चीनले नेपालको रणनीतिक र राजनीतिक पक्षलाई मात्र उपयोग गर्छ – आचार्य

प्रवीण भट्टराई

विश्व मानचित्रमा नेपाल एक भूपरिवेष्ठित देश हो । भौगोलिक रुपमा देशको उत्तरी सिमानामा चीन वा तिब्बत रहेको छ । त्यस्तै, दक्षिण, पूर्व र पश्चिम सिमानामा भारत रहेको छ । त्यसैले, देश भौगोलिक दृष्टिले दुई ढुंगाबीचको तरुल हो । दुई ठूला मित्र राष्ट्रहरुकोबीचमा अवस्थित देशको भौगोलिक स्थिति, हावापानी, जनसङ्ख्या बनावट, सामाजिक तथा साँस्कृतिक विकासक्रम, उपलब्ध प्राकृतिक श्रोतसाधन र राज्यको आर्थिक तथा राजनीतिक स्थितिले भूराजनीतिमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसैले, कुनै पनि देशको भौगोलिक अवस्थितको कारणले उसको राजनीतिक व्यवहारमा के कसरी कस्ता प्रभावहरु पर्छन् भन्ने कुराको अध्ययन नै भूराजनीतिको अध्ययनको क्षेत्र हो ।

भूराजनीति शब्दको प्रयोग सर्वप्रथम सन् १८९९ मा स्विडेनमा रुडोल्फ किज्लिन् ले गरेका हुन् । विश्वव्यापीरुपमा यस शब्दको प्रयोग जर्मनीबाट सन् १९३० मा डा. कार्ल होसफर्रले त्यस बेला नाजी जर्मनीको बैदेशिक नीतिलाई प्रस्ट्याउन गरेका थिए । भूराजनीति शब्दको प्रयोग तात्कालिन अवस्थामा देशको सिमाना बढाउने सन्दर्भमा मुख्य रुपमा गरिन्थो ।

हिमाली देश भनेर चिनिने हाम्रो देश विश्वव्यापी रुपमा हुने राजनीतिक घटनाक्रमहरु र आर्थिक तथा सामाजिक विकासक्रमबाट अछुतो छैन । त्यसैले, विश्वको ०.००३ प्रतिशतमा फैलिएको र दक्षिण एसियामा ०.०३ प्रतिशत क्षेत्र ओगट्ने सानो देश सामाजिक, सांस्कृतिक र भौगोलिक रुपमा ती ठूला मित्रराष्ट्र जत्तिकै विबिधता झल्काउने खालको छ । त्यही विविधतालाई कुनै छिमेकीसँगको सामिप्यताको दृष्टिले हेर्ने मात्रै होइन तिनको प्रभावको रुपमा समेत ब्याख्या गरिन्छ।

त्यसैले, देशको विद्यमान राजनीतिक अवस्थालाई व्यवस्थित गर्दै सरकार, सम्बन्धित सरकारी निकाय र सम्बन्धित पक्षहरुले अन्तराष्ट्रियस्तरमा उचित किसिमको वैदेशिक नीति अवलम्बन गर्दै, जनस्तरबाट पनि देशको भूराजनीतिक यथार्थतालाई केन्द्रविन्दुमा राखेर आफ्ना बाह्य व्यवहार व्यवस्थित तथा सन्तुलित बनाउनु नेपालको राष्ट्रिय मनोविज्ञान हो।

आजभोलिका विशेष संवाददाता प्रवीण भट्टराईले नेपाल शान्ति प्रतिष्ठानका कार्यकारी निर्देशक युवराज आचार्यसँग देशमा भूराजनीतिको बढ्दो प्रभाव र भूराजनीतिका अन्य आयामहरुका बारेमा गरिएको संवादको अंश तल प्रस्तुत गरिएको छ ।

१. भूराजनीति भनेको के हो ? र नेपालको सन्दर्भमा भूराजनीतिक यथार्थ के हो ?

सामान्य भाषामा भन्ने हो भने कुनै देश कुनै निश्चित भूभागमा अवस्थित भएकै कारण उसको बाह्य व्यवहारमा देखिने मनोवैज्ञानिक प्रभाव भनेकै भूराजनीति हो । सरल भाषामा भन्नुपर्दा भू(राजनीति भनेको देशको वास्तु हो। नेपालको सन्दर्भमा हेर्ने हो भने दुई ठूला राष्ट्रहरुको बीचमा अवस्थित बहुजातीय, बहुसाँस्कृतिक र भौगोलिक विविधताले उत्पन्न गरेको हाम्रो मनोविज्ञान नै हाम्रो भूराजनीतिक यथार्थ हो भनेर बुझ्दा हुन्छ।

२. किन र के कारणले कुनै पनि देशमा भूराजनीतिको प्रभाव ज्यादा हुन्छ ?

भूराजनीतिमा भौगोलिक र एतिहासिक पक्षलाई मुख्य रुपमा हेरिनु पर्छ । कुनै देश भौगोलिक रुपमा नै कुनै छिमेकीसँग नजिक हुन्छ भने कुनै देशको छिमेकीसँगको सामिप्यता ऐतिहासिक तत्वहरूले बनाएको हुन्छ । इतिहास र भूगोल बाहेक वैचारिक र सैद्धान्तिक कुराले पनि कतिलाई नजिक बनाएको हुन्छ । त्यही सामिप्यता कुनै मुलुकको सोच र व्यवहारमा झल्किन्छ । त्यसैले भूगोल, इतिहास र अन्य सामिप्यताका आधारहरू नै भूराजनीतिका निर्धाणक तत्व हुन् भनेर मानिदिँदा फरक पर्दैन ।

३. छिमेकी देशहरुले भूराजनीतिकको आधारमा देशको राजनीतिक(अर्थव्यवस्था, भूगोल र सामाजिक बिविधतामा के कसरी प्रभावपारेका छन् वा पार्न सक्छन् ?

एउटा घर कता फर्केको छ, ठ्याक्कै अगाडि छिमेकीको कुरुप भित्तो छ कि हरियो चौर छ, घाम कति बेला लाग्छ, हावा कताबाट चल्छ, छिमेकीको घर शान्त छ कि सँधै झगडा चल्छ जस्ता कुराले जसरी हाम्रो काम गर्ने मूडमा असर पार्छ , देशको सन्दर्भमा पनि त्यही हो। त्यसैले मैले भूराजनीतिलाई देशको वास्तु भनेको हुँ।

साथै, भौगोलिक, साँस्कृतिक र एतिहासिक कारणहरुले हाम्रो व्यवहारमा छिमेकी देश भारतको प्रभाव छ । छिमेकी देश चीनले रणनैतिक र राजनीतिक पक्षलाई उपयोग गर्छ । नेपालमा पश्चीमा प्रभाव भने बेलायती सम्राज्यको भारतमा उपस्थितिसँगै भित्रिएको हो । पहिला रुसी साम्राज्यलाई रोक्न नेपालको महत्व थियो पछि गएर चीन हेर्न नेपाल चाहियो ।

त्यसैले नेपाल कुनै बेला दुई साम्राज्यको बीचमा अवस्थिति भएका कारण, पछि दुई ठूला मुलुकको बीचमा रहेका कारण र अहिले दुई ठूला विचारधाराका बीचमा रहेका कारण विश्व मञ्चमा महत्व राख्छ । हामीलाई दिइने यही महत्त्वले हाम्रो राजनीति, अर्थतन्त्र र सामाजिक मनोविज्ञान ूदुई ठूलाबीचकोू भन्ने मनोविज्ञानले निर्दिष्ट भएको छ। आधा उत्तर फर्किएका छौँ आधा दक्षिण, आधा लोकतन्त्रवादी छौँ आधा कम्युनिष्ट, आधा खुला अर्थतन्त्रका पक्षधर छौँ आधा नियन्त्रणवादी, आधाउधीले हरेक व्यक्तिको स्वतन्त्रताको वकालत गर्छौँ आधाउधीले एकल नेतृत्वको चमत्कारमा विश्वास गर्छौँ। यही कुरा हाम्रो व्यावहारमा झल्किन्छ नि।

४. भूराजनीतिकको प्रभावलाई व्यवस्थित गर्न हाम्रो देशले के कस्ता विदेश नीतिहरु बनाउनु पर्छ ? र यसका लागि देशमा राजनीतिक सुशासन किन आवश्यक छ ?

नेपालले आफ्नो भूराजनीतिक वास्तविकतालाई राम्रो सोच विचार गरेर मात्र आफ्ना बाह्य व्यवहारहरुको प्रर्दशन गर्नुपर्छ । माने पनि नमाने पनि नेपाल १९औँ शताब्दिका दुई ठूला साम्राज्यहरुबीचको मध्यवर्ती क्षेत्र नै हो । वफर स्टेट भनेर हामीले नमाने पनि वास्तविकता चाँही त्यही नै हो । हामीले त्यही बफर स्टेटको प्रकृतिलाई राम्रोसँग राष्ट्रिय हितमा प्रयोग गरेर नै नेपाल विश्वका प्राचीनतम मुलुक मध्ये एकको रुपमा निरन्तरता दिन सकेका हौँ । अहिले पनि क्षणिक राजनीतिक र आर्थिक लाभका लागि कहिले चीन तिर र कहिले भारत तिर ढल्कियौँ भने नेपालको भूगोल त रहला । तर हाम्रो नेपालीपन सबै सकिन्छ, अर्काको इशारामा चल्ने विदेश नीति मात्र हाम्रो हातमा रहने छ ।

साथै, राजनीतिक सुशासन भन्ने कुरा नै जनताको मत र आफ्नो धरातलीय यथार्थलाई इमानदार साथ बुझ्ने कुरा हो । हामीले खुराफात र बेइमान रणनीतिलाई अघि सारेर छिमेकी देशहरुलाई अनावश्यक चिढ्याउने र ऐतिहासीक रुपमा रहेको सौहाद्रतालाई खल्वल्याउने तथा हामीबीच रहेका केही फरक पनलाई पनि द्वन्द्वकै रुपमा अघि बढाउने काम गर्यौँ भने देशलाई अनावश्यक तनाव हुन्छ । आन्तरिक राजनीतिक लाभका लागि गरिने भूराजनीतिक यथार्थको दुरुपयोग नै राजनीतिक कुशासन हो ।

५. अन्य देशहरुसँग सहसम्बन्ध बनाउन सरकार र नागरिकको के कस्तो भूमिका हुन सक्छ ? के नेपालले अन्य छिमेकी देशहरुसँग सहसम्बन्ध बनाउन सकेको छ ?

बाह्य सम्बन्ध भनेकै सरकारको तहमा सञ्चालन हुने सम्बन्ध हो। नेपालको भारतसँगको सम्बन्ध भने ऐतिहासिक, सांस्कृतिक र भौगोलिक कारणले सरकारमा मात्रै सिमित छैन । त्यसैले दुई सरकारबीचको सम्बन्धमा जनस्तरको सम्बन्धले ठूलो प्रभाव पारेको छ । नाकाबन्दी हुँदाका बखत दुई देशका सेनाले र सीमा वारिपारि जनताले खेलेको भूमिका यस्तै सम्बन्धको उदाहरण हो ।तर चीनसाँग भने भौगोलिक र सांस्क्ऋतिक कारणले हाम्रो जनस्तरको सम्बन्ध यस्तो गाढा छैन । यो तिब्बतका जनतासँग मात्र सिमित छ । त्यसैले भारतसँगको सम्बन्ध अनौपचारिक हो र चीनसँगको अनौपचारीक हो ।

साथै, हामीले आफ्ना सन्तानको बुद्धिको विकास गर्न अमेरिका, बेलायत र अस्ट्रेलिया पठाएका छौँ, घरमा दालचामल जोहो गर्न मलेसिया र अरब पठाएका छौँ। हामी माथि त्यहाँको सांस्कृतिक प्रभाव सन्तान मार्फतआइरहेको छ। त्यसैले भौगोलिक, ऐतिहासिक बाहेकका अरू तत्वले पनि हाम्रा बाह्य व्यवहारलाई प्रभाव पारेका छन्। सरकारले आफ्नो स्वार्थको लागि यो भूराजनीतिक यथार्थलाई बेवास्ता गर्यो भने नागरिकले सरकारमाथि दवाव दिनसक्छन् । यस्तो दवाव नागरिक आफ्नो सरकारलाई प्रभाव पार्न कति सक्षम छन् भन्ने कुरामा भरपर्छ ।

६. नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्छ र राजसंस्थाको पुनर्स्थापना हुनुपर्छ भन्ने कुरालाई भूराजनीतिको अवधारणाबाट कसरी व्याख्या गर्नु हुन्छ ?

नेपाल किन सङ्घीयतामा जानुपर्यो भन्ने विषयमा धेरै विद्वानहरुका सतही टिप्पणीमात्र देख्छु। सङ्घीयतालाई हेर्न सामान्यता द्वन्द्व चस्मा र सुशासनको चश्मा प्रयोग गरिन्छ । अघिल्लोले समाजमा विद्यमान द्वन्द्वलाई व्यवस्थित गर्न गरिने प्रबन्धमा जोड दिन्छ । पछिल्लोले सुशासन र सेवा प्रदायमा मात्रै जोड दिन्छ । हो, सुशासन र असल सार्वजनिक सेवा प्रदायको उदेश्य पनि निष्पक्ष र सजिलो सेवा मार्फत द्वन्द्व कम गर्नु नै हो तर पहिलेको देशको राजनीतिक व्यवस्थालाई चुनौती दिने हिँसात्मक द्वन्द्व बेहोरीसकेको मुलुकमा संघीयतालाई सुशासन र सेवा प्रदायको साँघुरो दृष्टि भित्र बन्धक बनाउनु हुँदैन ।

तिम्रो सरकार तिम्रै ढोकमा छ र तिमीलाई शासन गर्ने तिम्रै जस्तो अनुहार भएको मान्छे त्यहिँ उपस्थित छ भन्ने सन्देश दिएर द्वन्द्वको स्थानीय करण गर्ने र स्थानीय तहका गुनासालाई हिँसात्मक द्वन्द्वको रुप धारण गर्नु अघि नै व्यवस्थित वा समाधान गर्न हाम्रो देशमा सङ्घीयता आएको हो । अहिले राजनीतिक शक्ति सन्तुलनको आँखाबाट मात्र सङ्घीयतालाई हेरिदैछ । र केन्द्रको लाचार छायाँको रुपमा तल्ला तहका सरकारलाई लिने वातावरण बनाइँदै छ । यसले कालान्तारमा स्थानीय तहका द्वन्द्वहरु समेत स्थानीय तथा प्रदेश सरकारले व्यवस्थित गर्न नसक्ने वातावरण बन्नेछ । भोलि स्थानीय द्वन्द्वका पक्षहरुले तिमीसँग होइन तिम्रा मालिकसँग सोझै कुरा गर्छौ भन्ने अवस्था यसले श्रृजना गर्नेछ ।

यसैगरी, हामी किन धर्म निरपेक्षता र गणतन्त्रमा गयौँ भन्ने कुराको गहिरो अध्ययन नगरी पुनः हिन्दु राज्य र राजतन्त्रमा फर्किनु हाम्रा लागि घातक हुनेछ । पहिला कसले कसले के उदेश्यका लागि वर्तमान राजनीतिक व्यवस्थाको वकालत गरे भन्ने विषयमा धेरै बहस नभएकोले यो प्रश्न उठेको हो तर एउटा कुरा हामीले स्वीकार्नु पर्छ नेपालको सञ्चालन अब एकल वैक्यक्तिक चमत्कार र एकल सैद्धान्तिक, जातीय र क्षेत्रीय प्रभुत्वबाट मात्रै सम्भव छैन । सबैको अस्थित्व स्वीकार गर्ने राजनीतिक प्रवन्धले मात्रै राष्ट्रिय एकतालाई सम्वर्द्धन गर्छ ।

७. अन्त्यमा भूराजनीतिका बारेमा के भन्न चाहानु हुन्छ ?

हामी दुई ठूला भूगोल मात्रै होइन दुई ठूला विचारहरूको बीचमा अवस्थित छौँ । क्षणिक दलीय वा वैयक्तिक फाइदाका लागि कुनै विचार तिर ढल्किँदा हाम्रो स्वतन्त्र पहिचान मेटिनसक्छ । अहिलेको सिमाना राजनैतिक मात्रै हो, गएको तीनसय वर्षमा मात्रै संसारका अधिकाँश देशको सिमाना पूरै परिवर्तन भएका छन्। भूराजनीतिको प्राङ्गारिक सिद्धान्तले कुनै पनि देशलाई जैविक बस्तु जस्तै ठान्छ, उचित मात्रामा पोषिलो वस्तु, कमलोमाटो र यथेष्ट प्रकाश पायो भने त्यो फैलिन्छ नत्र स्थिर रहन्छ वा खुम्चिन्छ।

भारतमा बलियो बेलायती साम्राज्यको उपस्थिति नभईञ्जेल र तिब्बत चीनको पूर्ण प्रभुत्त्वमा नजाउञ्जेल तरूल जस्तो नेपाललाई फैलन कमलो माटो थियो, अव कडा चट्टानमात्रै छ। फैलिन नपाएपनि वाँचिराख्न जेजे तत्त्व चाहिन्छन् चत्टानकै बीचबाट भए पनि त्यसको जोहो गर्नु नै हाम्रो अहिलेको वाह्य व्यवहारको एकमात्र लक्ष हो।

हामीले हाम्रो परराष्ट्र सम्बन्धको लामो अभ्यास हाम्रो भूराजनीतिक यथार्थलाई ध्यानमा राखेर नै सञ्चालन गरेका छौँ । तर जहिले जहिले हाम्रा शासकले आफ्नो शासकिय स्थायित्व र आफ्नो राजनीतिक तथा आर्थिक लाभका लागि यो यथार्थलाई बङ्ग्याउने र आफू अनुकुल प्रयोग गर्ने कोशिस गरेका छन् त्यसबेला बेलामा देश संकटको भुमरीमा फसेको छ। हामीले अरुको दुष्मनीलाई भजाउने र दुईबटा छिमेकीहरुको अन्तर द्वन्द्वबाट नाजायज फायदा उठाउने भन्दा इमानदार साथ आफ्नो राष्ट्र हितको मात्रै प्रवर्द्धन गर्ने नीति लिनु नै श्रेयसकर हुन्छ । हाम्रो भूराजनीतिक यथार्थले हामीलाई दिएको सन्देश यति हो ।

(यूवराज आचार्य नेपाल शान्ति प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । आचार्यसँग पत्रकारिता तथा द्धन्द्ध व्यवस्थापनको क्षेत्रमा लामो अनुभव छ । उनी इतिहासका अध्येता हुन् । साथै उनले भूराजनीतिको बिषयमा विशेष दख्खल राख्दछन् ।)

 

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी