होटल मजदूरलाई विकास निर्माणमा लगाइने

आजभोलि

काठमाडौं। कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञासँगै कारण पर्यटकहरु नआउँदा चितवन सौराहका होटलहरु ठप्प भएका छन्। होटल बन्द भएपछि बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ ।

उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहकार्यमा सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको छ। रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवनको अगुवाइमा काम गर्न लागिएको हो। नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ।

यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल निर्माण गरिने छ। भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ। सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन्। प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ ।

यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक रु एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् ।

कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् । यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन्। संघले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्ने इच्छा देखाएका छन्। यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ। भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्दार गरिएका गोहीलाई छाडिने छ ।

त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप आकर्षित बनाउने छ । निषेधाज्ञासँगै होटल सञ्चालन हुन नसक्दा सञ्चालक र मजदूर दुवै मारमा परेको हो । नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग बनाइरहेको छ ।

राप्ती नदी किनारमा बसेर सूर्यास्थ र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो । त्यहाँबाट राप्ती नदीमा खेली रहेका गोहीसमेत देख्न सकिन्छ । सो पथमा ठूला ठूला तीनवटा ढुङ्गासमेत राखिएको छ । ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति कुदिने छ ।

भुइँमा ढुङ्गा बिच्छ्याइँदै छ । छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने छ । झण्डै रु ३१ लाखको लागतमा यो संरचना बनिरहेको नगर प्रमुख वनले जनाएका छन्। देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग नगरपालिकाले गरिरहेको उनले बताए। कोभिड घटेसँगै सौराहाका व्यवसायी उत्साहित भएका छन् ।

 

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !