संकटमा सडक किनाराका ढुंगा-शिल्पी व्यवसायः बालबालिकाको स्वास्थ्य जोखिम बढ्दो

प्रवीण भट्टराई

आजभोलिका लागि प्रवीण भट्टराईको स्थलगत रिपोर्ट ।

काठमाडौं। सहरका बिभिन्न सार्वजनिक स्थल तथा फुटपाथमा विभिन्न प्रकारका सानातिना पेशा व्यवसाय गर्दै आश्रित हुने असँख्य पेशाकर्मीहरु यही सहरमा प्रशस्त भेटिन्छन् । उनीहरु बिहानदेखि बेलुकासम्मै सडकमा नै हुन्छन् । उनीहरुको दैनिकी फुटपाथ क्षेत्रमा नै हुनेगर्छ । यसरी आफ्नो पेशा व्यवसाय गर्दा सहरमा बिभिन्न कारणले सिर्जित भएका धुलो, मैलो र धुँवा खानु उनीहरु बाध्य जस्तै बनेको छ । तर आफ्नो जीविको पार्जनका लागि उनीहरु सडक किनारामा बसी आफ्नो आफ्नो व्यवसायिक कार्य गरिरहेका छन् ।

यसरी व्यवसायिक कार्य गर्ने क्रममा काठमाण्डौ चाहविल क्षेत्रको सडक किनारा वा फुटपाथमा बसेर धुलो, मैलो खाँदै र घामपानी झेल्दै रुपन्देहीका राम जी कुस्वाडिया (२८) ले सिलौटो तथा जाँतो बनाउन प्रयोग गर्ने चाक्लो ढुँगालाई छिनो, हम्बर, सिम्मी, धार आदी जस्ता घरेलु हातहतियारहरु प्रयोग गरी छिनेर वा कुँदेर सिलौटो, लोहोरो, जाँतो, खलौटो आदि बनाउने काम गरिरहेका छन् । उनले यो पेशा अंगालेकै १५ बर्ष भैसक्यो। सानैमा आफ्नै गाउँघरमा उनले आफ्नै समुदायका व्यक्तिहरुबाट छिनोले ढुङ्गा कुँदी सिलौटा, जाँतो र खल बनाउने शिप कौसल जानेका हुन् । यो उनको पुर्खेउली पेशा हो ।

ढुङ्गे सिलौटो, लोहोरो, जाँतो, खलौटो प्राय गरेर हाम्रा घरका भान्साकोठामा धनिया, लसुन, मरिच, अदुवा पिस्न वा अचार बनाउन अथवा अन्य परिकारहरु बनाउँदा मरमसलाहरु पिस्न वा बनाउन प्रयोग गरिन्छ । मसला तथा दाल पिस्न प्रयोग गरिने यस किसिमका घरेलु सामानहरुको प्रयोग हाम्रो नेपाली समाजको पुरानो चलन हो । र यस प्रकारको घरेलु सामग्रीहरुको चलन वा प्रयोग नेपाल अधिराज्य भरी नै रहेको छ । तर समय क्रमसँगै मसला पिस्न, आचार बनाउन वा दाल पिस्न अचेल बिभिन्न प्रकारका आधुनिक इलेक्ट्रिकल उपकरणहरु पनि प्रयोगमा आइरहेका छन् ।

इलेक्ट्रिकल उपकरणहरुको प्रयोग सबै सहरी क्षेत्रमा हुँदै गएपनि ग्रामीण क्षेत्रमा भने यस किसिमकै घरेलु उपकरणहरुको प्रयोग गर्ने उपभोक्ताहरु उल्लेखिय मात्रामा छन् । तर सहरी क्षेत्रमा पनि यसको प्रयोग वा उपयोग बढी नै हुन्छ । यो हामी नेपाली उपभोक्ताको लागि एक घरेलु उपकरण हो । त्यसैले, सिलौटा, जाँतो र खल बनाउन प्रयोगमा आउने ढुँङ्गा बुटबल, रुपन्देही र बिरगञ्जबाट खरिद गरी ल्याइन्छ ।

त्यसैले यही पेशा अपनाउँदै यही सहरमा पेशाकर्मी कुस्वडिया प्रत्येक दिन दुई तीन बटा जाँतो, सिलौटा र खल विक्री गर्छन् । र दैनिक १५ सयसम्म कमाइ गर्छन् । तर उनी यसरी ढुङ्गालाई कुँदेर सामान बनाउँदा बनाउँदै शारीरिक रुपमा द्रवित छन् । त्यसैले उनी भन्छन् “सिलौटो तथा जाँतो बनाउन ढुँगालाई यसरी छिनो प्रयोग गरी हात पाखुरा चलाउँदा मेरा हात पाखुरा नै दुःखी सके । साथै, यो काम गर्दा आँखामा मसिना ढुङ्गाका टुक्राटुक्रिहरु पनि कहिलेकाँही पस्ने गर्छन्।″

सानैमा घरमा बाउबाजे बाट यस पेशा सम्बन्धी सामान्य शिप सिकेर अचेल सहरमा यो कार्य गरिरहेका छन् । उनको लागि यो पेशा व्यवसाय नै सहरमा बस्ने माध्यम भएको छ । र उनी भन्छन् ‟ सहरमा बाल बच्चा पढाउन पनि यही पुर्खेउली पेशा अपनाएको छु।″ साथै, उनको यस व्यवसायिक कार्यमा उनका छोराछोरीले पनि बेला मौकामा सरसहयोग गरिरहेका छन् ।

सहरमा आफ्नो पेशा व्यवसाय असुरक्षित भएकोमा उनी साह्रै चिन्तित छन् । सडक फुटपाथबाट कामगर्दा सधैको धुलो धुँवाबाट आजित छन् । साथै, स्थानीय नगरपालिकाले यसरी सार्वजनिक सडक बाटोमा यो पेशा व्यवसाय नगर भन्छ उनी गुनासो गर्छन् । तर पनि उनी प्रतिप्रश्न गर्छन्, सधै मानिसहरु हिड्ने बाटो क्षेत्रबाट व्यवसाय नगरे कुन सुरक्षित क्षेत्रमा राखेर यो पेशामा व्यवसाय गर्ने ?

त्यसैले सहरका फुटपाथबाट संचालन हुने सबै प्रकारका पेशा व्यवसाय र त्यस पोशमा सँलग्न हुने पेशा व्यवसायीहरुलाई सम्बन्धित निकायले व्यवस्थित गर्न आवश्यक योजना तथा गृहकार्य गर्नुपर्छ । तबमात्र सबै साना व्यवसायीको व्यवसायिक जीवन उन्नत हुने पक्का छ । र उनीहरुको व्यवासयिक जीवन पनि सफल हुनेछ । सधै भरी यही पेशा व्यवसाय नै गर्ने योजना बनाएका कुस्वडीया भन्छन्, अन्य शिप अहिलेसम्म जानेको छैन र अन्य प्रकारका काम गर्ने खासै जाँगर पनि छैन, त्यसैले उनी भन्छन्, यहिले मैले धुलो, मैलो खाएर यही पेशा व्यवसायमा नै श्रम गरे भनेँ पो भोली भविष्यमा मेरा छोराछोरी पनि स्कुल जान सक्छन् ।

त्यस्तै, अर्की महिला व्यवसायी पुनम कुस्वाडीया (२९) पनि ढुँगा कुँदेर वा खोपेर सिलौटा, जाँतो, खल आदी बनाउने तथा बिक्री गर्ने काममा सँलग्न अर्की महिला व्यवासयी हुन् । उनी भन्छिन्, राम्रो लाउँ राम्रो खाउँ भन्ने इच्छा हुँदा हुँदै पनि यो पेशा व्यवसाय सडकको धुलो मुलो खाँदै गरिरहेकी छु ।

उनका श्रीमान भने गाउँ तिरै खेतीपाती गरेर बस्छन् । त्यसैले यो व्यवसाय गरेर आफ्ना छोरा छोरीलाई सार्वजनिक स्कुल पढाउनु, सहरीया जीवनशैलीमा बाँच्नु उनका लागि मुस्किल भएको छ । यो व्यवसाय पनि अस्थिर छ । कहिले व्यापर हुन्छ कहिले व्यापार हुँदैन । नगरपालिकाका प्रतिनिधीहरु आएर हाम्रा सामानहरु हटाइदिन्छ वा जताजतै फ्यालिदिन्छ त्यसैले उनी भन्छिन्, यो व्यवसाय सन्चालनका लागि सहरमा निस्चित स्थान नहुनु अर्को मुख्य समस्या हो ।

यस किसिमका साना व्यवसायीहरु प्राय गरेर चावहिल, सीतापाइला, नयाँ बसपार्क, कलंकी, बनस्थली आदी क्षेत्रमा सडक छेउछाउ वा फुटपाथमा बसेर आफ्नो व्यवसायिक कार्यहरु गर्दै आइरहेका छन् । सहरमा साना छोराछोरीसँगै बसी व्यवसाय गर्दै आएकी उनी भन्छिन् नगरपालिकाले विनासित्तिमा हामी पेशा व्यवसाय गरेर खानेलाई दुःख दिन्छ । त्यसैले हाम्रा पेशा व्यवसायलाई सम्बन्धित पक्षले अझ व्यवसायिक बनाउन सहयोग गर्नुपर्छ ।

यो व्यवसायको प्रकृति नै कहिले व्यापर हुने वा कहिले व्यापार नहुने हो । साथै, सिलौटा तथा जाँतो बनाउन प्रयोग हुने ढुङ्गा चोरेर लान्छन् अथवा हराएर जान्छन्, काम गर्दा धुलो ढुँगा माटोसँग खेल्नु पर्छ । सबैका घरघरमा मसला पिस्न ग्राइन्डरको प्रयोग बढ्दो छ। त्यसैले यो पेशा व्यवसायमा पनि जोखिम तथा चुनौतीहरु धेरै छन् । त्यसैले महिला उद्यमी कुस्वाडीया भन्छिन् ढुङ्गाबाट बन्ने सिलौटो तथा जाँतोलाई प्रत्येक घरका भान्सा घरमा प्रयोगमा ल्याउन वा बढाउँदै लैजानका लागि आधुनिक प्रकारका मसला पिस्ने इलेक्ट्रिकल उपकरणहरुको प्रयोगलाई कम गर्दै लगिनु पर्छ ।

तर प्रत्येक ग्राहकको स्वभाव फरक हुन्छ । उनीहरुको एउटै बस्तुप्रतिको इच्छा वा चाहाना पनि विल्कुलै भिन्न हुन्छ । त्यसैले ग्राहकाले आफूलाई बस्तु तथा दरमा चित्त बुझेपछि मात्र सिलौटा तथा लोहोरो र अन्य ढुंङ्गा कुँदेर बनेका मसला पिस्न प्रयोग आउने सामानहरु घरायसी कामका लागि लैजान्छन् । उनी भन्छिन्, हामी साना पेशा व्यवसायीलाई खुला ठाउँमा वा सडक किनारामा वा धेरै ग्राहकहरु आवतजावत गरीरहने ठाउँमा नै यो पेशालाई सम्बन्धित निकायले सन्चालन गर्ने अनुमति दिनुपर्छ ।

हामी गरीव छौ । हाम्रो न्युन किसिमको अर्थिक अवस्थाले गर्दा नै यही पुर्खेउली पेशा अपनाएर फुटपाथबाटै व्यवसाय गरी सहरमा छोराछोरी पढाउने,चाहिने लुगा कपडा किन्ने, घर भाँडा तिर्ने काम गरिरहेका छौ त्यसैले हाम्रो समुदायलाई पनि यही पेशा व्यवसाय गर्दै गरी खान दिनुपर्यो, उनी भन्छिन् । र उनको बुझाइमा अचेल ग्राहकहरु सुविधाभोगी भएकाले मसला पिस्न तथा अचार बनाउन हामी व्यवसायीले बनाएका ढुंङ्गाका सिलौटो, लोहरो, जाँतो र खल प्रयोगमा कमी भएको हो उनको बुझाइ छ । त्यसैले उनी भन्छिन्, हाम्रो पुर्खेउली व्यवसायलाई निरन्तर दिनका लागि आधुनिक किसिमका ईलेक्ट्रिकल उपकरण मिक्सर मेसिनको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ ।

अन्तमा, यस किसिमका साना पेशा व्यवसायीलाई पनि सुरक्षित व्यवसायिक वातावरणको अवस्था श्रृजना गरी दिनुपर्छ । उनीहरुका व्यवसायिक योजना तथा कार्यमा सबै सरोकारबाला पक्षहरुले सहयोग गर्नुपर्छ । र यस पेशा व्यवसायमा सँलग्न भएकाहरुको जीवन वृतिका लागि उनीहरुले बनाउने सिलौटा, लोहोरो, जाँतो, खल जस्ता ढुङ्गा कुँदेका बनाउने घरेलु उपकरणहरु वा सामानहरुको प्रयोग सबैले आफ्ना आफ्ना घर परिवारमा गर्नुपर्छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !