देउवाको मौनताले उब्जाएका गम्भिर प्रश्नहरु

लोकू बाराघरे

लोकू बाराघरे, विश्लेषण,

देशको पछिल्ला राजनीतिक घटनाक्रमसँगै नेपालको राजनीतिक मार्ग फेरिएको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रतिनिधिसभा अर्थात् संसद भंग गरेका छन् । जुन राष्ट्रपति विद्या देवी भण्डारीले स्वीकृती गरिसकेका छन् । सर्वोच्चले संसद भंगका बिरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कानुनी तथा वैधानिक प्रश्नहरु उब्जिएका छन् । र देशमा अन्यौलता छाएको छ ।

प्रशंग बदलौं । प्रशंग नेपाली कांग्रेसको हो । राष्ट्रपतिले संसद भंग गर्नु भन्दा लगभग एक दुइ घण्टा पहिले नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा प्रधानमन्त्रीसँगको बैठकमा उपस्थित थिए । उनी संवैधानिक परिषद्को बैठकमा सहभागी भएका थिए । उनी बालुवाटारबाट फर्केसँगै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यदेश जारी गरे । जसलाई कानुनी उपहास पनि भनिएको छ ।

त्यही दिन बेलुकी हुने अध्यदेशपछिको संवैधानिक परिषदको बैठकमा शेर बहादुर देउवा सहभागी भएनन् । उनले सामाजिक संजाल मार्फत आफ्नो असहमती जाहेर गरे । तर अचम्मको कुरा के छ भने संवैधानिक परिषद्को बैठकले गरेका नियुक्तिमा शेर बहादुर देउवा निकट मानिएका व्यक्तिहरु पनि परेका छन् । तर ती बारेमा देउवाले कुनै पनि प्रतिक्रिया दिएनन् ।

त्यति मात्र हैन, संवैधानिक परिषद्को बैठकमा सहभागी भएपछि उनले आफ्ना नजिकका पदाधिकारीसँग कुनै कुरा नबताएको उनी निकटले दुखेसो पोखीरहेका छन् । प्रधानमन्त्रीसँग के कुरा भयो र संवैधानिक परिषद्को बैठकमा देउवाले के अडान राखे भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन् । जसले उनको संलग्नतामाथि प्रश्न उठाएको छ ।

प्रमुख प्रतिपक्ष दलको नेतालाई देशमा दुइ चार घण्टापछि के हुन्छ भन्ने कुरा थाहा हुदैन भनेर पत्याउन कठिन हुन्छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र नेपाली कांग्रेसको सभापतीलाई लगभग सबै कुराको जानकारी हुनुपर्छ । अर्थात् हुन्छ नै । देउवालाई राष्ट्रपतिले अध्यादेश ल्याउदैछन् भन्ने कुरा पनि पक्कै थाहा हुनुपर्छ । प्रश्न यो हो की, उनलाई थाहा भएको जानकारीको बारेमा उनले पार्टीको उच्च तहमा किन छलफल गरेन ? अब मानीलिउँ, उनलाइ थाहा थिएन । कसरी किन थाहा भएन ? उनका संयन्त्रहरुले के गरिरहेका थिए ? भन्ने प्रश्न पनि सँगै आउँछन् । यी कुराले देउवाको भूमिकामाथि नै प्रश्न उठाएको छ । कतै प्रधानमन्त्रीसँग आघोषित साँठगाँठ त छैन ?

अर्को प्रशंग, प्रधानमन्त्रीले ओली संसद भंग गरेपछि देउवा अझै मौन बसे । लोकतन्त्रमाथि यत्रो गम्भिर प्रहार हुँदा पनि उनले एक वक्तव्य जारी गरेनन् । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई वक्तव्य निकाल्न लगाए । अर्को वक्तव्य पार्टीका मुख्यसचिवलाई लेख्न लगाए । आफू टाढा रहे ।

प्रश्न हो, देशमा आएको संकट र लोकतन्त्रमाथि भएको यो गम्भिर प्रहारमा पनि पार्टी सभापतिले वक्तव्य जारी गर्दैनन् भने, कति बेला, केका लागि, कुन विषय वा प्रंशग वा मुद्दामा वक्तव्य जारी गर्छन् त ? यसले नेपाली कांग्रेसको शाख गिरेको छ । पार्टीको आधिकारिक लाइन के हो भनेर यावत प्रश्नहरु उठीरहेका छन् । जसले अन्तर्राष्ट्रियस्तरमा पनि सन्देश फरक गएको छ ।

पार्टी प्रवक्ताले जारी गरेको वक्तव्य पनि तथ्यहिन छ । के कारणले संसद भंग अवैधानिक हो भनेर तथ्य पेश नगरीकनै जारी गरिएको छ । वक्तव्यमा आगामी दिनमा कांग्रेसको धारणा के हो, त्यो पनि स्पष्ट छैन् । पहिलो हरफलाई अन्तिम हरफले उल्टाएको छ । यो राजनीतिक वक्तव्य भन्दा पनि साहित्यिक वक्तव्य देखिन्छ । जसले कुनै राजनीतिक धारणा वा मार्गचित्र दिएको छैन् ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । आगामी धारणा बनाउनका लागि छलफल जारीभइरहेको छ । छलफलमा पनि देउवा पक्षधर नेताहरुले सर्वोच्चमा गएको मुद्दाको बिरुद्ध तत्काल आन्दोलनमा जान नहुने तर्क दिइरहेका छन् । यसका मतलव हो उनीहरु पर्ख र हेरको अवस्था छन् । जसले सभापतीको भूमिका अझ शंकास्पद बनाउँदै लगेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडले पक्षधर भने लोकतन्त्रमाथिको प्रहार भएकोले तत्कालै कांग्रेस सडक आन्दोलनमा जानु पर्नेमा जोड दिइरहेका छन् । विवाद नहुनु पर्ने विषयमा पनि विवाद उत्पन्न गराइएको छ ।

भनिन्छ, लोकतन्त्रमा सडक प्रतिपक्षको हो । सडकबाट जनताका आवाज र सरकारलाई जवाफदेही बनाउने काम पनि प्रतिपक्षको हो । अझ अहिलेका जस्तो जटिल अवस्थामा त प्रतिपक्षको भूमिका अझ निर्णायक हुन्छ । महत्वपूर्ण हुन्छ । संसद भंग छ । संविधानमाथि प्रश्न उठीरहेको छ । संवैधानिक नियुक्ति अध्यादेशको भरमा भइरहेका छन् । संघीय व्यवस्था नै धरापमा पर्दै गइरहेको छ । तर पनि कांग्रेस पुषको घाम तापीरहेको छ । कताकता सरकारलाई सघाइरहेको देखिन्छ ।

संसद भंग भएको लगभग हप्ता दिन वितीसक्दा पनि किन नेपाली कांग्रेसले खरो बिरोध गर्न सकिरहेको छैन् ? किन, आफ्नो धारणा सार्वजनिक गरिरहेको छैन ? किन, तै चुप, मै चुपको अवस्थामा रहेको छ । के कांग्रेस ओली सरकारमा सहभागी हँदैछ ? किन लोकतन्त्रमाथि संकट आउँदा पनि लोकतन्त्रको पहरेदार भन्ने कांग्रेस किनाराको साक्षी बनीरहेको छ ? आम नेपालीको मनमा यी लगायतका प्रश्नहरु उब्जिरहेका रहेका छन् । तर कांग्रेस भने यी प्रश्नको जवाफ दिन तयार देखिदैन् । कताकता सत्ताको गन्धले फेरी पनि कांग्रेसमाथि औलो ठड्याउने परिस्थितिको निर्माण हुँदै गइरहेको छ । यसको जिम्मेवार को त ? फेरी पनि प्रश्न उब्जिहाल्छ ।

File Photo

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !