डोल्पाका स्याउ शीतभण्डार नहुँदा खेर जाँदै

आजभोलि

काठमाडौं । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताउनुभयो ।

स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जनाएका छन् । यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उहाँको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए । स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ ।

अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उहाँले बताउनुभयो । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् ।

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्नेे बताए ।

उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए । सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ नेपाली बजार ढाकिरहेका बेला आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको स्थानीय कृषकको गुनासो छ ।

स्याउ उत्पादन हुने ठाउँमा सडक र आवश्यक पूर्वाधार निर्माण गर्न माग गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !