गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !

लोकराज अवस्थी

MCC

बलयगाडा चढेर अमेरिका पुगिदैन भन्ने सिद्धान्तकार खड्ग प्रसाद शर्मा ओली गणतन्त्र नेपालका कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीको भूमिकामा छन् । अर्थात् ओली बलयगाडा चढेर अमेरिका पुगेका छन् । उनी असम्भव भनेको गणतन्त्रका मूलशासक बनेका छन् । र ओली गणतन्त्रको पूराण बाँचन गरीरहेका छन् । प्रचण्डहरु सुनिरहेका छन् । बाँकी ताली ठोक्दै छन् । उनी सधै दाउरा सुरुवालमा अंचलाधिश झै फैसला गरिरहेका छन् । र, कामै नलाग्ने ओलीउपदेश दिइरहेका छन् । देश यसरी नै चलिरहेको छ ।

आजको मितिमा शान्ति सम्झौता भएको १४ वर्ष पुगेको छ । अर्थात् माओवादीको जंगलीराज सकिएको डेढ दशक पुग्नै आँटेको छ । तर १२ वर्ष शशस्त्र बिद्रोह गर्ने नेकपा माओवादी र शान्ति प्रकृयाको नेतृत्व गर्ने नेपाली कांग्रेस लगभग भूमिका बिहीन छन् । उनीहरु गणतन्त्रका पीडित भएका छन् । बृहत शान्ति सम्झौता तथा जनआन्दोलन २०६२/६३ को बिरोधी खड्ग प्रसाद शर्मा ओलीले गणतन्त्र हाकी रहेकाछन् । सुन्दा अचम्म लागे पनि गणतन्त्रमा ओलीराज चलिरहेको छ । गणतन्त्रका मसिहा नेकपा माओवादी तथा नेपाली कांग्रेस ओलीबाट शासित छन् । उनी निरहीजस्तै देखिएका छन् । प्रचण्ड त ओलीमा बिलए नै भएका छन् ।

अहिले जे भएको छ । त्यो सिद्धान्त विपरित छ । जसको नीति, त्यसको नेतृत्व । जसको एजेण्डा उसको नीति विपरित राज्य संचालन भइरहेको छ । गणतन्त्र बिरोधी ओली गणतन्त्रका अगुवा बनीरहेका छन् । शान्ति सम्झौतामा मुख्य भूमिका खेलेका माधव कुमार नेपाल गणतन्त्रको संस्थागत विकासका लागि ओलीलाई बिन्तीपत्र चढाइरहेका छन् । शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्येका एक प्रचण्ड ओलीको द्धितीय अध्यक्ष बनेर राजनीतिक भीख मागिरहेका छन् । जुन सुन्दै, बुझ्दै वा देख्दै बिडम्बना लाग्दो छ ।

गुरुराज घिमिरे, रामकुमारी झाक्रीहरुले सडकमा गणतन्त्रको नारा घन्काउँदा ओली बालकोटामा टुक्का हान्दै थिए । गणतन्त्रको मजाक उडाउँदै थिए । जनआन्दोलनमा गिरिजा प्रसाद कोइरालाको टाउँको शाही लाठी बर्सने बेला ओली हनुमान जम्मा गरेर बलयगाडाको किस्सा सुनाउदै थिए । गिरिजा प्रसाद कोइराला, प्रचण्ड र माधव कुमार नेपाल गणतन्त्रको खाका कोर्ने बेला, ओली ज्ञानेन्द्र शाहसँग गाँफिदै थिए । उनले गणतन्त्रका लागि योगदानको त कुरै नगरौं, कल्पनासमेत गरेका थिएनन् । जुन घटना क्रमले पुष्टि गर्दछ ।

जनआन्दोलन, शान्ति सम्झौता तथा परिवर्तनको आन्दोलनमा ओली कहींकतै देखिदैनन् । भूमिका तथा योगदानमा कतै भेटिदैन् । २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौतामा पनि उनी कतै भेटिदैनन् । ओलीले बिरोध गर्लान् भनेर उनलाई देखासाक्षीको रुपमा मात्र लिइएको थियो । शान्ति सम्झौताको समारोहमा पनि ओली पछाडिको सिटमा बसेर रणभुल्लमा थिए । उनले कुनै हर्ष वा खुशी मनाएको देखिदैनन् ।

शान्ति प्रकृयापछि ओलीको कामै नेकपा माओवादीलाई गाली गर्नु दिनचर्या बन्यो । नेपाली कांग्रेसबिरुद्ध टुक्का हाल्नु उनको भाषणको शैली बन्यो । उनले जहिले पनि हावादारी गफ दिएर नेपाली जनतालाई भ्रममा राखे । कहिले पूर्वपश्चिम रेल, त कहिले पानीजहाजको कुरा गरेर जनताको ध्यान भड्काए । तर गणतन्त्र नेपालमा उनी दूइ चोटी प्रधानमन्त्री बने । संघीयताको लागि कुनै पनि पहल गरेनन् । नाकाबन्दीमा भारतलाई गाली दिएर राष्ट्रवादी बने । तर पछि त्यही भारतको फेर समातेर प्रधानमन्त्री बने । जहाँ गयो, त्यही यो गर्छु, भनेर झूठा सपना बाँढे । नेपालीलाई भावनात्मक रुपमा ब्ल्याकमेल गरे । आफू ठीक, अरु बेठीक भनेर हनुमानगिरी गरे । जसले उनलाई गणतन्त्रको नक्कली मालिक बनाइ दियो ।

ओलीले विगत डेढ दशकमा के गरे त भनेर फर्केर हेर्यो भने, उपलब्धि केही भेटिदैन् । जहिले पनि संघीयताको मर्म विपरित वकालत गरे । उनले अहिलेसम्म नेपाली समाजको बहुलता अस्वीकार गरेका छन् । मधेशमाथि गालीगलौचमा उत्रिए । दलितको अपमान गरे । जनजाती तथा पछिपारिएका समुदायको प्रतिष्ठामाथि धावा बोले । सुदूरपश्चिम र कर्णालीमाथि अन्याय गरे । समग्रमा लोकतन्त्रको मर्ममाथि प्रहार गरे ।

२०७४ पछि ओलीको सत्तारोहणपछि नेपालमा पुनःकेन्द्रिकृत शासन प्रणालीउन्मुख भयो । संघीयताको संस्थागत विकास भन्दा पनि अधिकार कटौती हुँदै आयो । २१ औं शताब्दिको लोकतन्त्रको मर्म विपरित राज्यको शासकीय प्रणालीको विकास भयो । राज्यका मूल संयन्त्र आफ्नो मातहतमा राखे । न्यायालयमा चरम राजनीतिकरण गरे । विकासका कार्यहरुमा ब्यापक अनियमिता भयो । प्रदेश संयन्त्र लगभग विफल बनाए । स्थानीय सरकार पनि कागजी बाघ जस्तै देखिए । संघीयतामाथि नै प्रश्न उठ्ने गरी प्रशासन संयन्त्र चलाए ।

अहिले नेपाल इतिहासकै कठिन मोडमा छ । कोरोनापछि देशको अर्थव्यवस्था शिथिल भएको छ । विगतको पाँच वर्षमा नेपालमा भ्रष्टाचारले चरम सिमा नाघेको छ । महिला हिंसा बढेको छ । बलात्कारले नयाँ रेकर्ड बनाएको छ । युवा बेरोजगारले ऐतिहासिक रेकर्ड बनाएको छ । दोषिलाई उन्मुक्ति मिलेको छ । लाखौले रोजगारी गुमाएका छन् । अनि बालबालिका विद्यालयहीन भएका छन् । हजारौ मजदुर भोकै बस्ने अवस्था आएको छ । न्यायलयमाथिको विश्वास टुटेको छ । सरकारप्रतिको आशा गुमेको छ । नेपाली सामाज भंग हुने अवस्थामा पुगेको छ । अर्थात् सरकार पूर्णतया असफल भएको छ । जुन प्रचण्डको राजनीतिक प्रस्तावले पनि पुष्टि गरेको छ ।

नढाँटी भन्ने हो भने, ओली गणतन्त्रका मसिहा हैनन् । गणतन्त्र नेतृत्वगत रुपमा हेर्दा गिरिजा प्रसाद कोइराला र प्रचण्डले अज्र्याका हुन् । उनीहरुको योगदान तथा संघर्षबाट स्थापित भएको हो । ओलीहरु त्यसताका वा अहिले पनि गणतन्त्रका हिस्सेदार हैनन् । उनीहरुको एजेण्ड पनि हैन । नीति हैन । माग हैन । आवश्यकता हैन् । उनीहरु गणतन्त्रको मार्गमै थिएनन् । केबल ओलीहरु गणतन्त्रका रमिते थिए । र, छन् । खोटो किनारे साक्षी हुन । यसकारण गणतन्त्र जसको मुद्दा नै हैन, उसैले हाँके के हुन्छ । त्यो वर्तमानमा देख्न सकिन्छ । भोग्न सकिन्छ । अनुभव गर्न सकिन्छ ।

नजाने गाउँको बाटो हिडे गन्तव्यमा पुगिदैन् । किनभने जानुपर्ने गाउँ अर्कै थियो । हिडियो अर्कैतिर । पुगियो पनि अर्कैतिर । अनि कसरी पुगिन्छ जाने गाउँमा ? गणतन्त्रको ओलीराज यस्तै हो । प्रचण्डहरु अपमानित छन् । भूमिकाहिन छन् । माधव कुमारहरु दोस्रो दर्जाको नेताको रुपमा अपमानित छन् । नेपाली कांग्रेस दिशाविहीन छ । प्रतिपक्ष पनि पक्ष जस्तै देखिएको छ । बहुदलिय व्यवस्था भनिए पनि पञ्चायती मोडेलमा शासन चलिरहेको छ । प्रधानमन्त्री ओलीको इच्छा अनुसार देश हाँकेका छन् । प्रचण्ड माधव कुमारहरु व्यक्तिगत भूमिकामा मात्र सिमिति छन् । प्रतिपक्ष पनि व्यक्तिगत रुपमै प्रस्तुत भएको छ । यो भनेको पञ्चायती मोडेल हो ।

नेपाल अहिले ओली मोडेलमा चलेको छ । न त पार्टीको भूमिका छ । न औचित्यता छ । न प्रतिपक्षको आवश्यकता छ । न त कुनै विधी नै छ । ओलीराजमा केबल प्रधानमन्त्रीको मर्जी भए पुग्छ । चाहना भए हुन्छ । आदेशमा देश चल्छ । संघीय गणतन्त्रमा सिंहदरबारको हुकुमी आदेशले मात्र काम गर्छ । गणतन्त्रका दासहरु गणतन्त्रका मालिक भएका छन् ।

(यो आलेखमा उल्लेख भएको विचार लेखकका निजी विचार हुन् । यसले संस्थागत प्रतिनिधित्व गर्दैन ।)

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !