उन्नत जातको ओखरखेतीमा किसानको आकर्षण

आजभोलि

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुदैन । त्यसका कारण अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको हो ।

बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको छ । त्यसले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल बताउँछन् ।

यस जातको ओखर अरूको तुलनामा वयस्क अवस्थामा पनि बोट होचो हुनाका साथै दाना पनि ठूलो र हातैले फुटाउन सकिने विशेषता छ । बढी उत्पादन हुने स्वादिष्ट र प्रोटिनयुक्त भएकोले गर्भवती महिला तथा बालबालिकाको मस्तिष्क विकासका लागि ज्यादै उपयुक्त मानिएको पालिकाका कृषि शाखा प्रमुख नायब प्राविधिक सहायक ममता विकले जानकारी दिइन् ।

उक्त ओखरको प्रतिबिरुवा मूल्य रु एक हजार ५० रहेको छ । हाल ५० रोपनी जमिनमा एक हजार बिरुवा गत फागुनमा रोपिएको थियो । पकेट क्षेत्र घोषणा गरिएको यस कार्यलाई क्रमशः वृद्धि गर्दै लगिने कार्यक्रम छ । रोपिएका बिरुवाबाट दुई–तीन महिनामा नै फल फल्न सुरु गरेपनि बिरुवालाई स्वस्थ राख्न सबै फल टिपेर फालिएको थियो ।

एक पटक रोपेपछि ७०÷८० वर्षसम्म आयु रहेको हाइब्रिड जातको उक्त ओखर दोस्रो वर्षमा फलेको फल खानयोग्य हुनेछ । तेस्रो वर्षमा भने व्यावसायिक रुपमै उत्पादन भई बिक्रीयोग्य हुनेछ । प्रतिकिलो रु ७०० मा बोटमै आएर बिक्री हुने कृषि शाखा प्रमुख विकले बताइन् ।

समुद्री सतहबाट एक हजार २०० देखि दुई हजार ९०० मिटरको उचाइसम्म यसको खेती राम्रो मानिन्छ । रोपिएका बिरुवालाई जनावरबाट जोगाउन तारबार तथा थप बिरुवाका लागि पालिकाले चालू वर्षमा रु पाँच लाख छुट्ट्याएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट रू पाँच लाख अनुदान प्राप्त भएको छ । त्यसका लागि किसानले पनि ५० प्रतिशत लगानी गरेका छन् । चीनसँग सिमाना जोडिएको फुल्पिङकट्टी र सेलाङकट्टीमा विकल्पका रुपमा चिया, कफी तथा अलैँचीखेतीसमेत विगतमा वर्षौदेखि नै सुरु गरिएको थियो ।

त्यहाँका प्रत्येक घरबाट दुई÷तीन जना युवायुवती रोजगारीका लागि विदेश गएकाले वृद्धवृद्धा र केटाकेटी मात्र घरमा छन् । उनीहरु खाडी राष्ट्रका साथै युरोप अमेरिका पुगेकाले विगत ५÷७ वर्षदेखि करिब ४५ प्रतिशत जमिन बाँझो रहेको वडा नं ४ का वडा सदस्य आङछिरिङ शेर्पाले बताए । उक्त पालिका गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ ।

जङ्गल नजिकै भएकाले लगाएको अन्नबालीलाई बँदेल, मृग, बाँदरलगायतका जनावरले खाएर नष्ट गर्ने कारणले पनि किसानले जमिन बाँझो राख्न थालेका हुन् । खाद्यान्न अभाव भए पनि त्यहाँका बासिन्दा खासा व्यापारबाट घरव्यवहार चलाउन सक्षम थिए ।

विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीले तातोपानी नाकाको भविष्य राम्रो नदेखिएपछि युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेको बताइएको छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. नेकपा अर्थात् गफाडी क्लब !