिदैन् । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाडो स्थापित भएको हो ।

आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिहरूबाट निर्माण हुनुपर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहीत हुन्छ । सरकारलाई आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यवहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नती बीपीको समावादका मुख्य आधार हुन् । उनले सँगै राजनीतिक स्तन्त्रता बिनाको समाजवाद र आर्थिक उन्नती बिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन् । त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतीलाई एक ठाउँमा राखेर ब्याख्या गरेका छन् ।

बीपीले प्रजातन्त्रको व्याख्या पनि बहुत सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनुपर्छ । जनतालाई आफ्नो प्रतिनिधी रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न संवादातात्मक स्वतन्त्रताको आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तबमात्र सही व्यक्ति चुनिन सक्छ । यसरी बीपीको समाजवाद सैद्धान्तिक रुपमा पनि स्पष्ट छ । जुन बीपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो संघर्षपछि व्यवहारमा पनि लागू गरेर देखाए । नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

बीपीले स्पष्ट शब्दमा भनेका छन्, अधिकार गरीबलाई पनि, शिक्षितलाई अशिक्षितलाई पनि, तागाधारीलाई मात्र होइन मतवालीलाई पनि, लोग्नेमानिसँगै, महिलालाई सबैलाई कुनै किसिमको भेदभाव नराखी सुरक्षित रहनुपर्छ । उनले व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग मानेका छन् । जहाँ यी सबै अधिकार एवम् स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नुपर्छ भन्ने बीपीको अटल मान्यता रहेको थियो । बीपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन् । सबै समान हुन्छन् । कोही बढी कोही कम भन्ने पनि हुँदैन् । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसाथ गरी व्याख्या गरेका छन् । अहिले उठेका जातीयताका सवालहरूलाई उनले समानताको सिद्धान्तमा राखेर हेरेका छन् ।

बीपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । मानिलिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दूधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गाणितको न्यायले सबैलाइ एक–एक चम्चा दूध दिन सकिएला, तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ । उत्पादनको यो न्यायलाई घोषणाद्धारा एकैचोटी बदर गर्नसकिँदैन । दूधको उत्पादनको बृद्धि गर्नपट्टि लाग्नुपर्छ । प्रर्याप्त मात्रामा दूधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिबृद्धि अपेक्षित हुन्छ । श्रोत साधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो संघीयतामा जादा सामान श्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समान श्रोतको उपयोग तथा वितरणको सिद्धान्तसँग जोडिएको कुरा हो ।

समयको हिसाबले बीपीको प्रजातन्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रुपमा नेपाली माटोको प्रतिबिम्ब हो । पश्चिमेली राष्ट्रले दशकौ बर्ष पहिले प्रतिपादन गरेको सिद्धान्त लागू गरिनुपर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको श्रोत बनेको छ । तत्कालिन नेकपा एमालेमा जनताको बहुदलीय जनवाद पनि यसकै वरीपरी घुमेको पाइन्छ । तथापी बीपीको समाजवाद र अरुका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाज्न या तुलना गर्न सकिदैन् । बीपीको समाजवादले युगको परिवर्तन ग¥यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डो¥यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रबेश ग¥यो । यसकारण बीपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो ।

अब कुरा गरौ, बीपीको प्रजातन्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिड्यो कि हिँडेन ? बीपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन् ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन । नेपाली कांग्रेसको सरकार हुँदा बीपी भने जस्तो नेपालको योजना बनाउँदा राजा र झुपडी अगाडि उभिएको किसानको तस्बीरसँगै राखेर योजना बनाउनुपर्छ भन्ने भनाईलाइ मनन गरी कार्यान्वयन गर्यो त ? अर्को प्रश्न खडा हुन्छ ।

बीपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बीपीपथबाट बिचलित हुन हुँदै आयो । राजनीतिक रुपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन् । कांग्रेसले जनमुखी अर्थात झुपडी लक्षित कार्यक्रम ल्याउन सकेन् । कांग्रेसको शासनकालमा मध्यम तथा ठूला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पूजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । र, राज्य भन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकार भन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन परनिर्भर हुँदैगए । जसले धनी र गरीबबीचको खाडल नपुरिने गरी बढाइ दियो । कार्यक्रम त कता हो कता, पछिल्लो समयमा कांग्रसले गरिबको पक्षमा बोल्न नै छाड्यो । विनोद चौधरीहरुलाई पार्टीको आर्थिक सम्पन्नताको जिम्मा दिइयो ।

पूजीवादको नाममा पूजीवादको पश्चिमम मोडेलसँगै नवउदारवादलाई लागू गर्ने प्रयास ग¥यो । जसले वैचारिक रुपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरीबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउनू छोड्यो । नेता तथा कार्यकर्ताहरू बिस्तारै शहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो ।

बीपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरूपुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका बिरूद्ध आन्दोलन गर्नुपर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन् । पार्टी भन्दा पनि व्यक्ति बलियो हुँदै गयो । लोकतन्त्र सत्तामा जाने सिढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरीब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन् । जनता झन झन गरीब बने । बीपीको समाजवाद, निर्वाचन वा राजनीतिक बहसमामात्र सिमित रहन पुग्यो । यो कहिले पनि कार्यक्रममुखी हुन सकेन् । जहिले पनि शहर केन्द्रित तथा मध्यम खालका मात्र कार्यक्रममा जोड दियो ।

समयानुसार कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गरेमा नेपालमा एकै मात्र पार्टी हुन्छ , त्यो हो नेपाली कांग्रेस । कम्युनिस्टहरूले एक्काइसौ शताब्दिमा उठाएका मागहरू बीपीले सात दशक अघि उठाएका थिए । कांग्रेस सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनुपर्छ । सम्पन्न तथा शहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनुपर्छ । जसले पार्टीलाई सशक्त र प्रभावकारी बनाओस् । मतलव बीपीको दिशा, सिद्धान्त तथा मार्गमा जानुको विकल्प छैन । यदि त्यसो नभए कांग्रेसका आगामी दिन सजिला हुन छैनन् ।

(लेखक त्रिभुवन विश्वविद्यालय अन्तरगत समाजशास्त्र विषयमा एमफील अध्ययनरत छन् )

  • ६ श्रावण २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !