‍ कोभिड-१९ महामारीमा दृष्टिविहिन व्यक्तिहरूको अवस्था

डा. शरद कोइराला, गण्डकी मेडिकल कलेज, पोखरा

सन् २०१९ को अन्त्यदेखि संसारभर कोभिड-१९ को महामारी फैलिएको छ । चीनको बुहान प्रान्तको एक जीवित प्राणी बजारमा जनावरबाट मानिसमा सरेको भाइरसका कारण भएको शंका गरिएको यो रोगका कारण विश्वभरी नै करोडौं व्यक्तिहरू संक्रमित भइ सकेका छन् भने लाखौंले ज्यान गुमाइ सकेका छन् ।

नेपालमा पनि यस रोगका कारणले लाखौं बिरामी भएका छन् । कैयौंले ज्यान गुमाएका छन् र त्यो भन्दा पनि महत्वपूर्ण अधिकांश जनसमुदाय संत्रासमा छन् । यो रोगको औषधी उपलब्ध नभएका कारणले यो संक्रमणबाट जोगिनु नै राम्रो हो।

यस कोभिड १९ महामारीबाट संक्रमित अधिकांस व्यक्तिहरूमा शुन्य वा न्यून लक्षणहरू देखिने भएपनि केहि व्यक्तिमा निमोनिया र श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्यान नै जान पनि सक्छ । यस रोगका कडा लक्षणहरू विशेष गरी दीर्घ रोगीहरू र जेष्ठ नागरिकहरुमा देख्ने गरिन्छ ।

कोभिड १९ कोरोना भाइरसको कारणले हुने र सामान्य तया यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । एक संक्रमित व्यक्तिले बोल्दा, खोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाकबाट निस्कने छिटाहरूमा कोभिड १९ गराउने कोरोना भाइरस हुने गर्दछ । जसले अर्को व्यक्तिको नाक, मुख वा आँखाबाट शरीरमा प्रवेश गरेर श्वासनलीमा पुगी विभिन्न स्वास्थ्य समस्याहरू ल्याउने गर्दछ । त्यसैले, कोभिड १९ बाट जोगिन कोरोना भाइरसलाई आफ्नो नाक, मुख वा आँखाको पहुंचमा आउनदिनु हुदैंन । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने दर उच्च वा तिब्र हुन्छ । त्यसैले, यस प्यान्डिमक रोगबाट बच्न वा सुरक्षित हुनका लागि भिडभाढ कम गर्ने,भौतिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र हातलाई साबुन पानीले धोएर वा स्यानिटाइजर प्रयोग गरेर किटाणु रहित राख्ने गर्नुपर्दछ ।

यस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरूको नियमति रूपमा पालना गर्न बिषेश गरी दृष्टि भएका व्यक्तिहरूलाई त मुश्किल भएको अवस्थामा सदैव अन्य व्यक्तिको सहयोग लिनुपर्ने दृष्टिविहिन व्यक्तिहरूलाई पनि निकै अप्ठ्यारो छ । त्यसैले, यस कसिमको जोखिम पुर्ण अवस्थामा पर्याप्त सुरक्षाका उपायहरू पालना गर्न नसकेका कारण उनीहरू उच्च संक्रमणको जोखिममा रहेर आफ्ना दैनिक कामहरू गर्न वाध्यछन् ।

यो समयमा दृष्टिविहिन व्यक्तिहरूलाई कोभिड १९ को संक्रमण भयो भन्ने तथ्याङ्क त उपलब्ध छैन । तर उनीहरू अन्यसँग व्यक्तिहरू भन्दा बढी जोखिममा रहेका छन् । निरन्तर रूपमा अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने यो समूह एकातर्फ आफू संक्रमित हुने जोखिममा छन् भने अर्को तर्फ संक्रमित भएको अवस्थामा सहयोगीलाई संक्रमण सार्ने माध्यम बन्न सक्छ । यी जोखिमका कारण दृष्टिविहिन व्यक्तिहरूको दैनिक जीवन कष्टकर भएको छ ।

समाजमा कोभिड १९ को संक्रमण फैलाउन कारक हुन सक्ने भनी उनीहरूलाई बाहिर निस्कन दुरुत्साहित गरिन्छ । जसका कारणले उनीहरू आफ्नो जीवन यापनका दैनिक कामहरूमा संलग्न हुन पाइरहेका छैनन् । कतिपय अवस्थामा उनीहरूले आफ्नो रोजगारी गुमाएका छन् । बजारमा रोजगारीको अवसरहरू घटेको र रोजगारी खोज्ने मानिसहरूको संख्या बढेको अवस्था छ । यस्तो बेलामा रोजगारीका नयां ठाउँमा पनि उनीहरूले मौका पाउने कम सम्भावना छ । यसले गर्दा उनीहरूको आर्थिक अवस्था बिग्रनुको साथ साथै समाजमा नियमीत रूपमा हुने अन्तरक्रियाबाट पनि उनीहरू वञ्चित भएका छन् । उनीहरूमा बिस्तारै विभिन्न लक्षण सहितका वा प्रकारका मानसिक समस्याहरू देखिए अवस्था अझ गम्भिर बन्न सक्छ ।

त्यसैले, यो समस्यालाई कम गर्नको लागि उचित सुरक्षाका उपायहरू अपनाउँदै दृष्टिविहिन व्यक्तिहरूलाई पनि नियमित क्रियाकलापमा संलग्न गराउनु आवश्यक छ । सारा संसारको दायरा खुम्चिएको परिस्थितीमा उनीहरूलाई पूर्ववत अवसरहरू उपलब्ध गराउन त नसकिएला तर परिस्थिती मिलाएर उनीहरूलाई पनि विभिन्न कामहरूमा समावेश गराउनु आवश्यक छ । कतिपय अवस्थामा उनीहरूलाई यसै महामारीको बारेमा जनचेतना फैलाउन पनि प्रयोग गर्न सकिन्छ । उनीहरूको मानसिक स्वास्थ्यको उचित सुरक्षाको लागि सबैले सामाजिक उत्तरदायित्व लिएर उनीहरूसँग कुराकानी गर्ने, साना साना र स्वास्थ्य मापदण्ड पुर्याइएका जमघटहरू आयोजना गर्ने र उनीहरू माझ अनुभव साटासाट गर्ने अवसरहरू निर्माण गर्न सकिन्छ । त्यस्ता जमघटहरूलाई उनीहरूलाई कोभिड १९ को बारेमा राम्रो ज्ञान दिने, आत्मविश्वास बढाउन प्रोत्साहित गर्ने र विषम परिस्थितीमा धैर्यधारण गर्ने बानीको विकास गर्ने कक्षाहरू सञ्चालन गर्न पनि प्रयोग गर्न सकिन्छ ।

यो महामारीको बेलामा दृष्टिविहिन व्यक्तिहरुको समग्र शारीरिक,मानसिक र सामाजिक स्वास्थ्यको सुरक्षाको लागि समाजका हरेक वर्गले योगदान पुर्याउनु आवश्यक छ । समाजमा रहेका सबै व्यक्तिहरू, स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरू र स्थानीय सरकारले बिशेष रूपमा ध्यान पुर्याएमा मात्र दृष्टिविहिन व्यक्तिहरूमा यो महामारी र यसबाट पर्नसक्ने प्रभावहरूको न्यूनिकरण गर्न सकिन्छ । बिभिन्न तहका सरकार र जनसमुदायले समाजको यो तप्काको विचार गरेर उनीहरूलाई आफ्ना दैनिक क्रियाकलापमा फर्किनको लागि प्रोत्साहन गर्नु आवश्यक छ ।

यो समूहलाई पनि समाजका अन्य वर्गहरूजस्तै स्वास्थ्यमा समान पहुँचको सुनिस्चितताको लागि समाजका विभिन्न अधिकारकर्मी र नागरिक समाजले वकालत गर्नु आवश्यक छ । त्यस्तै समाजमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरूमा अपांग व्यक्तिहरूको समान अधिकारको सुनिश्चितताको सरकारले नियम कानुन बनाउन आवश्यक छ । साथै, यदि कोहि दृष्टिविहिन व्यक्ति कोभिड १९ बाट संक्रमित भएमा उसले सहुलियतमा अन्य सांग व्यक्तिहरूले जस्तै उपचार पाउने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकेमा मात्र दृष्टिविहिन व्यक्तिहरू आफ्नो स्वास्थ्यको सुरक्षामा ढुक्क हुन सक्नेछन् र इतिहासको पाना कोरिंदा कोभिड १९ महामारीको बेलामा नेपाली समाजले दृष्दिविहिन समुदायको यथोचित विचार गरेको लेखिनेछ ।

(डा. कोइराला दृष्टिविहिन हुन्)

 

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. चिन्तारत बलदेव