काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । केहि बेर अघि शुरु भएको सो बैठकमा सरकार विस्तार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा छलफल हुने प्रमुख एजेण्डा रहेको छ ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको अमेरिकी टोलि अहिले काठमाडौँमै रहेको बेला एमसीसी बारे सत्तारुढ दलहरुबीच साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको उनी निकट एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै आजको बैठकमा जारी संसद अधिवेशन संचलान र एमालेले गरिरहेको विरोधका विषयमा पनि छलफल हुने बताइएको छ ।
आजको बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी रहेका छन् ।