सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

आजभोलि

काठमाडौं । गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।

बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सरकारले दुई महिनाभित्र कार्यदल गठन गरी बादी समुदायको उत्थान र विकासका लागि कार्ययोजना बनाउने उल्लेख थियो ।

कर्णालीका अधिकांश बादी समुदायको स्थायी घरजग्गा छैन । मादल, सुल्पा बनाएर जीविकोपार्जन गर्ने यो समुदायको पुख्र्यौली पेशा हो । तर पछिल्ला केही दशकयता आधुनिकीकरणको प्रभावका कारण उनीहरुका हस्तकलाका सामान पनि बिक्न छाडेका छन् । यसले गर्दा बादी परिवार नदी किनार आसपासमा माछा मारेर, बालुवा चालेर, ढुङ्गा–गिट्टी कुटेर गुजारा चलाउने गर्दछन् ।

कर्णालीमा कालीकोट, दैलेख, जाजरकोट र सल्यानलगायतका जिल्लामा बादी समुदायको अधिक बसोबास छ । सल्यान देवस्थलका शेरबहादुर बादीले विभिन्न स्थानमा छरिएर बसेकाले आफूहरुको माग सुनुवाइ नभएको गुनासो गर्नुभयो । “हाम्रो एकीकृत बस्ती छैन, त्यसैले नेताहरुले हाम्रो कुरालाई महत्व दिँदैनन्”, उहाँले भन्नुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा बादी समुदायलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा बादी समुदायको शिक्षा, स्वास्थ्य रोजगार, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरी सीपमूलक तालिम र आयआर्जनका विषयहरु सञ्चालन गर्ने उल्लेख छ । बादी समुदायका युवा व्यवसायीलाई सीपमूलक तालिम र घुम्तीकोष खडा गरी अधिकतम रु १० लाख ऋण ब्याज अनुदान उपलब्ध गराउने भने पनि कार्यान्वयन प्रक्रिया अघि बढाएको छैन ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !