राजनीतिक विचार निरपेक्ष भए पनि धर्म भने सधै सापेक्ष हुन्छ- डा. अधिकारी

प्रवीण भट्टराई

संविधान सभाको निर्वाचनपछि नेपालको संविधान २०६३ अनुसार देशलाई सात प्रदेशीय संघीय राज्य संरचनामा रुपान्तरण गरिएको छ । त्यसैगरी, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अवधारणा देश अघि बढी रहेको छ । र, हाम्रो हिन्दु अधिराज्य मुलुक विश्वमा एक धर्म निरपेक्ष राज्यको रुपमा चित्रित भएको छ । त्यसैले, हामी देशका सम्पूर्ण नागरिकहरुले हाम्रो सानातनी हिन्दु धर्मको पक्ष पोषण गर्दै देशमा पुनः हिन्दु राज्यको पुर्नस्थापना हुनुपर्छ । र राज्यको राजनीतिक व्यवस्था निरपेक्ष भए पनि धर्म सधै सापेक्ष हुन्छ । साथै, धार्मिक संघ संस्था र धर्म गुरुहरुले सनातनी हिन्दु धर्मको जगेर्ना सक्छन् लगायत अन्य विविध देशका समसामयिक धार्मिक, संस्कृती, सामाजिक तथा राजनीतिक बिषयहरुमा आजभोलिका बिशेष संवाददाता प्रवीण भट्टराईले विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. राम चन्द्र अधिकारी सँग गर्नुभएको विमर्शको सार ।

१) बिश्व हिन्दु महासँघ नेपालले बिशेष गरी के कस्ता कामहरु गर्छ ? हाम्रो देशमा यस संस्थाको आवश्यकता किन ?

सामान्यतया संस्थाको विधानमा उलेखित उद्देश्य अनुरुपका क्रियाकलापहरु गर्दछ । सुरुमा यो विधान लागू हुँदा नेपाल हिन्दु राष्ट्र नै थियो । तसर्थ, तत्कालिन विधानको उद्देश्य हिन्दु राष्ट्र पुर्नस्थापनाको लक्ष्य थिएन । तर जब नेपाललाई सनातन हिन्दु राष्ट्रबाट संवैधानिक रुपमा धर्म निरेपक्ष बनाइयो त्यसपछि हामीले पनि विधान संशोधन गरेर आफ्नो उद्देश्यमा हिन्दु राज्य पुर्नस्थापनाको प्रावधान राख्यौं । र हामी सोही उद्देश्यमा अघि बढ्ने अभियानमा क्रियाशिल छौं ।

हिन्दु धर्म हामी सबैको सनातनी धर्म हो । परम्परादेखि यस देवभूमी र तपोभूमीका रुपमा रहेको हिमाली अधिराज्यमा हिन्दु धर्म नै कायम रहदै आएको थियो । तर पछिल्लो राजनीतिक परिवर्तन र संवैधानिक खुलापनका कारण सनातनी हिन्दु धर्म ओमकार परिवारमाथि धर्म परिवर्तनका विभिन्न हतकण्डा अपनाइ अशिक्षा र गरीविका मारमा परेका सर्वसाधारण नेपाली जनताहरुलाई विधर्मीहरुबाट नियतबस इसाइकरण गर्ने वा उनीहरुको सनातनी धर्म परिवर्तन गराउने अभिष्ट रहेको छ । यो कार्य हिन्दु धर्म संस्कृतीमाथिको अतिक्रमण हो । त्यसैले हामी यस महासंघका मार्फत त्यस्ता अभान्छित कृयाकलापहरुलाई निरुत्साहित गर्न स्थापना काल देखिनै अग्रसर छौँ । र आगामी दिनमा पनि भुल बस वा प्रभावमा पारी इसाइ बनाइएकाहरुलाई पनि आफ्नो सानाती धर्म सँस्कृति तिर फर्काउने अभियानमा निरन्तर लाग्ने छौँ ।

२) विश्व हिन्दु महासंघ नेपालले अहिलेको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई कसरी बिश्लेषण गर्छ ? देशमा व्याप्त राजनीतिक तथा सामाजिक विभेदीकरणलाई कसरी समाधान गर्नुपर्छ ?

अहिले देशको राजनीतिक तथा सामाजिक अवस्था एकदमै चिन्ताजनक स्थितिमा छ । यसको मूल कारण भनेकै आफ्नो मौलिक धर्म, सँस्कृती र सँस्कारलाई पालना नगरेर सँस्कार बिहीन भएकै कारण श्रृजना भएको हो । सामाजिक तथा राजनीतिक रुपमा देशको अवस्था यस प्रकारले जटिल हुनुमा पाश्चात्य जगतको सामाजिक व्यवहार तथा स्वचारी राजनीतिक सँकार अनुकरण हुनुपनि उतिकै कारक मान्न सकिन्छ । यसको मूल कारण के भने सामाजिक उत्तरदायित्वमा कमी आउनु, नैतिक शिक्षा, मान्यजन र गुरुजनप्रतिको श्रद्धा र बिश्वास टुट्दै जानु र धार्मिक भावनामा कमी आउनु, निष्ठा र आर्दशको राजनीतिमा खडेरी पर्नु, जिम्मेवार दुरदर्सी देशभक्त नेतृत्वको अभाव हुनु, राजनीतिक रुपमा विधीको शासन उलंघन्न हुनु,राजनीतिक बिधी र प्रणाली हिंसात्मक र जबरजस्ती हुनु नै आजको बिसंगती र विकृतिको मूल जड हो ।

पछिल्लो समयमा चल्दै आएको बिभेद र बिभाजनकारी राजनीतिले गर्दा सामाजिक सद्भभाव, एकता र भाइचाराको भावना टुट्दै गएको छ । यसलाई जोड्ने रसायन भनेकै सनातन धर्म सँस्कृती हो । किन भने सनातन धर्म सँस्कृति भित्र कुनै क्षेत्र, वर्ग जाती वा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि बिभेद गरिदैन । धर्मले नेपाली जातीको एकिकरण गराउन चाहान्छ । त्यसका लागि नेपाली नेपाली बिच राजनीतिक र सामाजिक सद्भभाव र समदुरी हुनु आवश्यक छ ।

३) कुनै राजनीतिक पार्टीले धार्मिक एजेन्डालाई मूल राजनीतिक ध्येय बनाउन मिल्छ ? गणतन्त्रिक मुल्य र मान्यतालाई आत्मासाथ गर्ने राजनीतिक दलहरु तथा नेतृत्वले किन हिन्दु धर्मको पक्ष पोषण गरिरहेका छन् ?

कुनै पनि पार्टीलेले धार्मिक बिषयलाई राजनीतिक एजेण्डा बनाउनु राम्रो होइन किनभने कुनै अमुक पार्टीले अमुक धर्मलाई राजनीतिक उद्देश्य बनाउँदा प्रतिवादमा अर्को कुनै अमुक राजनीतिक पार्टीले फरक धर्मको वकालत गर्ने स्थिती आउँदा सामाजिक तथा राजनीतिक द्धन्द्ध बढ्न सक्ने सम्भावना रहन्छ । तसर्थ, धर्म सम्वन्धिका विषयहरु बिशुद्ध रुपमा स्वतन्त्र र निष्पक्ष रुपमा संचालित धार्मिक संघसंस्थाहरुले अभियनको रुपमा जनमानसबीच प्रचार प्रसार गर्दा राम्रो हुन्छ । र यस किसिमको विधीले नै आम नागरिकमा सामाजिक र राजनीतिक सद्भभाव र एकता कायम रहन सक्छ ।

संवैधानिक रुपमा राजनीतिक पार्टीले गणतान्त्रिक संविधान स्वीकार गरेता पनि विश्वसामु आफ्नै हिन्दु गणराज्यको मौलिक धर्म सँस्कृती र विशिष्ट परिचय कायम राख्न हिन्दु धर्मलाई प्राथमिकता दिनु उचित होला । यसरी कुनै राजनीतिज्ञले हिन्दु धर्मको बारेमा सार्वजनिक रुपमा चर्चा परिचर्चा गर्नु भनेको स्वयम व्यक्तिको नैसर्गिक अधिकार हो । साथै, नेपालको राजनीतिक पद्धतिमा विभिन्न आन्दोलनबाट विभिन्न कालखण्डमा सँविधान र राजनीतिक व्यवस्थाहरु परिवर्तन हुँदै आएका छन् । त्यसैले, वर्तमान गणतान्त्रिक सँविधान पनि अन्नत कालसम्म यही रुपमा रहि रहन्छ भन्न सकिन्न तसर्थ संवैधानि परिवर्तनका लागि पनि आफ्नो सनाती हिन्दु धर्म सँस्कृतिको पक्षपोषण गर्नु हितकर नै हुन्छ ।

४) देश संघीयता गई सकेको अवस्थामा पनि के देश फेरी हिन्दु गणराज्य हुनसक्छ ?

नेपालको एतिहासिक तथा सँस्कृतिक अवस्था तिर दृष्टी दिदा परापुर्व कालमा ससाना हिन्दु गणराज्य भएको इतिहास छ । जुन गणराज्यमा राजा थिएन् तर त्यो राज्य हिन्दु गणराज्य थियो । बुझ्नु पर्ने कुरा के छ भने संघीयता र हिन्दु गणराज्य फरक बिषय हो । संघीयता हुँदा र नहुँदा पनि हिन्दु गणराज्य हुन सक्छ । जुन सुकै राजनीतिक व्यवस्था भए पनि हिन्दु धर्म र सँस्कृति निरन्तर चलिरहन्छ किन भने राजनीतिक व्यवस्था परिवर्तन भइरहन्छ तर सनातन धर्म सँस्कृती अनन्नत कालसम्म रहिरहन्छ । उदाहरणको लागि देशमा जुन सुकै राजनीतिक व्यवस्था आए पनि आराध्य देव पशुपती नाथ प्रतिको जन बिस्वास अटुट रुपमा रहदै आएको छ ।

धर्म निरपेक्ष भन्ने शब्द नै असान्दर्भिक छ किन भने प्रकृतिका हरेक तत्व सापेक्ष हुन्छ । जस्तै, पृथ्वी, पानी, सूर्य, वायू र आकाश । त्यसैले, यस व्रमाण्डमा रहेका पच्च महाभूतहरु सधै सापेक्ष रहन्छ त्यसैले कुनै पनि समाजसँग धर्म निरपेक्ष भएर रहनै सक्दैन । धर्म निरपेक्ष शब्द आफैमा सार विहीन छ किन की धर्म निरपेक्ष भन्नाले गैर जिम्मेवार, वा लापरवाह भन्ने अर्थ लाग्दछ । त्यसैले यस प्रकारको राजनीतिक निर्णय पनि सान्दर्भिक छैन । कुनै पनि राजनीति व्यवस्था परिवर्तनशिल हुन्छ । तर धर्म सधै अपरिवर्तनीय छ । समयक्रमसँगै समाजले धर्म निरपेक्ष शब्दको वास्तविकता बुझे पछि त्यस प्रति अविश्ववास जाग्ने छ । परिमाण स्वरुप हाम्रा सनातनी धर्म सँस्कृती स्वतः पुर्नजाग्रित हुनेछन् । र यस अवस्थामा धर्म सँस्कृति माथि कुनै पनि प्रकारको राजनीतिक प्रभाव रहने छैन किन भने धर्म सात्वत हुन्छ, तर राजनीतिक व्यवस्था आवधिक पनि हुन सक्छ ।

५) राजसंस्थाको बारेमा विश्व हिन्दु महासंघ नेपालको धारणा के हो ?

राजसंस्था प्रती विश्व हिन्दु महासंघ नेपालको स्पष्ट धारणा छ । हिन्दु राष्ट्रमा राजाको अस्तित्व स्विकार्य हुन सक्छ । तर राजा स्वयम सम्पुर्ण राजकीय गुण गरिमाले युक्त, लोकप्रिय हुनु आवश्यक छ । तर यती बेला त्यस्तो राजकीय गुण गरिमायुक्त लोकप्रिय पात्र कुनै परिवेशमा पनि देखिदैन । तर पनि भविश्यमा राजकीय गुण गरिमाले युक्त लोकप्रिय उपयुक्त पात्र राजाका रुपमा स्थापित हुने अवस्था आए यस महासंघको कुनै आपत्ती रहने छैन । तर यो राजा वा राजसँस्था सम्बन्धि बिषय धार्मिक सँस्थाहरुको अभियानले भन्दा पनि जनमतको आधारमा राजनीतिले निर्धारण गर्दा सान्दर्भिक हुन्छ ।

संसारमा विवाद रहित कुनै संस्था वा इकाइ हुँदैन् वा नहुन पनि सक्छन् । किनभने ती बिशिष्ट सँस्था वा इकाइको प्रतिनिधित्व गर्ने प्रमुख पात्रको नैतिक चरित्र र उसले गर्ने जनतासँगको व्यवहारले सो कुराको निर्धारण गर्दछ । तर ती सँस्था वा इकाइले जबसम्म जन समर्थन प्राप्त गर्न सकेका हुन्छन् ती इकाइहरुको अस्तित्व त्यती बेलासम्म मात्र कायम रहन्छ तर जन समर्थन गुमेपछि भने तिनको अस्तित्व समाप्त भएर जान्छ । तर पनि ती संस्था वा इकाइ प्रतिको जन विश्वास पुनःजागृत हुने अवस्था आएमा ती एतिहासिक धरोहरका संस्था वा इकाइहरु पुर्नस्थापित हुनपनि सक्छन् । र ती इकाइमा शासन गर्ने यस्ता असल गुण भएका पात्रलाई पछिसम्म पनि जनताले सम्झि रहन सक्छन् । जस्तै, राष्ट्र निर्माता पृथ्वी नारायण शाहा, गुरु गोरख नाथ ।

६) देशमा किन धार्मिक सहिष्णुताको आवश्यकता विथोलिदै गइरहेको छ ? यसलाई कसरी समाधान गर्न सकिन्छ ?

धर्म निरपेक्षता भएको र नभएको दुबै अवस्थामा धार्मिक सहिष्णुता हुन आवश्यक छ । तर नेपालमा धर्म निरपेक्षता पछि सनातन धर्म सँस्कृतिका अनुयायी हिन्दु ओमकार परिवारमाथि इसाइ समुदायले अनावश्यक ढगले धर्म परिवर्तनको लागि जबरजस्त रुपमा दवाव दिने, अभियान चलाउने वा इसाइकरणमा जोड दिने गरेका छन् । यस्ता अवान्छित कृयाकलाप गर्ने समूहहरु वा व्यक्तिहरुको भने धार्मिक सद्भाभाव घटेको हुनसक्छ । तर हिन्दु सनातन धर्मका अनुयायिहरुले कुनै पनि अन्य धर्म सम्प्रदाय प्रति अनास्था वा घृणा गर्दैन् । तर ती फरक धार्मिक सम्प्रदायप्रति सद्भाभाव हुँदा हुँदै पनि हिन्दु धर्म सँस्कृति माथि अनावश्यक अतिक्रमण गर्ने कृयाकलापका विरुद्धमा भने असहमति जनाउँछन् । त्यसैले, हिन्दु धर्ममा विश्वास गर्ने समुदाय तथा अन्य धार्मिक समुदायबीच धार्मिक रुपमा भिन्न भिन्न आस्था र विचार हुँदाहुँदै पनि समाजमा सबै प्रकारका धर्म मान्ने सम्प्रदायहरुकाबीच सामाजिक शान्ति सुव्यवस्थाका लागि धार्मिक सहिष्णुता कायम हुन अपरिहार्य छ । यदी विभिन्न धार्मिक सम्प्रदायहरुको बिच आपसी धार्मिक सद्भभाव र सहिष्णुता कामय हुन सक्यो भने मात्र हाम्रा सनातनी धर्म परम्पराहरुको जगेर्ना हुन सक्छन् ।

नेपालमा सनातन धर्म सँस्कृति ओमकार परिवारको आस्था र बिश्वासलाई अक्षुण राख्न । हिन्दु राष्ट्र पुर्नस्थापना अभियानलाई थप बल पुर्याउनका लागि पनि विभिन्न धार्मिक सँघ सँस्थाहरु बिच आपसी सद्भभाव र सहकार्यको आवश्यकता छ । यस किसिमको कार्यले विभिन्न धर्ममा आस्था र बिस्वास राख्ने फरक सम्प्रदाय बिच धार्मिक सहिष्णुता बढाउन मद्दत पुर्याउँछ । यस प्रयासले गर्दा देशमा सामाजिक तथा राजनीतिक सुव्यवस्था कायम गराउन पनि सहयोग पुग्न सक्छ ।

७) धर्म परिवर्तन गर्ने चलन तिब्र रुपमा भइरहेको छ, यसलाई कसरी लिनु भएको छ ?

फरक राजनीतिक विचार धाराका कारणले मात्र धार्मिक द्धन्द्ध श्रृजना हुने होइन यसमा फरक फरक राजनीतिक पार्टीहरुले फरक धर्मको बारेमा सार्वजनिक रुपमा वकालत गर्दा भने धार्मिक द्धन्द्धको स्थिती आउन सक्छ । त्यस्तै पश्चिमा धार्मिक समूदायले हिन्दु ओमकार परिवारका बिरुद्ध संगठित रुपमा प्रत्साहित गर्ने र प्रत्साहित हुने प्रवृतीले पनि धार्मिक द्धन्द्धको स्थिति चर्कन सक्छ । त्यसैले, यसमा राजनीतिक नेतृत्वले समयै सरकोरबालहरु सँग समन्यवकारी भूमिकाबाट यो धार्मिक मुद्धाको छिनोफानो गर्न सहजिकरण गर्नुपर्छ ।

धर्म परिवर्तनको अवस्था अहिले तिव्र रुपमा चलिरहेको यथार्थता हो । यसलाई रोक्न वा न्युनिकरण गर्न आवश्यक छ । यसका लागि बिभिन्न धार्मिक सँघ सँस्थाहरुले एक जुट भएर देशव्यापि रुपमा धार्मिक जागरणको अवस्था श्रृजना गर्नुपर्छ । देशमा यही रुपमा इसाइकरण हुँदै जाने हो भने राष्ट्र राष्ट्रियता र सनातन धर्म सँस्कृतिसँगै राष्ट्रको पहिचान र अस्तित्व समेत जोखिममा पर्न सक्ने खतरा उत्पन्न हुनसक्छ । समयमा नै धार्मिक स्वतन्त्रता सहितको सनात हिन्दु राष्ट्रको पुर्नस्थापना हुनु आवश्यक छ ।

८) हाम्रो सानतनी धार्मिक तथा एतिहासिक चार्डवाड र प्रथाहरुमा पनि विकृति आईरहेका छन् यसलाई पूर्वीय दर्शन, सम्यता र मान्यता अनुसार अघि बढाउन के के गरिराख्नु भएको छ  ?

हाम्रा सनातनी धर्म सँस्कृतिमा अहिले पनि चुनौतीहरु छन् । जस्तै, धर्म परिवर्तन, जातीय विभेद र छुवाछुद प्रथा, सामाजिक विधी व्यवहार, पश्चिमा जीवन शैली आदी । भविष्यमा यस्तो चुनौती अझ बढ्दै जान सक्ने सम्भावना त्यतिकै देखिन्छ । तसर्थ हाम्रा धार्मिक संस्था, धार्मिक अभियन्ता र धर्म गुरुहरुले समय सापेक्ष रुपमा हाम्रा परम्परागत धार्मिक तथा साँस्कृतिक चार्डबाड, प्रचलन र प्रथाहरुलाई परिमार्जन तथा व्यवस्थित गर्न आवश्यक छ । अहिले देखिएको चुनौतिलाई हाम्रो पुर्वीय दर्शनको बास्तविक महत्व बुझाउने गरी सँसारै भरी यसको प्रचार प्रसार गर्नु आवश्यक छ ।

सबैभन्दा महत्वको कुरा गत बर्षदेखि संसार भर फैलिएको कोभिड १९ कोरोना भाइरस सँक्रमणको त्रासकाबीच हाम्रो सनातन हिन्दु दर्शनले निर्देशन गरेको जीवन शैली, आहार बिहार सबै भन्दा स्वास्थ्यका लागि सुरक्षित महशुस गरिएको छ । जस्तै सकाहारी आहार बिहार । नमस्कार गर्ने अभिवादन शैलीले रोग सँक्रमण हुने खतरा कम रहेको प्रमाणित गरेको छ । तर,पश्चिमा सभ्यताले अंगिकार गरेको हात मिलाउने वा गला मिलाउने वा चुम्मन गर्ने शिष्टाचार संक्रमणका दृष्टिले जोखिम पूर्ण मानिएको हुँदा विश्वभरी नै नमस्कार गर्ने अभिवादन शैलीलाई स्वीकार गरेका छन् । यस्तो हाम्रो पूर्वीय दर्शनको महत्वलाई बुझाउन व्यापक रुपमा शुसुचित गराउन आवश्यक छ । जसले आगामि दिन आउन सक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्न थप सहयोग पुग्न सक्छ ।

९) सामाजिक रुपमा भिन्न वर्ग र समूह तथा जातीका बिभाजित नागिरकलाई धार्मिक रुपमा एक एकबद्ध गर्ने के कस्ता कार्यहरु गर्नुपर्छ ?

बिभिन्न फरक धार्मिक समुदायलाई जोड्न सक्ने सेशु भनेकै सनातन धर्म सँस्कृती नै हो । यसले वशुदैब कुटुम्बकम् अर्थ संसारका मानिसहरु सबै आफ्नै परिवार ठान्दछ । सबैको सुख, सम्वृद्धि र आरोग्यको कामना गर्दछ । यस्तो फराकिलो सनातन धर्म सँस्कृतिको महत्व र मर्म बुझेर तद्अनुरुपको व्यवहार वा जीवनशैली अपनाउन सकियो भने सबै विभाजित धार्मिक समुदायहरुकाबीच धार्मिक सद्भभाव, समन्वय र एकता सम्भव हुनसक्छ । यस प्रकारको पारस्परिक धार्मिक तथा साँस्कृति सम्बन्धले विभिन्न वर्ग र ध्रुवमा विभाजित समूदायहरुबीच धार्मिक सहिष्णुता पनि कायम गराउन सकिन्छ । यो कार्य नै पूर्वीय दर्शन, सम्यता र मान्यताका आधारभूत सिद्धान्तहरु हुन् ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. चिन्तारत बलदेव