धारावाहिक लधु उपन्यास ‘एउटा मुसाकाे आत्मकथा’

भाग चार

योगीशकृष्ण

नयाँ आवासमा दोस्रो दिन 

विहानैदेखि चहल पहल सुरु हुन थाल्यो । अफिस सफा गर्ने दिदी भ्याकुम क्लिनरले कोठाहरू सफा गर्न थालिन् । क्यान्टिनका कर्मचारीहरू पकाईतुल्याईको सुरसारमा लागे ।गोरे हाकिमको कोठा अघिल्तिर मोटरसाइकल स्ट्याण्ड थियो । त्यसको छानामा बस्दा उसको कोठा देखिन्थ्यो । त्यहीँ बसेँ । अघिल्लो दिन उसको टेबलमा फोहर गरिदिएको थिएँ । त्यसको प्रतिकृया हेर्न  म आतुर  थिएँ । 

अरु कर्मचारीभन्दा ऊ अलि ढिलो आयो । हतार हतार गरेर कोठा खोल्यो । कुर्सीमा बस्नासाथ टेबलको  फोहर देखेर झस्कियोआम्मामा , हुँदा हुँदा मेरो कोठमा पनि मुसा छिरेछ । अब नसकिने भो । 

हल्ला सुनेर क्यान्टिनकी साहुनी उसको अघिल्तिर आइपुगिन् । उनले गरेको  नमस्कारको वास्तै नगरेर उसले भन्योमुसाले त आतङ्क मच्चाउन थालिसक्यो। हुँदा हुँदा मेरो कोठामा समेत पसेछ  । जानूस् त , सफा गर्ने दिदीलाई तुरुन्त बोलाएर ल्याउनूस् ।

हस्याङफस्याङ गर्दै दिदी आइपुगिन् । हाकिमले हपारेको शैलीमा भन्योअलि ध्यान दिएर काम गर्नूस् । जागिर धरापमा पर्ला । कोठा सफा गर्दा मुसा छ छैन, विचार गर्नुहोस् । मार्ने होइन नि । मरेको  मुसाले गर्दा कस्ता कस्ता रोग लाग्न सक्छ । यत्राविधि मानिस छन् , कसैको ज्यानमा तलमाथि पर्यो भने ?लु लु ,पैलेएउटा पोलिथिन ब्याग ल्याएर मेरो टेबलको फोहर हालेर राखिदिनुस् । भरे विशेषज्ञ आउने कुरा छ , उहाँलाई देखाउँला ।

गोरे हाकिमले कसैलाई फोन गर्योसर, आज मेरो टेबलमा  मुसाले फोहर गरेको रहेछ । हामीले यस विषयमा अझ बढी गम्भीर भएर अघि बढ्ने हो कि । सरले आकस्मिक स्टाफ मिटिङ कल गरेर सबैलाई सचेत गराउनु पर्छ होला ।

उताबाट के जबाफ आयो , त्यो त मैले सुनिँन । केही राम्रै उत्तर पाएको हुनुपर्छ , गोरे हाकिमको  अनुहार धपक्क बल्यो । क्यान्टिनमा गएर उसले तीस चालिस कप चिया हलमा ल्याउन आदेश दियो । हल त मैले अघिल्लै दिन देखेकै थिएँ । मोटे हाकिम बसेको कोठाको माथिल्लो तलामा । पहिले त मैले त्यही हलमा आफ्नो वासथलो बनाउने विचार गरेको थिएँ । पछि , आफ्नो रुचिको अर्कै थलो फेला परेको थियो ।

म सरासर हलतिर लागेँ । के गर्नु, भरेङ चढेर जानु डरमर्दो थियो । पछाडिबाट पाइप चढेर हलको फल्स सिलिङमा छिरेर बसेँ । एक छिनपछि कर्मचारीहरू आउन थाले । कसैले हातमा डायरी बोकेका थिए भने, कसैले ब्याग ।सबैमा एउटा समानता थियो । सबको अनुहार एकदम गम्भीर थियो. । सब चुपचाप थिए। 

दश पन्ध्र मिनेटपछि मोटे हाकिम आइपुग्यो । उसल ढिलो. आउनाको कारण प्रष्ट पार्योमसँग सात दिनअघि नै एक जना विदेशीले समय मागेको थियो । उसँग केहीबेर कुरा गर्दागर्दै अबेर भयो ।

उसकै पछिपछि आएकी एक जना महिला उसको कुरा सुनेर मुसुमुसु हाँसिरहेकी थिइन् । अन्य सबै कर्मचारी डायरीमा नोट गर्न तमतयार भए । मोटे हाकिमले चश्मा  लगाउँदै भन्योकतिपय कुराहरू हेर्दा सामान्य हुन्छन् , तर त्यसले धेरै असर पार्न सक्छ । समयमै ध्यान दिएन भने कतिपय समस्या दिन दुना, रात चौगुना भएर बढ्छ । अङ्ग्रेजीमा एउटा भनाइ छStich in time save nine । अब नेपालीमा यसलाई के भन्छन्, यस्तो खालको उखान छ कि छैन, मलाई थाहा छैन  । यसको मूल मर्म के हो भने , समयमै काम गर्दा जति सजिलो हुन्छ पछि गएर गर्दा धेरै कठिन हुन्छ । उसले छेउमा बसेकी महिलालाई भन्योमेरा लागि यति गरिदिनुस् न है । यो Idiom  को अर्थ के हो , उदाहरणसहित सबै स्टाफलाई मेल गरेर पठाइदिनुस् न है । ओके , लेट अस कम टु द प्वाइन्ट । उसले गोरे हाकिमतिर इशारा गर्दै भन्योउहाँले निकै तदारुकतासाथ के पत्ता लगाउनुभयो भने  हाम्रो अफिसमा मुसा रहेछ । अस्ति तार काटिदियो । हिजो उहाँको टेबलमा फोहर गरिदियो । हेर्दा सामान्य लाग्छ  । कुनै घरमा मुसा भेटिनु अति सामान्य कुरा हो । मुसा मार्ने औषधी हालिदियो , मार्यो । कुन ठूला कुरा हो । तर, गहिरो दृष्टिकोणका साथ हेर्ने हो भने यो सानो कुरा लागे पनि सानो होइन । हेर्ने दृष्टिकोण यत्तिकै बन्दैन । त्यसका लागि आफ्नो कामप्रति लगनशीलता , इमानदार,सूक्ष्म अन्वेषण गर्ने प्रवृत्ति चाहिन्छ । यी सबकुरा उहाँमा छ । म एक्लैले पूर्वदेखि सुदूरपश्चिमसम्मको एक एक खबर राख्न सक्छु र ? सम्भव नै छैन । उहाँबाट तपाईँहरू पनि केही न केही त सिक्नूस् । यस सन्दर्भमा मलाई लागेको केही महत्वपूर्ण बुँदाहरू यहाँ प्रस्तुत गर्दछु   

यति भनेर ऊ केही बेर चुप लाग्यो । शायद उसको कुरा कर्मचारीहरूले बुझे । आआफ्ना डायरीमा लेख्न थाले । उसले भन्योनम्बर १ , हामीकहाँ भएका विभिन्न अभिलेखहरूको लिखित प्रतिहरू मुसाका कारण असुरक्षित हुन सक्छन् । मुसाले काटेर नष्ट पारिदियो भने , के गर्ने ?  नम्बर २, मुसाका कारण हाम्रा कर्मचारीलाई  रोगव्याध सर्न सक्छ ।( यहाँ उसले के स्पष्ट पार्न खोज्यो भने ऊ कर्मचारी होइन, जे भए पनि कर्मचारीभन्दा फरक हो वा माथिल्लो जीव हो । उसले आफूलाई पनि कर्मचारीकै तप्कामा राखेको भएहामी कर्मचारीभन्दो हो)।नम्बर ३ , तपाइँहरूलाई थाहा छ कि छैन कुन्नि, ‘आइ डन्ट नो  मुसाको लिँड मानिसको पेटमा पर्यो भने खतरनाक जन्डिस समेत हुन्छ । यसमा तपाईँहरू सचेत हुन आग्रह गर्दछु ।नम्बर ४ , मुसालाई पिँजरामा कैद गर्न पनि सकिन्छ , मेरो जानकारीमा आएसम्म त्यसको सफलताको प्रतिशत भने एकदमै कम छ । त्यसमा भर पर्न सकिन्न । नम्बर ५, विष हालेर मार्न पनि नसकिने होइन । कुनै पनि विष त्यस्तो छैन, जो सबै खाले मुसा मार्न समान रूपले  काम लागोस् । हामीलाई के थाहा छैन भने हामीकहाँ भएको मुसा कस्तो खालको हो ।यस विषयमा आज दिउँसो एउटा बैठक बस्दैछौँ । उसले चारैतिर हेरिसकेपछि छेउमै रहेकी महिलालाई हेर्दै भन्योयस सन्दर्भमा कसैलाई केही भन्नु छ कि ? ”

उनले भनिन्सरले हेर्दा साधारण लाग्ने , यथार्थमा गम्भीर समस्याका विषयमा हामी सबैलाई जानकारी दिनुभयो । धन्यवाद सर । मुसाले दुख दिन थालेपछि उत्पातै गर्छ । कहाँबाट कसरी मेरो घरमा पनि अघिल्लो वर्ष मुसा छिेरेछ । राम्रा राम्रा लुगा छानी छानी काटिदिने भन्या । बैंककको इम्पोरियम मलमा मैले जिन सुट किनेकी थिएँ । कस्तो राम्रो फिटिङ् थियो । अँ त , उहाँ सर पनि किन्ने बेलमा सँगै हुनुहुन्थ्यो । उहाँले चुज गरिदिनुभएको हो । मुसाले काटिदिएछ । कति दिनसम्म मेरो मुड खराब भयो ।  अलि दिनपछि मेरो एकदमै मिल्ने साथीलेगडाइभा चकलेटउपहार दिएका थिए , टोक्दै छाड्दै गरेर नाश गरिदियो । । घरमा त थोरै मानिस हुन्छन् , विष हालेर मारिदिँदा पनि केही फरक पर्दैन । यहाँ त यत्राविधि कर्मचारी छन् । तिनको सुरक्षाको चिन्ता हामीले नगरे कसले गर्ने? ( यिनले पनि आफूलाई कर्मचारीमा  सामेल गराइनन्।)। काम परेर कतिपय कर्मचारी रातबिरात यहीँ बसेर काम गर्छन् । कथंकदाचित त्यो विष कसैको पेटमा पुग्यो भने कत्रो दुर्घटना हुनसक्छ , विचार गरौँ । अफिसको कत्रो बदनामी हुन्छ । हाम्रो दक्षतामाथि प्रश्न उठ्न सक्छ । यस्तो गम्भीर विषयमा त सरले नै उचित कदम चाल्नुपर्छ जस्तो लाग्छ ।

यसपछि अर्को एकजना बोल्न थाल्यो । उसलाई देख्नासाथ डरले मेरो सातो उड्यो । आँखा कुहिरो थियो , विरालोको जस्तै ।उसले भन्योम्यामले महत्वपूर्ण कुरा उठान गर्नुभयो । हामीबाट भन्दा पनि सरबाट नै यो समस्याबाट मुक्ति मिल्न सक्छ । हामीले के गर्न सक्छौँ भने बिहान आउनासाथ र बेलुका अफिसबाट जानेबेलामा आआफ्नो कोठामा लठ्ठीले ठाकठुक पारेर मुसा भगाउने । मुसालाई हान्नु पनि भएन । ठहरै भए त ठिकै छ । अरु कुनै ठाउँ गएर मर्यो भने अर्को आपत । कुहिएर रोगव्याध लाग्ने डर । सरले बीस पच्चीस थान प्वाइन्टर स्टिक मगाइदिनुपर्यो । एकआध घण्टा चाँडो आउने , एकआध घण्टा ढिलो घर फर्किने ।

उसको कुरा सुनेर दुवै हाकिम प्रसन्न देखिए । गोरे हाकिमले तत्कालै फोन गर्योरेट सेटको मलाई मतलब छैन । जतिसक्दो चाँडो पचास थान जति प्वाइन्टर स्टिक हुन्छ नि , ल्याइदिहाल्नूस् ।

( धारावाहिक लघु उपन्यासएउटा मुसाको आत्मकथापाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क ः  [email protected])

एउटा मुसाको आत्मकथा भाग १

एउटा मुसाको आत्मकथा भाग २

एउटा मुसाको आत्मकथा भाग ३ 

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !