शिक्षा व्यवसायिक र असल नागरिकता बिकास केन्द्रित हुनुपर्छ – उपसचिव जयराम अधिकारी 

आजभोलि

सरल भाषामा शिक्षा भनेको जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । यस प्रकृयामा आफ्ना अनुभवलाई बिभिन्न शैक्षिक माध्यमबाट वा शैक्षिक बिधी व्यवहार र तरिकावाट अरुलाई प्रदान गरिन्छ । आफुसँग भएका ज्ञान,अनुभव प्रदान गर्नेलाई शिक्षक भनिन्छ । भने दिइएको ज्ञान अनुभव प्राप्त गर्नेलाई विद्यार्थी भनिन्छ । 

र शिक्षाको मुख्य उदेश्य भनेको कुनै पनि ब्यक्तिलाई बौद्दिक, शारीरिक, सामाजिक, आर्थिक,भौतिक, नैतिक रुपमा सक्षम बनाउनु हो । त्यसैले भिन्न तरिकावाट, शैक्षिक कृयाकलापबाट वा शैक्षिक बिधि व्यवहारबाट कुनै ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो ।  

शिक्षा दिने वा लिने सन्दर्भमा बिभिन्न प्रकारका शैक्षिक कृयाकलापबाट ज्ञान तथा शिप सिक्ने तथा सिकाउने प्रकृया चलिरहन्छ । त्यसैले, शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यो प्रकृया नमरुन्जेसम्म कुनै न कुनै रुपमा चलिरहन्छ रहन्छ । त्यसैले शिक्षाले प्रत्येक व्यक्तिलाई अन्धकारबाट उज्यालो तर्फ लैजान्छ र अचेत बाट सचेत गराउँछ । किन भने शिक्षा भनेको  आफूले जानेका ज्ञान गुनका कुरा सिक्ने सिकाउने  कला र बिज्ञान हो ।   

कुनै कुरा हेर्दा, सो बारेमा सुन्दा,सोही कुरा पढ्दा त्यसैको बारेमा अनुभूत गर्दा पनि शिक्षा पाउन सकिन्छ शिक्षाले कुनै पनि जीवको अज्ञानतालाई नास गरी सहि जीवन उपयोगी ज्ञान दिने गर्दछ  

तसर्थ: शिक्षा जीवन उपयोगी हुनुपर्छ । शिक्षा व्यवसायिक हुनुपर्छ ।  शिक्षा असल नागरिकता बिकासमा केन्द्रित हुनुपर्छ । शिक्षक र विद्यालय विद्यार्थीको सिकाइ प्रति उत्तरदायी वा जवाफदेहि बन्नुपर्छ । साथै, समय सापेक्ष पठ्यक्रम बिकास  र सिकाइ पद्धतिको अभ्यासबाट नै शैक्षिक सुधार सम्भव छ । शिक्षा विद्यार्थी केन्द्रित हुनुपर्छ । र सम्बन्धित सरोकारबालाहरुको चासो र चर्चा देशको बिध्यमान शैक्षिक सुधारका कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्दै आज भोलीका बिशेष सँवाद दाता श्री प्रवीण भट्टराईले शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताव खाना ताहाचलमा कार्यरत उपसचिव श्री जयराम अधिकारी सँग गर्नु भएको  देशको शैक्षिक प्रणालीको बिकास र शिक्षाको अबस्था र अबको शैक्षिक कार्य योजनाको बारेमा गर्नु भएको सँवाद विमर्शको अँस । उपसचिव अधिकारीले सरकारी कर्मचारीको रुपमा बिद्यालय निरिक्षक र शैक्षिक तालिम केन्द्र प्रमुखको जिम्बेवारी पनि बहन गर्नुभएको छ । 

  1. नेपालको शैक्षिक प्रणालीको बिकास कस्तो ? के यस ढँगको शैक्षिक प्रणाली सबैका लागि सन्तोषजन ?

विद्यालय तहको शिक्षा हाम्रो मौलिक गुरुकुल, गुम्बा र मदर्शा शिक्षा पद्धतिमा पाश्चात्य शिक्षा पद्धति समेत समाबेस भई व्यवसायिकता, जन जीविका र असल नागरिकता बिकासमा केन्द्रित छ ।

राणा प्रधानमन्त्री जँगबहादुर राणाले  वि. . १९१० मा दरवार स्कुल स्थापना गर्नु अघि हाम्रो शिक्षा मौलिक परम्परा र सँस्कृतिमा आधारित थियो । त्यसपछि भने पाश्चत्य अँग्रेजी शिक्षा परम्परा हुँदै विश्वव्यापी अभ्यास र प्रतिस्पर्धालाई ध्यानमा राख्दै राष्ट्रको आवश्कयतालाई सम्बोधन हुने गरी समय सापेक्ष शिक्षा पद्धतिमा परिमार्जन तथा रुपान्तरण हुँदै आजको अबस्थामा आएको छ । र अहिलेको शिक्षा प्रणाली मुख्यता व्यवसायिक शिक्षा तर्फ उन्मुख र नागरिक दक्षता बिकासमा लक्षित छ ।

हाल गुरुकुल, गुम्बा र मदर्शा जस्ता मौलिक शिक्षालाई पनि मुल शिक्षा पद्धतिमा समाहित गरेर राज्यले लैजाने प्रयास गरेको छ । स्थानीय पाठ्यक्रम कार्यान्वयनका प्रयास पनि भएका छन् । साथै, मातृभाषामा आधारभूत तहको शिक्षा दिने शैक्षिक गतिबिधीलाई स्थानीय तहले थप विब्रता दिएका छन् । यस प्रकारको शैक्षिक अभ्यासले नेपालको मौलिकता, बिविधता र स्थानीय भाषा, सँस्कृती, रहनसहन र  परम्परालाई जगेर्ना गर्न थप योगदान पुर्याएको छ ।

त्यसैगरी, प्रत्येक पालिका तहसम्म प्राबिधिक धारमा पढन पाठन हुने माध्यमिक विद्यालयहरुमा जस्तै वाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङ विधाको पठनपाठन भइ शिप युक्त प्रविधिक दक्ष जनशक्तिको विकास हुँदैछ । प्राविधिक शिक्षा र व्यवसायिक तालिमले गर्दा दक्ष जनशक्ति विकासको सम्भावना बढेर गएको छ । साथै, अहिले अपनाइएको शिक्षा पद्धतिले भने विश्वको बजारको प्रतिस्पर्धा र हाम्रो सामाजिक जनजीविकालाई  सम्बोधन गर्ने प्रयास गरेको छ । तर, अहिलेको शिक्षा प्रणाली जनशक्ति मागका दृष्टिले पर्याप्त छैन त्यसैले अहिलेको शिक्षा प्रणालीलाई समय सापेक्ष सुधार गर्दै जिम्मेवार पूर्ण नागरिक विकासको खाँचो अवको अवश्यकता हो । 

त्यसैगरी, शैक्षिक बिकासलाई हेर्दा बि..२००७ साल पछि शिक्षामा नागरिकको खुला पहुँच र चासो बढेसँगै विद्यालय शिक्षाको सँख्यात्मक र गुणात्मक बिकास हुँदै आएको छ । राणा कालमा पनि बझाँङका सामाजिक सुधारक जय पृथ्वी वहादुर सिँहले नेपाली भाषामा र भोजपुरको दिँङलामा बालागुरु षडानन्दले सँस्कृत शिक्षाको बिकासमा गरेको बिकास र योगदान नागरिक तहबाट भएको उल्लखनिय प्रयास हो । साथै, राणाकालमा आफ्नै परिवारलाई शिक्षा दिने क्रमसँगै क्रमस शिक्षाको पहुँच जनताको तहसम्म पनि पुगेको पाइन्छ । वि स २०२८ सालमा नयाँ शिक्षा पद्धतिको कार्यान्वयन सँगै शिक्षालाई बिकास सँगै योजनाबद्ध रुपमा लैजाने प्रयास हालको १५ औ आवधिक योजना र विद्यालय क्षेत्र बिकास कार्यक्रमसम्म आइ पुग्दा  देश भरिनै विद्यालय तह देखी उच्च शिक्षा सम्म करिव ३८००० शैक्षिक सँस्थाहरुबाट सबैका लागि शिक्षा सुनिश्चित हुनेगरी करिव ७५००००० लाख विद्यार्थीहरुले शैक्षिक सेवा प्राप्त गरिरहेका छन् ।  

यस ढँगको शैक्षिक बिकासले गर्दा सम्पुर्ण नागरिकले शिक्षालाई समान अवसरका रुपमा पाउन वा ज्ञान लिन सक्ने भएका छन् । साथै, शिक्षामा सबै नागरिकको  यस प्रकारको पहुँचले गर्दा  देशको आवश्कयता सम्बोधन गर्ने र विश्वव्यापी प्रतिस्पर्धाका लागि आधार तयार भएको छ । र शैक्षिक गतिबिधी मार्फत उद्यमशिल, शिपमुलक दक्ष जनशक्ति आपुर्ती पनि भइरहेको छ । 

छैन । सँख्यात्मक बिकास सँगसँगै गुणात्मक बिकास अपेक्षित रुपमा हुन सकेको छैन् । शिक्षाको समान अवसरलाई समान नतिजामा बदल्न सकिएको छैन । भाषा, भूगोल र शारीरिक अवस्थाका कारण  शिक्षामा समान सहभागिता हुन सकेको छैन । आर्थिक अबस्था र व्यवसायिक वातावरणको अभावका कारणले सबै परिवारले शिक्षामा पर्याप्त लगानी गर्न सक्ने अवस्था छैन् । राज्यको लगानी क्रमस शिक्षामा बढ्दै गए पनि यो अझै अपर्याप्त छ । भौतिक पूर्वाधार, शैक्षिक जनशक्तिको बितरण ग्रामिण र सहरी, सुगम र दुर्गममा अन्तर रहेको कारणले सिकाइको तहमा पनि यसले प्रभाव पारेको छ । बाल बिवाह , मानव बेचबिखन, बलत्कार, यौनिक हिँसा, घरेलु हिँसा, घरेलु श्रम, जातीय असमानता जस्ता सामाजिक कुरिति र कुसँस्कारले पनि शिक्षामा समान सहभागिता र सबै वर्गका व्यक्तिहरुको समान रुपमा हुन सकेको छैन ।  

त्यसैले, हरेक नागरिको समान बिकास र राष्ट्रको अपेक्षा सम्बोधन गर्ने शिक्षा प्रणाली बिकास गर्ने चुनौती कायमै छ । 

  1. सरकारी शैक्षिक निकायको अवस्था कस्तो ? विद्यमान शिक्षा प्रणालीमा सुधार गर्न सरकारी निकायले के गर्नुपर्छ ?

सँख्यात्मक रुपमा शैक्षिक सँस्थाहरु पर्याप्त खुलेका छन् तर पनि धेरै सँस्था प्रति समाजको  गुनासो कायमै छ । भौतिक पूर्वाधारहरु क्रमस तयार हुँदैछन् । धेरै सामुदायिक विद्यालयमा  शिक्षक दरबन्दी कम छ । स्थानीय समूदायको चासो कम भएका विद्यालयहरुको शैक्षिक अवस्था झन दयनिय छ । नमुना विद्यालयहरु र उच्च प्रतिवद्ध नेतृत्व भएका विद्यालयहरु प्रति भने समुदायको विश्वास बढेसँगै विद्यार्थीहरुको आर्कषण पनि बढ्दो छ । शिक्षण शिकाइ पद्धतिमा रुपान्तरण हुन नसक्दा सिकाई उपलब्धि प्रति सन्तुष्ट भइ हाल्ने अवस्था भने छैन । तर, स्थानीय सरकारको स्थापना सँगै शैक्षिक सुधारको प्रयासका कारण केही सुधारका सँकेत देखिन थालेका छन् । समग्र शिक्षक, शैक्षिक प्रशासन शिक्षा सुधार मार्फत गुमेको साख प्राप्त गर्ने प्रयासमा लागेको देखिन्छ । विद्यालय व्यवस्थापन समिति, अविभावक, समुदाय, स्थानीय जनप्रतिनिधीहरुको शिक्षा प्रतिको दृष्टिको र लागनी कार्य अनुकुल भएका शैक्षिक सँस्थानहरु भने अपेक्षाकृत सन्तोषजनक छन् । तर पनि समुदायको पृष्ठभूमी, आर्थिक अवस्था, शिक्षा प्रतिको जागरुकताले समेत शैक्षिक सँस्थाहरु के कसरी सन्चालन हुने भन्ने कुराको अर्थ राख्छ । 

माथि उल्लेख गरिएका बिषय बस्तुहरु अनुकुल नभै दिँदा सुधारको लागि साँचो दवाव महसुस नभएको हुँदा उच्च शिक्षा प्रदायक सँस्थाहरुको शैक्षिक अवस्था पनि अपेक्षाकृत सन्तोषजनक छैन । जस्तै, कमजोर पूर्वाधार, न्युन जनशक्ति, न्युन लगानी, बढ्दो विद्यार्थी चाप, समय सापेक्ष पाठ्यक्रम र शिक्षा पद्धतिको अभाव, शैक्षिक सुधार प्रति निरपेक्ष राजनीति र दलिय राजनीतिले गर्दा शैक्षिक सँस्था चुस्त र प्रभावकारी हुन सकेको छैन । साथै, देश बिकासको मार्ग दर्शन गर्न सक्ने उच्च शिक्षाको भूमिका कमजोर देखिन्छ । अनुसन्धान, खोज र नव प्रवर्धनलाई देशको आर्थिक सामाजिक रुपान्तरणमा भित्रात्याउनु पर्ने उच्च शिक्षाको दाइत्व पुरा हुन नसकेको अनुभव गर्न सकिन्छ ।  

त्यसैले, सावर्जनिक शैक्षिक सँस्थाहरुको अवस्था सुधारको लागि यस प्रति प्रतिवद्ध राजनीति, प्रशासन, शिक्षक, समुदायको माग गर्दछ । पर्याप्त लागनी र जवाफदेही शासन प्रशानस र समय सपेक्ष पाठ्यक्रम र सिकाइ पद्धति पनि यसका लागि जरुरी छ । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको माग अनुरुप दक्ष शैक्षिक जनशक्तिको उत्पादनमा राज्यले ध्यान दिनुपर्छ त्यसका लागि दुरदृष्टि तय गर्ने र सो कार्यन्वयनको लागि उपयुक्त ढँगको शैक्षिक योजना कार्यान्वयन गरी नतिजा सुनिश्चत गर्नुपर्छ । त्यसबाहेक, उपयुक्त सिकाई वातावरणको लागि भौतिक पूर्वाधार जस्तै कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला र शैक्षिक सामाग्रिको पर्यप्तता अनिवार्य शर्त हुन् ।    

समय सापेक्ष पठ्यक्रम बिकास  र सिकाइ पद्धतिको अभ्यासबाट नै शैक्षिक सुधार सम्भव छ । त्यसका लागि शिक्षा क्षेत्रमा उचित मात्रामा  लगानी गर्नु पर्दछ । साथै,  दलिय राजनीति भन्दा माथी रही शैक्षिक सुधारका लागि प्रतिवद्ध राजनीति र  राजनीति शुसासन, चुस्त नजिजामुखी शैक्षिक प्रशासन र जवाफदेही शैक्षिक सँयन्त्रको बिकास हुन आवश्यक छ ।  

तसर्थ:  सँघ प्रदेश र स्थानीय सरकार एवँम विद्यालय नेतृत्वको साझा प्रसायबाट मात्र शैक्षिक अवस्था सुधार सम्भव छ । र विद्यार्थी केन्द्रित बहस, छलफल र शैक्षिक कार्यक्रमबाट नै विद्यमान शिक्षा प्रणालीमा थप सुधार गर्न सकिन्छ । 

  1. नेपालको शैक्षिक अवस्थाको बारेमा के भन्न चाहानु हुन्छ ? समग्र शिक्षण विधी प्रकृया परीक्षा प्रणाली कस्तो पाउनु भएको ?

दुबै निजी र सामुदायिक विद्यालय अव्यवस्थित प्रकृतिको व्यवस्थापन र ढाँचामा सन्चालन भइरहेका छन् । समाजमा अँग्रेजी माध्यम प्रतिको आर्कशण बढ्दो छ । जीवन उपयोगी, सक्षमता बिकास लक्षित शिक्षा भन्दा अँक वा ग्रेडलाई महत्व दिँदा सिकाइ पद्धतिमा रुपान्तरण हुन सकेको छैन । समाज परिवर्तन गर्ने गरी खाने शिप आर्जन गर्ने भन्दा घोक्ने वा कण्ठ गर्ने, प्रयोग भन्दा सिद्धान्त रटनामा जोड दिने अभ्यास बढ्ता देखिन्छ । अध्ययन अध्यापन परीक्षामुखी भएको छ । समाजलाई परिवर्तन गर्ने एकाइका रुपमा विद्यालय स्थापित हुन सकेको देखिदैन । हाम्रा प्रयोगशालाहरु कक्षा कोठा भन्दा अलग्गै ताल्चा मारेर राखिएका छन् । कक्षा कोठामा पाठ पढाइ रहँदा विज्ञानका सामाग्रीहरु प्रयोगशालामा रहनु पर्ने अवस्था वा कम्युटर बारे पठाइ रहँदा कम्युटर ल्याव अलगै रहने अवस्थाले शिक्षण  सिकाई पद्धति विद्यार्थी केन्द्रित र नविन शैलिलाई आत्मासाथ गर्न नसकेको देखिन्छ । 

दक्ष शैक्षिक जनशक्ति उत्पादनमा पनि खोट लाउने ठाँउ छ । किन भने सिद्धान्तमा जान्ने तर अभ्यास  र प्रयोगमा कमजोर जनशक्ति उत्पादन भइरहेको छ । दुर्गम बस्ति र कमजोर आर्थिक अवस्था भएका परिवारका वालवालिकाको अवसर र सहरी बस्तिका र आर्थिक रुपमा सम्पन्न परिवारका बालवालिकाले पाउने शैक्षिक अवसर पनि तुलनात्मक रुपमा फरक छ । त्यसैले शैक्षिक पहुँचलाई समन्यायिक बनाउनु जरुरी छ । सबै नागरिकको शिक्षाले सबैलाई समान बनाउनु पर्ने वा शसक्तिकरण गर्नु पर्नेमा असमानता बढाइ रहेको छ । यस प्रकारको असमानताले समाजलाई दीर्घकालमा ध्रुविक्रित बनाउने पक्का छ । त्यसैले शिक्षामा सबैलाई समान अवर सहभागिता र नतिजा सुनिश्चित गराउने समता रणनीति कार्यान्वयन अपरिहार्य छ ।  

शैक्षिक सँस्थाको समुदायसँगको सम्बन्ध मजबुद बनाउन जरुरी छ । शैक्षिक सँस्था प्रति समुदायको विश्वासलाई अझ मजबुत बनाउन शिक्षक विद्यार्थी बिच पनि घनिष्टता हुन आवश्कय छ । त्यसका लागि शिक्षकले कक्षा कोठमा विद्यार्थी केन्द्रित पठनपाठन गराउनु पर्छ । र शैक्षिक पद्धतिले शैक्षिक सँस्थासँग स्थानीय  समुदायलाई जोड्न सक्नु पर्छ । यसबाट नै देशको शैक्षिक प्रणाली प्रभावकारी हुन सक्छ । 

त्यस अतिरिक्त कक्षा कोठाको शिक्षण सिकाइ प्रकृया मुलत शिक्षक केन्द्रित र प्रवचनमा आधारित छ । माथिल्लो तहका धेरै विद्यार्थीहरु भएका कक्षा कोठाहरु अनियन्त्रित र सिकाइ अनुकुल नहुँदा सिकाइमा विद्यार्थी सहभागिता र सक्रियतामा ध्यान पुर्याउन सकिएको छैन । र साना कक्षालाई पनि विद्यार्थी मैत्री र सहयोगी बनाउन सकिएको छैन । त्यसैगरी, शिक्षक विद्यार्थीको सम्बन्ध मित्रवत हुन नसक्दा कतिपय अवस्थामा विद्यार्थीहरुले शारीरिक तथा मानसिक यातना भोग्नु परेको छ । 

कक्षा कार्यमा विद्यार्थीको सहभागिता पनि न्युन देखिन्छ । पछिल्लो चरणमा सूचना प्रविधि जस्तै युटुव, अनलाई कक्षा, भर्चुयल सिकाइमा आधारित शिक्षण शिकाइ प्रयोगमा आएतामा पनि यस मुद्धामा पर्याप्त पूर्वाधार र क्षमता विकास हुन सकेको छैन । वाल मैत्री शिक्षण सिकाइले अपेक्षित रुपमा व्यापकता पाएको छैन । घोक्ने वा कण्ठ गर्ने र परीक्षा पास गर्ने तर जीवन उपयोगी शिप र दक्षता हाँसिल नहुने बिरोधावास पूर्ण अवस्था छ । यद्यपी शिक्षण शिकाइ सुधारका केही प्रसँसनिय प्रयासहरु भएका छन् । जस्तै, वाल मैत्री पठन पाठन, सूचना प्रविधी मैत्री पठान पाठनका शैक्षिक प्याकेजहरु प्रयोगमा ल्याएका छन् ।  

मुल्याँकन प्रणालीमा धेरै सुधार आवश्यक देखिन्छ । निरन्तर मुल्याङकन प्रभावकारी छैन । प्रयोगात्मक मुल्याङकन  झारो टार्ने किसिमको छ । बढी अँक वा उच्च ग्रेड प्राप्त गर्ने बाहानामा परीक्षा र मुल्याकन प्रकृयामा गलत अभ्यासहरु काममै छन् । अँक वा ग्रेडलाई सामाजिक प्रतिष्ठाको बिषय बनाउँदा सिकाइ र दक्षता बिकास छायाँमा परेको छ ।  मुल्याँकनलाई सिकाइ सुधारका लागि उपयोग गर्न सकिएको छैन । र परीक्षा विद्यार्थी र अभिभावकहरुका लागि बोझ भएको छ । त्यसैले अहिलेको परीक्षा प्रणालीबाट कुनै पनि विद्यार्थीको मुल्याँकन गर्दा दक्षताको सहि मापन हुन सकेको छैन । 

त्यसैले, शिक्षा विद्यार्थी केन्द्रित हुनु पर्छ । सहभागिता मुलक पठन पाठन हुनु पर्छ । खोज र अनुसन्धानमा आधारित शिक्षण शिकाइ आजको अवश्यकता हो । शिक्षण प्रकृयामा मुल्याँकन अभिन्न अँगको रुपमा अभ्यास गरिनु पर्छ । 

) शैक्षिक सँस्थाहरुले शिक्षामा के कस्ता काम गर्न आवश्यक ? शिक्षक विद्यार्थीहरुको बिचको सम्बन्ध कस्तो पाउनु भएको ?

उपयुक्त शैक्षिक पूर्वाधार, शिक्षण शिकाइ प्रकृयाबाट पाठ्यक्रममले तोकेका सिकाइ उपलब्धि वा दक्षता विद्यार्थीमा सुनिश्चित गराउनु पर्छ र कक्षा कोठा भित्र, बिद्यालय परिसरमा र समुदाय तहसम्म पठ्यक्रम कार्यान्वयनको दायरालाई बिस्तार गर्नुपर्छ । यही नै पाठ्यक्रमको सहि रुपान्तरण हो । सिकाइ विद्यार्थीको हो । त्यसैले विद्यार्थी केन्द्रित शैक्षिक कृयाकलापमा सक्रिय सिकाइ बाल मैत्री बातावरण आवश्यक छ ।  अभिभावक, समुदाय, नागरिक समाज, बिभिन्न स्थानीय सँस्थाहरुसँगको सहकार्य नै विद्यालयको कार्यशैली बन्न सक्नुपर्छ  । शिक्षक र विद्यालय विद्यार्थीको सिकाइ प्रति उत्तरदायी वा जवाफदेहि बन्नै पर्छ । यसबाट नै समुदायको विश्वास आर्जन गरी शैक्षिक वातावरणमा सुधार ल्याउन सकिन्छ । साथै,  शिक्षामा सुधार गर्न शैक्षिक सँस्थाले मुल्याँकन र शिक्षण सिकाइमा सुधार गर्नुपर्छ । र त्यसका लागि उत्प्रेरित शैक्षिक जनशत्तिलाई उचित ढँगले परिचलन गर्नु आवश्यक छ । र सम्रग  सिकाइ वातावरणलाई अनुकुल बनाउनु नै शैक्षिक सुधारको आधार तयार गर्नु हो । 

त्यसैले, सम्बन्धित सरोकारबालाहरुले शैक्षिक सँस्थामा उपयुक्त ढँगको शैक्षिक वातावरण कायम गर्न र सबै विद्यार्थीलाई पठन पाठनमा प्रेरित गर्न सक्नुपर्छ । सुधारको केन्द्र चाँही शिक्षक, विद्यार्थी र उनीहरुको सम्बन्ध नै  हो । किनभने  हाम्रो समाजमा गुरु देवो भव: भन्ने मान्यता कायमै छ । विद्यार्थी भन्दा शिक्षक ठूलो वा भिन्न हो भन्ने कति पय बुझाइले शिक्षक विद्यार्थीको सम्बन्ध कहिले काँहि मित्रवत र सिकाइ अनुकुल भन्दा पदिय मर्यादामा आधारित बन्न गएको देखिन्छ । 

शिक्षकलाई अझै पनि समाजले बिश्वाशिलो व्यक्ति मान्दछन् । तर पनि समय सापेक्ष शिक्षक सँगको सम्बन्ध बजबुत बनाउन नसकिएको हो कि भन्ने महशुस पनि हुने गर्दछ । तर कतिपय अवस्थामा शिक्षक विद्यार्थी सम्बन्ध मित्रबत नहुँदा बिद्यार्थीहरु चरम शारीरिक तथा मानसिक यातना भोग्न बाध्य छन् । 

आफ्नै छोरा छोरीलाई जस्तो माया, हेरचाहा र उत्तरदाइत्व लिएर सिकाइ छोड्ने शिक्षकहरु पनि छन् तर यो आम प्रवृत्ति बन्न सकेको देखिन्न । व्यक्त रुपमा शैक्षिक सँस्थामा बिभेद नभए पनि जाती वा लिँङ वा आर्थिक अवस्थाका कारण शिक्षकले विद्यार्थी प्रति बेवस्ता गर्ने वा विद्यार्थीले पनि शिक्षकलाई पूर्ण रुपमा बिश्वास गरी नहाल्ने अवस्था पनि छ ।  

तसर्थ: समाजले शिक्षकलाई गर्ने आदार सत्कारलाई शिक्षकले आफ्नो पेशागत धर्म मानि समुदायकै विद्यार्थीको सिकाइ र उनीहरुकै क्षमता विकासमा समर्पित बन्न सक्नुपर्छ । र  यस कार्यमा सरोकारबाला सबैको सहयोग जरुरी छ । 

  1. देशको शिक्षा प्रणाली सँग सरोकार राख्ने  सरोबारवालाहरुको बुझाइ कस्तो पाउनु भएको ? विद्यालय शिक्षा वा उच्च शिक्षालाई थप प्रभावकारी बनाउन के के गर्नुपर्छ ?

सबैको आआफ्नै बुझाइ होलान् । आआफ्नै दृष्टिकोण होलान् । शैक्षिक अवस्थालाई समिक्षा गर्दा  शैक्षिक प्रशासक, शिक्षकहरु आफ्नो कामलाई उचित नै ठान्दछन् । तर पनि समुदायको गुनासो अझै सुन्नै पाइन्छ ।  

शिक्षाले जहिले सुकै आउँदो दशकहरुको तयारी गर्नुपर्ने भएकोले निरन्तर सुधार र गुनासाहरुको सम्बोधन गरिरहनु पर्छ । शिक्षालाई गतिशिल अवधारणाका रुपमा लिन सक्नुपर्छ ।  

शिक्षकले हरदम मेहनत गरी रहने, आफ्नो तर्फबाट धेरै प्रयास भएको ठान्ने, सोही कुरा अभिभावक र विद्यार्थीले पनि ठान्ने तर सहकार्यको अभावमा नतिजा देख्न नपाइने अवस्था भने सत्य नै हो । त्यसैले साझा बुझाइका लागि आपसी अन्तरकृया, बहस, सहयोग र प्रयास जरुरी छ । 

घर परिवारमा विद्यार्थीले सघाइ दियोस् । ज्ञान शिप आर्जन गरी व्यवसायिक बनोस् भन्ने चाहाना शिक्षाले तत्काल पुरा गर्न नसक्दा विद्यालय प्रति अभिभावको गुनासो आउनु स्वभाविक हो । अभिभावकले पनि आफ्ना विद्यार्थी छोरा छोरीलाई घरमा नै शैक्षिक वातावरण बनाइ दिउन् । नियमितता र सिकाइमा सक्रियता रहोस् । शैक्षिक सामाग्रीको उपलब्धता घरबाट होस् भन्ने अपेक्षा रहन्छ । त्यसैले आपसपी अपेक्षाको सम्बोधन विद्यार्थी, अभिभावक, शिक्षक वा विद्यालयले पुरा गर्न सक्नुपर्छ ।  

शैक्षिक प्रशासकको बुझाइमा देशको शिक्षा प्रणाली क्रमस सुधार हुँदैछ । तथापी अपर्याप्त भने छदैछ । त्यसैगरी, शैक्षिक विज्ञको राय भने समय सापेक्ष शिक्षाको गुणस्तर कायम हुन सकेको हो कि ? देश बिकासको प्रकृयामा शिक्षाको योगदानलाई थप बढाउनु पर्ने रहेको जस्तो देखिन्छ । 

तर कुनै एक विद्यार्थीले भने शिक्षण शिकाई दिक्कलाग्दो वा आफ्नो जीवन स्तर सुधारमा सहयोगि नभएको अनुभव पनि गरेको हुन सक्छ । समग्रमा शिक्षा प्रतिको बुझाइ सापेक्षित छ र सिकाइ सधै चलिरहेने कुरा हो । र त्यसमा विद्यालयले मात्र सो अपेक्षा पुरा गर्न नसक्नु स्वभाविक हो ।  

 शिक्षकको धारणा भने आफूले पर्याप्त प्रयास गरिरहेको तर अनुकुल बातावरण भइ नसकेको भन्ने हुन सक्छ । त्यसैगरी, शैक्षिक नीति तथा नीति निर्माताले भने नागरिक दक्षताको बिकास र विश्वव्यापि प्रतिस्पर्धामा अहिलेको शिक्षा प्रणालीको  प्राथिमकता खोजि रहेको हुन सक्छ  भने समुदाय स्तरमा भने असल, जिम्मेवार, शिक्षित  र जागरुक नागरिक खोजेको हुन सक्छ । र देशले भने  देश बिकासमा सहयोगी शिक्षित नागरिक खोजको हुन सक्छ ।  

त्यसैले, बिभिन्न बुझाइहरुलाई साझा बुझाइमा परिणत गरी सुधार कार्य अघि बढाउन उचित हुन्छ । त्यसैले, विद्यालय शिक्षा वा उच्च शिक्षालाई थप प्रभावकारी बनाउन शासन र प्रसासनको  प्रणालीगत दृष्टिकोण अवलम्बन गर्न उचित हुन्छ । यस उदेश्य प्राप्तिका लागि  शुसासन, गन्तब्य सहितको शैक्षिक नीति तथा योजना, सँघीयता अनुकुलको सँरचना र जनशक्ति व्यवस्थापन गर्नुपर्छ । 

अत्: पाठ्यक्रम, पठन पाठन, मुल्याकन प्रणालीमा रुपान्तरण, बिकासित प्रविधीको प्रयोग, सरोकारबालाहरुको उत्तरदायित्व प्रणाली,  सामाजिक जवाफदेहिता र राष्ट्रिय दाइत्व बहन गर्ने आचरण पद्धतिको बिकास नै विद्यालय शिक्षा वा उच्च शिक्षालाईलाई मजबुत बनाउने कडी हुन सक्छ । 

  1. नेपालको शिक्षा क्षेत्रलाई  प्रभाव पार्ने पक्षहरु के के हुन् ? देशको शैक्षिक अवस्थालाई सुधार गर्न के कस्ता कामहरु गर्नुपर्छ ?

शिक्षा प्रणाली देशको राजनीतिक आर्थिक, सामाजिक, सँस्कृतिक, प्राविधिक, कानुनी, पर्यावरणिय प्रणालीहरुबाट प्रभावित हुनु स्वभाविक हो । 

सँघीयता राज्य प्रणाली, सरकार र सरकारको स्थाइत्व, दृष्टिकोण, राजनीतिक सहमतिको वातावरण वा बन्द हड्ताल, शैक्षिक मुद्दाहरुको  दलियकरण वा राजनीतिकरणले शिक्षा विकासमा प्रभाव पार्छ । 

देशको आर्थिक अवस्था, नागरिकको आय स्तर, शिक्षामा घर परिवारले गर्ने खर्च र राज्यको शैक्षिक क्षेत्रमा गर्ने लगानीले पनि देशको शैक्षिक अवस्था निर्धारणमा प्रभाव पार्छ । सम न्यायिक लक्षित  वर्ग केन्द्रित  क्षेत्रमा गरिएको लगानी पनि शिक्षा विकासमा सहायक बन्न सक्छ ।  

त्यसैगरी,समाजिक मुल्य मान्यता र सँस्कृति परम्परा र सामाजिक स्विकारोक्ति, भाषा, सँस्कृतिले पनि शिक्षाको दृष्टिकोण, पहुँच र सहभागितामा प्रभाव पार्छ ।  

जलबायू, प्रकोप वातावरणिय पक्षले पनि देशको शैक्षिक गतिविधिको नियमितामा असर गर्दछ । त्यसैगरी, पूर्वधार, शैक्षिक शत्र निर्धारण र शैक्षिक प्रभावकारितामा असर पर्ने कुरा जस्तै भूकम्प, कोरोना महामारी र प्रदुषण, ठण्डी र गर्मी जस्ता पक्षको प्रभावको बारेमा पनि हामीले महसुस गरेकै विषय हुन् ।  

समय सापेक्ष सूचना प्रविधीमा भएको विकासलाई शिक्षा क्षेत्रमा लैजाने र त्यस सम्बन्धि दक्षता विकास गर्ने मुद्धा पनि शिक्षा र प्रविधीको सम्बन्धको विषय हो । र अनिर्वाय तथा निशुल्क शिक्षा, शिक्षाका कानुनी आधारले पनि देशको शिक्षा कस्तो बनाउने भन्ने प्रष्ट आकार दिने हुँदा यी सबै माथि उल्लेखित मुद्धाहरुलाई पन्छाएर शिक्षाको मात्र सुधार खोज्नु सम्भव नहोला । 

  1. हाम्रो समाजमा किन शिक्षा सबैको पहुँचमा छैन ? शिक्षामा सबैको पहुँच बढाउन के कस्ता कामहरु गर्न आवश्कय छन् ?

शिक्षामा पहुँचको बिषय तह र बिषय अनुसार फरक फरक छ । प्राथमिक तहमा विद्यालय उमेरका लगभग २ प्रतिशत बावबालिका मात्र बिद्यालय बाहिर छन् । त्यस्तै, माध्यमिक तह हुँदै उच्च शिक्षा पुग्दा लगभग १५ प्रतिशत विद्यार्थी भर्नादर रहेको देखिन्छ । त्यस्तै, साधारण शिक्षा भन्दा  प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच कम रहेको छ । 

बिकट भूगोल, ग्रामीण र विपन्न बस्तिरहरुमा पहुँचको अवस्था अझ कमजोर छ । जाती, भाषा, लिँङ जस्ता सामाजिक पक्षले पनि शिक्षाको पहुँचमा प्रभाव पारेको छ । साथै, आर्थिक स्थितीले पनि शिक्षाबाट टाढा हुने वा बन्चित हुनु परेको अबस्था छ । 

युनेश्कोले भने झै शिक्षाको पहुँचमा शैक्षिक सेवाको उपलब्धता, आर्थिक, कानुनी र सामाजिक रुपले पहुँच योग्यता, सामाज सँस्कृति र व्यक्तिगत आवश्यकताको दृष्टिले  अनुकुलता र स्विकार्यता जस्ता पक्षहरु पनि जिम्बेवार देखिन्छन् । त्यसैले, आम नागरिकको सबै तह र प्रकृतिको शिक्षामा पहुँच बढाउन आवश्कय छ । पहुँच सुनिश्तताको लागि सँवैधानिक र कानुनी व्यवस्था छ । र  योजना तथा कार्यक्रम पनि छन् तर भएका ती योजना र कार्यक्रमहरु अपेक्षाकृत रुपमा प्रभाकारी ढँगले कार्यान्वय हुन सकेका छैन । वा अपर्याप्त छन् ।

त्यसैगरी, अधिकाँस घरपरिवारको कमजोर आर्थिक अवस्थाले गर्दा शिक्षा प्राथमिकतामा पर्न सकेको छैन । शिक्षाले पनि सबैको तत्काल जीवन स्तर सुधार  गर्न सक्ने ग्यारेन्टी नहुँदा पढेर के हुन्छ भन्ने मानसिकतालाई चिर्न सकेकिएको छैन । 

त्यसैले, शिक्षाको पहुँच बढाउन शैक्षिक जन चेतनाको अवश्कता छ । साथै, राज्य समुदाय र घरपरिवारबाट शिक्षा क्षेत्रमा उचित स्तरको लगानी हुनु जरुरी छ । शिक्षाले  सामाजिक विविधतालाई सम्बोधन गर्न सक्नुपर्छ । बिभेद र असमानता हटाउन सक्नुपर्छ ।  

सोही अनुसार तीनै तहको सरकारको सहकार्यमा शैक्षिक योजना तथा कार्यक्रम  प्रभावकारी कार्यान्वयन हुनुपर्छ । साथै, नीतिगत, सँस्थागत र कार्यक्रमगत प्रवन्ध मिलाइनु पर्छ । प्राप्त उपलब्धिको  आवधिक समिक्षा गरी र निरन्तर सुधार गर्नुपर्छ । र शैक्षिक पुहँच बढाउन वा सबै नागरिक बिच पुर्याउन  शासन, प्रशासन, व्यवस्थापकिय   र शैक्षणिक सुधार गर्नु जरुरी छ । 

तब मात्र सबै नागरिकको शिक्षामा सन्यायीक पहुँच र नजिता सुनिश्चित गर्न सकिन्छ ।   

  1. सरकारी शैक्षिक सँस्था  निजी शैक्षिक सँस्थामा के कस्तो भिनन्ता रहेको ? यस प्रकारको भिन्नतालाई न्युनिकरण गर्न के कस्ता व्यवहारीक तथा नितीगत कामहरु गर्न जरुरी ?

नेपालका निजी शैक्षिक सँस्थाहरु लगानीका कारण सरकारी सँस्थाको तुलनामा व्यवस्थापन, उत्तरदाइत्व र चुस्तताका हिसावले भिन्न छन्  । उचित नेतृत्व, व्यवस्थापकिय क्षमता र सुधारको चासो भएका सरकारी शैक्षिक सँस्थाहरु पनि उत्तिकै उत्तरदायी र चुस्त देखिन्छन् । अधिकाँस सार्वजनीक शैक्षिक सँस्थामा भने कुशल नेतृत्व र व्यवस्थपनको अभवामा नतिजा दिन असमर्थ छन् । साथै, अभिभावको रुची र चासो शैक्षिक सँस्था प्रति घट्दै जानाले सुधारको लागि दवाव कम भएको महसुस गर्न सकिन्छ । अभिभावको आफ्नो लगानी निजी शैक्षिक सँस्थामा बढी हुँदा स्वभाविक रुपमा निजी शैक्षिक सँस्था प्रति अभिभावको स्वमित्व बढेको देखिन्छ । पछिल्लो समयमा निजी शैक्षिक सँस्था झै अँग्रेजी माध्यमबाट पठन पाठन, व्यवस्थापन चुस्तता र शिकाइ प्रतिको उत्तरदायी हुने सर्वाजन शैक्षिक सँस्थाले पनि अवल्म्वन गर्दा सार्वजनीक शैक्षिक सँस्थाहरु प्रति पुन अभिभावको आर्कषण बढ्दै गएको छ ।  

समग्रमा निजी सार्वजनीक दुबै किसिमका सँस्थाहरुको चुस्तता र प्रभावकारीता बढाएर लैजानु राज्यको दाइत्व हो । 

सार्वजनीक शैक्षिक सँस्थाको सवलिकरण आजको आवश्यकता हो । निजी क्षेत्रको भूमिकालाई पनि वेवास्ता गर्न सकिन्न । व्यवस्थापन सुधार, असल नेतृत्व, विद्यार्थीको सिकाई प्रति उदात्तदायी सयन्त्रको माध्यमबाट सार्वजनी तथा निजी दुबै शैक्षिक सँस्थाहरुलाई व्यवस्थित गर्न सकिन्छ । साथै, निजी क्षेत्रसँग सँगै जाने र राज्यले पनि सघाउने र निजी क्षेत्रले पनि राज्यको अपेक्षा अनुरुप दक्ष जनशक्ति उत्पादनको पुरक भूमिका रहने नितीगत व्यवस्था अविलम्व हुनु जरुरी छ ।व्यवहारिक रुपमा निजी तथा सार्वजनिक शैक्षिक निकायका असल अभ्यासहरुको आदन प्रदानको सँस्कृति बिकास हुनु पनि उत्तिकै जरुरी छ ।   

यसबाट नै राज्यको अपेक्षा दुबै खाले शैक्षिक सँस्थाले पुरा गर्न सक्छन् । र जे जस्ता किसिमका शैक्षिक भिन्ताहरु भए पनि दुबै निकायको लक्ष्य भने दक्ष जनशक्ति विकास र असल नागरिकता विकास हो भन्ने ध्येय भने विर्सन मिल्दैन । 

  1. देशको शैक्षिक अवस्था शैक्षिक प्रणालीको बारेमा भन्नै पर्ने अन्य महत्वपुर्ण मुद्धाहरु के के छन् ?

बिध्यमान शैक्षिक प्रणालीलाई निरन्तर सुधार गरी समय सापेक्ष बनाउने र सरकोरबालाहरुको अपेक्षालाई सन्तुलित रुपमा सम्बोधन गर्नु नै अबको मुल विषय  हो । 

विद्यालय र समुदायको बिस्वास पूर्ण सहयोगी सम्बन्ध, शिक्षक विद्यार्थीको मित्रवत सम्बन्ध, सरोकारबालाहरुको सँगको सहकार्य ले पनि शैक्षिक सुधारको वातावरण लाई अनुकुल बनाउने हुँदा आवश्यक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा लैजानु र शिक्षामा न्यायिक पुहँच र गुणस्तर कायम गर्नु पनि उत्तिकै जरुरी छ । 

सबैलाई शिक्षा सुनिस्चित गर्न राज्यले निजी क्षेत्र, समूदाय र नागरिक समाज को सहकार्यमा आफ्ना शैक्षिक गतिबिधीहरु अगाडी बढ्नु पर्छ । 

त्यसैगरी,पठ्यक्रम, शिक्षण सिकाइ प्रकृया र मुल्याँकनलाई समय सापेक्ष बनाइनु पर्छ । शिक्षक परिवर्तनको एजेन्ट बन्न सक्नु पर्छ । शिक्षण प्रकृया विद्यार्थी मैत्री हुनु पर्छ । 

राष्ट्रिय बिकासको प्राथमिकता र आवश्कयतालाई शिक्षाले सम्बोधन गर्न सक्नु पर्छ । सोही अनुसार राज्यले शैक्षिक नीति, शैक्षिक जनशक्ति, शैक्षिक लगानी, शैक्षिक प्रवन्ध गर्न आवश्यक छ । 

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !