मजदुर आन्दोलनमा गोठमा गाई भैँसी भोकभोकै

आजभोलि

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलनमा होमिँदा उनीहरुले पालेका गाई भैँसी भोकभोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरहरु आन्दोलनमा उत्रिएपछि पालिएका गाई भैंसी भोकभोकै भएको विश्वविद्यालयले जनाएको हो ।

हाल विश्वविद्यालयमा दैनिक ज्यालादारीमा काम गर्ने ११५ जना मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनुपर्ने रहेको छ । आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् ।

विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई आज बिहान मजदुरले दाना पानी दिएको बताएका छन् । आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उनले भने ।

चार दिनसम्म दानापानी खान नपाएपछि गाई भँैसीको अवस्था दयानीय बनेको छ । गोठमा एक सातामा छ भैँसी ब्याएका छन् । चौधवटा ब्याउने अवस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उनको भनाइ छ । गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ ।

गोठमा १९ गाई छन् । गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यससँगै अध्ययनका लागि २६ बंगुर, छ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर छ, हालै रु १ लाख ५० हजारमा खरिद गरिएको एउटा राँगो र २० भेडा छन् ।

ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द भएपछि पूर्ण रुपमा प्रभावित भएको उनी बताउँछन् । गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर आज बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ।

विगत केही वर्षयता सो विश्वद्यिालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ । गतवर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ । विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन् ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !