राजनीतिका कुटिल खेलहरू

कृष्णप्रसाद भट्टराई

सभामुख महोदय,

यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक द्वन्द्वले समग्र नेपाललाई प्रभाव पारेको छ। मुलुक नसोचिएको सङ्कटको अवस्थामा छ । यो सङ्कटको अवस्थाको कारण कहीं बाहिर छैन- हामीभित्रै छ । यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन तर हाम्रो राजनीतिका केही पात्रले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो सङ्कट पनि त्यही नै हो । हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौं । त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकाङ्क्षा छ भने यस सङ्कटका कारक पनि हामी नै हुन्छौं । पद्धति राम्रो छ तर त्यसअनुरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ । अहिले प्रधानमन्त्रीका रूपमा मेरो नेतृत्वमाथि सङ्कट आइपरेकाले त्यसबाट बच्न म यी कुरा गरिरहेको छैन किनभने मेरो राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन । मेरो ध्येय प्रजातन्त्रका निम्ति र समृद्ध, समुन्नत नेपालको निर्माण थियो । संयोग, परिस्थिति र जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिमकालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यस पटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठाका साथ सम्पन्न गरेको थिएँ। यस पटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वयम्ले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा मेरो नाम प्रस्ताव गरेको कुरा सर्वविदित छ। सम्भवतः यही कारणले पनि हाम्रो पार्टी नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि म यस कुरामा विशेष बल गर्न चाहन्नँ, तापनि मेरो प्रधानमन्त्रीत्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रीत्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको म जनताप्रति पनि सोझै उत्तरदायी छु । चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नाम प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्ना ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरासामु उपस्थित भएकाले म आज निर्णायक उत्तर खोजिरहेको छु ।

मेरो आफ्नै पार्टीका सांसदहरूसित मेरा नाममा मागिएको मत पनि छ। उहाँहरूलाई चुन्ने जनताको मतमा मेरो पनि अंश छ। नेपाली कग्रिसले, नेपाली कांग्रेसका सभापतिले नेता र कांग्रेसका तमाम सदस्यले जनतासमक्ष र देशका समक्ष गरेका वाचाहरूको स्प्रण गर्ने आग्रह गरेको हुँ किनभने भोलि म हट्नासाथ त्यसको जवाफ नेपाली कांग्रेसले दिनैपर्ने हुन्छ । मेरा ठाउँमा प्रधानमन्त्री हुने व्यक्ति पनि यस प्रहारबाट बच्न सक्नेछैन र म स्वयम् पनि त्यो प्रश्नको परिधिभित्रै हुनेछु । यसर्थ म यी विचार सम्मानित सदनसमक्ष राखिरहेको छु । नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सदनको चर्चाको विषय बनाउने मेरो ध्येय किमार्थ होइन तर मेरो आग्रह के हो भने प्रधानमन्त्री बन्न मजस्तो पूर्वघोषित व्यक्तिले जनताका प्रतिनिधिहरूबाट बनेको संसद्समक्ष आफ्ना विचार राख्न पाउनुपर्छ। अहिले यस विषयमा यहाँबाट निर्णय हुँदैन, त्यो मलाई थाहा छ तर मेरो जिज्ञासा राष्ट्रसमक्ष यथानुरूप पुगोस् र यसले राष्ट्रको चेतनालाई सम्बोधन गरोस्, यस्तो मेरो इच्छा छ।

यावत् प्रतिकूल परिस्थितिका बाबजुद हाम्रो सरकारले देशका प्राथमिकताका रूपमा रहेका कार्यहरूलाई गति दिने प्रयत्न गरिरहेको छ । मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनाका साथै विधि व्यवस्था कायम गर्ने उपायहरू अवलम्बन गरिँदै छन् । मैले भ्रष्टाचार निर्मूल गर्ने सङ्कल्प गरेको हुँ। पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो किनभने मैले त ढिलोचाँडो अवकाश लिनैपर्थ्यो । त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो ।

झन्डै १० महिनाअगाडि म प्रधानमन्त्री पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहोरी खेलबाट उत्पन्न विकृति र विसङ्गतिको पीडाले छटपटिइरहेको थियो। त्यसबखत नेपाली कांग्रेसलाई बहुमत दिलाएर जनताले मुलुकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरेको थियो । नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायित्वपूर्ण ढङ्गले गर्दै आयौँ आफूले आफैँसँग प्रश्न गर्नुपर्ने भएको छ। म प्रधानमन्त्री बनेको दुई-तीन हप्ता नबित्दैदेखि मेरो खिलाफमा सुरु भएको कचमच आज साँच्ची नै यो मुलुकको राजनीतिक स्थिरताउपर प्रश्नचिह्नका रूपमा र सुशासनका दिशामा एउटा अड्चनका रूपमा तेर्सिएको मैले अनुभव गरेको छु किनभने जबजब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिसनतन्त्रमाथि प्रहार गर्न सुरु गरेका हुन्छ, जब एयरपोर्टदेखिका तस्करहरू कमाउन नपाएर अतालिएका हुन्छन् जब सरकार निमुखा जनतालाई न्यायदिने कार्यक्रमका साथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर यो देश सबैको साझा हो, त्यसैले सबै मिलेर बेथिति हटाऊँ, पारदर्शिता ल्याऊँ अनि हिंसा र आतंक रोकी भनेर नयाँ-नयाँ पहलहरू सुरु भएका हुन्छन्, तब-तब यहाँ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन । यो मुलुकमा २०५२ सालदेखि सबैको चिन्ताको विषय बनेको कथित माओवादी जनयुद्ध र हिंसाको खेल खेल्नेहरू वार्ताको टेबुलमा आएर समस्याको टुको लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाइरहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानाबाना किन बुनिइरहेको हुन्छ ? आर्थिक वृद्धिदर, निर्यात व्यापार, मूल्य स्थिति, विदेशी मुद्राको सञ्चितिजस्ता आर्थिक परिसूचकहरूमा उत्साहजनक उपलब्धिहरू विगत १० महिनामा हासिल भएका छन् । मानव अधिकार आयोगको स्थापनाको तयारीमा छौं। यसबीच वर्षौंदेखि नेपालका लागि टाउको दुखाइ बनिरहेको भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल-भुटान वार्तामा धेरै प्रगति भएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगको अध्यक्षमा नेपाल निर्वाचित हुन लागेका बेला, नर्वेजियन दूतावासको स्थापना तथा प्रजातान्त्रिक नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमणको आमन्त्रण विगत दश महिनाकै अवधिमा नेपालको प्रधानमन्त्रीको उपलब्धिपूर्ण बेलायत भ्रमण, खास गरी गोर्खा सैनिकहरूको पेन्सनमा भएको वृद्धि तथा निकट भविष्यमा हुन गइरहेको बेलायतका विदेशमन्त्रीको नेपाल भ्रमण, काठमाडौंमा साफ गेमको अभूतपूर्व सफलता, वातावरण सुधारमा आएको सुधार, मूल्यवृद्धिमा भएको नियन्त्रण आदि प्रसनले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनमा उपलब्धि भइरहेका बेला सत्ता परिवर्तनको हतार देखापर्नुले के कुरातर्फ सङ्केत गर्छ ?

देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिसप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन होइन ? हामी नेपालीले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवम् मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं। वास्तविक प्रजातन्त्र कायम नभएसम्म हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो। यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम सङ्घर्ष गरेको छु। एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक-पटक अनेक किसिमका घातप्रतिघात र अन्तरघात बेहोर्नुपरेको छ तर पनि म विचलित छैन। भविष्यका सन्ततिहरूलाईसत्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालना म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदि आस्था र निष्ठाको राजनीति, सिद्धान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेष गरी नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन क्तैहराउने त होइन ? हाम्रो पहिचान नै विलुप्त हुने त होइन ?

मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्ताव गरेको छु । त्यो यस निमित्त कि मुलुकले अब साँच्चिकै नयाँ मोड लिन सकोस्। यो राष्ट्रका दिन जनताले राहतको सास फेर्न पाऊन् । सौभाग्यले हामीसँग केही त्यस्ता मानिसको एउटा पुस्ता खडा छ जसले प्रजातन्त्रको मूल्यमा कहिल्यै कुनै सम्झौता गर्न जानेन, जसले कहिल्यै प्रजातन्त्रको विकल्प खोजेर भौँतारिँदै हिँडेन त्यो पुस्ताले आफ्नो सारा जवानीलाई जेल, नेल र प्रवासका अँध्यारा कुनामा सहज समर्पण गरेको मात्र होइन, उत्तरदायित्व पाएका बखत जस्त जटिल र कठिन खुड्किलाहरूलाई पनि कुशलतापूर्वक पार गरेर आफ्नो इमानदारी, निष्ठा र क्षमताको प्रदर्शन गरिसकेको छ। यदि यो प्रजातान्त्रिक आन्दोलनको कुनै भविष्य छ भने त्यही पुस्ताको हातमा त्यो भविष्य सुरक्षित छ । हामी यहाँ कैयौं व्यक्तिलाई किटेर देखाउन सक्छौं जसलाई कसैले पनि औंला ठड्याउन सकेका छैनन् । इतिहासको परीक्षाबाट खरो उत्रिसकेको त्यो पङ्क्तिलाई पनि हल्का ढङ्गले प्रस्तुत गर्ने र अवमूल्यन गर्ने खेल र प्रचारबाजी यहाँ चलिरहेको छ त्यो अरू केही नभएर नेपाली कांग्रे जुन नेतृत्वको सङ्कटमा पुऱ्याएर प्रजातन्त्रलाई नै कमजोर तुल्याउने एउटा षड्यन्त्र हो भनेर म स्पष्ट पार्न चाहन्छु ।

मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पद्धतिको दिशा बदल्ने हो। त्यसका लागि म जुन र जति मूल्य चुकाउनुपरे पनि चुकाउँछु । त्यस्त नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकालाई निर्वाध र अविच्छिन्न राख्नका लागि ममा अझै पनि जति त्यागको आवश्यक्ता छ त्यति त्याग गर्न तयार र सक्रिय रहनेछु । पार्टी एकताका लागि विगतमा मैले धेरै पटक प्रशस्त अपमान र तिक्तता सहेको छु तर मेरो निवेदन छ- मेरो निष्ठाका विरुद्ध प्रयोग भइरहेको दुष्प्रचारसँग असहमति जनाउनु मेरो कर्त्तव्य हो भन्ने ठानेर आफ्ना कुरा राख्न म आज सदनमा उभिएको छु। यसोभन्दा मेरो कसैप्रति दुर्भावना छैन । यसर्थ मेरो यस सम्बोधनलाई अन्यथा नलिइदिन म विनम्रतापूर्वक आग्रह गर्छु ।

मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासाथ क्र्त्तव्यनिष्ठ भई काम गरौं। त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यक्ता छ भने म हरहमेसा तयार छु। मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । नेपालको गौरव र प्रजातन्त्रको संवर्द्धन मेरो ध्येय हो, उद्देश्य हो र एक निष्ठ विचार हो। मलाई विश्वास छ- नयाँ समयको चुनौती थेग्न सक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पूरा हुनेछ । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । “समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽति न प्रियः ।” तर पनि मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ। यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ। त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ।

सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ। यस अवधिमा संसद्का सभामुख-अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आफ्ना दलका सबै साथी र समस्त जनतालगायत सबै माननीय सदस्यले मप्रति प्रकट गर्नुभएको सहृदय र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्छु र म आफ्नो पदबाट राजीनामा दिन अहिले नै ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन

गइरहेको कुरा माननीय सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी गराउँछु। (भट्टराईले प्रधानमन्त्री छँदा २०५६ चैत ३ गते प्रतिनिधिसभामा दिएको लिखित वक्तव्य)

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका