प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका थिए । उनी आज मंगलवार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट गरेपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

गत आईतवार विश्वासको मत प्राप्त गरेसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आज देउवा सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा टुंगो लगाउने तयारी भएपछि प्रचण्ड सक्रिय भएका हुन् । हाल देउवा सरकारमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवासहित ३ र माओवादी केन्द्रबाट २ जना मन्त्री भएका छन् ।

संविधान अनुसार २५ सदस्यीय सरकार गठन गर्न पाइने प्राब्धान रहेको छ ।
यसैगरी पार्टीभित्र विद्रोह गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने विषयमा सकारात्मक देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीबाट आएका पार्टी एकताका प्रस्ताव अस्वीकार गर्दै आएको नेता नेपाल पक्ष देउवा सरकारमा जानेबारे छलफलमा जुटिरहेको छ । अध्यक्ष ओलीसँग मिलेर पुनः एमालेमै फर्किने सम्भावना नभएपछि अब देउवासँग मिलेर सरकारमा जाने निष्कर्षमा नेकपा पक्ष पुगेको स्रोतले जनाएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई मत दिएका २२ जनालाई स्पष्टीकरण सोध्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तर सर्वाेच्च अदालतको फैसला अनुसार ओलीले कारवाहीको निर्णय गरेपनि कार्यान्वयन हुँदैन । अदालतले संविधानको धारा ७६(५) अनुसार बनेको सरकारलाई मत दिँदा ह्वीप नलाग्ने र कारवाही गर्न नपाइने स्पष्ट गरिसकेको छ ।

सर्वाेच्च अदालतको फैसला अनुसार अब नेपाल पक्ष ढुक्कसँग देउवा सरकारमा जान सक्नेछ । नेपाल पक्षले उपप्रधानमन्त्रीसहित ६ मन्त्रालय मागेर सरकारमा जानेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ । सरकार बन्न निर्णायक र विद्रोही भूमिका खेलेका नेता नेपाल पक्षलाई प्रधानमन्त्री देउवाले समेत महत्त्व दिएका छन् ।

प्रधानमन्त्री बनेपछि नेपालनिवास कोटेश्वर पुगेरै देउवाले सरकारमा सहभागी हुन र विश्वासको मत दिन आग्रह गरेका थिए । नेपालले गरेको प्रतिबद्धता अनुसार विश्वासको मत दिएका छन् भने अब देउवाले सरकारमा उचित हिस्सेदारी दिनुपर्ने बेला आएको छ । देउवालाई विश्वासको मत दिएका सांसदमध्ये नै सरकारमा पठाइने नेपालनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीबाहेक कांग्रेस, माओवादी केन्द्र÷माधव पक्ष र जनता समाजवादीले ६÷६ गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने मनस्थिति देउवाले बनाएका जनाइएको छ । प्रधानमन्त्री देउवालाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ ।

सबै पार्टीलाई १÷१ उपप्रधानमन्त्री समेत दिँदा ३ भन्दा बढी उपप्रधानमन्त्री हुने सम्भावना रहेको स्रोतले जनाएको छ । नेता नेपाल पक्षबाट उपप्रधानमन्त्रीसहित ६ जना मन्त्री बन्ने बताइन्छ । उपप्रधानमन्त्रीका रूपमा राष्ट्रियसभा सदस्य बामदेव गौतमको नाममा चर्चामा रहेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेता गौतमले सर्वाेच्च अदालतको फैसला स्वागत गरेका छन् ।

नेपाल पक्षबाट मन्त्री हुनेहरूमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, गोपाल बम, प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार श्रेष्ठ, कल्याणी खड्का, हिराचन्द्र केसी, कलिला खातुनको नाम चर्चामा छ । यी नाममध्ये मन्त्रालय हेरेर आवश्यक मन्त्री पठाउने नेपाल पक्षको तयारी छ ।

नेकपा एमालेका दोस्रो तहका केही नेताहरूले पार्टी एकताको प्रयास गरिरहेकाले उनीहरूले यसलाई झन् पेचिलो बनाउँदै नेपाल पक्षलाई तत्काल सरकारमा जानबाट रोक्ने सम्भावना समेत रहेको स्रोत भनाइ छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !