कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको सो प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीवार बसेको बैंठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आउँदो असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस निर्णय पार्टीको आउँदाे चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड लगायतका देशमा रहेका नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले आउँदो असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कांग्रेसको विधानबमोजिम क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा रमेश लेखक र सदस्यमा आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।

बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा केन्द्रीय कार्यसमितिले घोषणा गरेअनुरुप गएकाे पुस १३ गतेदेखि यही फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको ठहर गरेको छ ।

तसर्थ पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरुलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिँदै कार्यक्रम निर्माण र आयोजना गर्न पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशनसमेत दिएको छ ।

देशमा महिला उपर हिंसा, बलात्कार र हत्याका घटना पछिल्लो समय झनै बढेर गएकामा गम्भीर चिन्ता प्रकट गर्दै बैठकले त्यसविरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गर्ने निर्णय गरेको छ ।

यस्ता घटनाका विरुद्ध दबाबमूलक अभियानका लागि यही फागुन ८ गते दिनको १ बजे काठमाण्डाैकाे रत्नपार्क (शान्तिबाटिकामा नेपाल महिला सङ्घद्वारा आयोजित प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैलाई अपिल गरेको छ ।

बैठकले काेराेना भाइरसको प्रकोप अझै समाप्त नभएको भन्दै कोभिडको नयाँ भेरियन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले एकातर्फ निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई दबाब दिने, विभिन्न निकायमा नियुक्ति एवं समस्या समाधान गर्न होइन नागरिकलाई प्रलोभनमा पार्ने उद्देश्यले भूमि आयोगमा नियुक्ति गर्ने द्वैध चरित्रले सत्ताको चरम दुरुपयोग भएको आरोप लगाउँदै नैतिक आचारको दृष्टिले समेत यो विल्कुलै गलत र आपत्तिजनक रहेको ठहर गरेको छ ।

बैठकले कोरोना भाइरसबाट आर्थिकरुपमा कमजोर भएका आम नागरिकमाथि सरकारले भर्खरै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिक झन् मर्कामा परेको उल्लेख गर्दै आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य डा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, बलबहादुर केसी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, शङ्कर भण्डारी र ईश्वरी न्यौपानेले आफ्नो धारणा राख्नुभएको थियो ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !