धारावाहिक लधु उपन्यास ‘एउटा मुसाको आत्मकथा

भाग पाँच

योगीशकृष्ण

चालीस पचासेक कर्मचारी भएको अफिस रहेछ । थरिथरिका । मैले खासगरी दुईजना कर्मचारीमा मात्र ध्यान दिएको थिएँ । पहिलो गोरे र अर्को मोटे । कसैको शारीरिक गठनका आधारमा नामकरण गर्नु उचित  होइन  । बसोबास, छालाको रंग, भाषा, शरीरका आधारमा जथाभावी अमानवीय व्यवहार  गर्ने काम मानिसले पो गर्छ । म  मुसा भएर पनि त्यही बाटोमा थाहै नपाई लागेछु । अबदेखि  गोरे हाकिमलाई एक नम्बर हाकिम र मोटे हाकिमलाई दुई नम्बर हाकिम भनेर सम्बोधन गर्ने विचार गरेँ । कर्मचारीहरू खासखुस खासखुस गरिरहेका थिए । हाकिम नम्बर एक फोनमै व्यस्त थिए । दुई नम्बर हाकिम छेउमै बसेकी म्यामसँग केही कुरा गर्दै  थिए । छ्यास्स छयास्स मेरो नाम मेरो कानमा परिरहेको थियो ।

यत्तिकैमा चिया आइपुग्यो । हाकिम नम्बर दुईले उठ्दै छेउकी महिलालाई भन्यो “म्याम, तपार्इँले पठाउनुभएको ‘रिपोर्ट’ आज ‘फाइनल’ गर्नु छ । बरु चिया उतै पिउने हो कि । ”

लुगा सम्याउँदै म्याम पछि पछि लागिन् ।कर्मचारीहरूको आवाज अलि ठूलो हुन थाल्यो । केही भने खासखुस गर्दै थिए ।  म ध्यानपूर्वक सुनिरहेको थिएँ । उनीहरूको कुरा सुनेर लाग्दथ्यो – संसारमा सबैभन्दा ठूलो समस्या भनेकै मुसा हो । मुसाले जस्तो दुःख मानिसलाई कसैले दिँदैन । मुसा मार्ने एक से एक उपायको वर्णन त्यहाँ भइरहेको थियो । जस्तोसुकै मुसालाई समात्ने उपाय पनि त्यहाँ कसै कसैले बताउँदै थिएँ ।  म एउटा कुरामा के ढुक्क भइसकेको थिएँ भने यिनीहरूले मलाई मार्न त कुनै हालतमा मार्नेवाला छैनन् । पक्रनेसम्म न हो । तापनि सचेत त हुनैपर्यो ।

यत्तिकैमा प्वाइन्टर लिएर ‘सप्लायर’ आइपुग्यो । उसले स्याँ स्याँ गर्दै भन्यो “सर, मसँग थिएन । चारतिरबाट जम्मा गरेर ल्याएँ । यहाँ चालिस थान छ । राम्रो छ सर । कतिपय विद्यालयमा विद्यार्थीहरूलाई अनुशासनमा राख्न यही किनेर लग्छन् ।”

अचम्म लाग्यो– कस्तो अनुशासन होला त्यो, जसलाई कायम गर्न लठ्ठीको आवश्यकता पर्ने । मतलब त यही न हो –लठ्ठी छ, अनुशासन छ । लठ्ठी छैन, अनुशासन पनि छैन । मलाई लठ्ठीभागी विद्यार्थीप्रति दयामाया जागेर आयो । मलाई गर्व पनि लाग्यो –जुन बस्तु विद्यार्थी सुधार्न प्रयोग हुन्छ , त्यही बस्तु मेरा लागि उपयोगी रहेछ ।

हाकिम नम्बर एक र सप्लायर कुरा गर्दै थिए । सप्लायरले मसिनो स्वरमा भन्यो“ सर, बिल ६० थान स्टिकको बनाएर ल्याएको छु । सरले साइन गरिदिनु पर्यो ।”

हाकिम नम्बर एक मुसुक्क हाँसे। त्यो हाँसोको अर्थ नल्याइएको बीस थान सामानसँग सम्बन्धित रहेको बुझ्न सकिन्थ्यो । सामान बुझेको भरपाइ गरिदियो । उपस्थित सबैलाई एक एक थान स्टिक लिन अनुरोध गर्यो । म तीस चालिस ग्रामको मुसालाई भगाउन पचासेक किलोका तीस चालिस जना मानिस जमजमाएर हिँडे । बिरालोजस्तो आँखा भएको हाकिम (अब हाकिम तीन नम्बर) त्यहीँ बस्यो । झ्यालतिर केही बेर ठ्याकठुक गरेपछि सिलिङतिर लठ्ठी सोझ्यायो । म लुकेको ठाउँतिर पनि हेरेको थियो । तर मलाई देखेन । कोठा सुनसान भयो । ऊ मोबाइल चलाउन थाल्यो । बेला बेलामा मुस्कुराउँदै थियो । एकछिन पछि उसको फोनको घण्टी बझ्यो । उताबाट के सोधे कुन्नि उसले भन्यो “ के गर्नु ? भाग्यको खेल । आफ्नो भाग्यमा कामबाहेक केही छैन । जतिखेर कामै काम । कमैया भइएको छ । कमाउने कसका लागि भन्दा त अरुका लागि । कति दिन यसरी बिताउने हो । ”

उसले आधा घण्टाजति गफ गर्यो । चाल मारेर बिस्तारै भरेङ ओर्लियो ।म उसको पछि पछि लागेँ । ऊ यति सोचमग्न थियो कि मेरो उपस्थिति उसले चालै पाएन । हाकिम नम्बर दुईको कोठमा छिर्यो । म्याम र हाकिम सँगसँगै बसेर रिपोर्ट तयार गर्दै थिए । रिपोर्टमा रमाइलो कुरा हुँदो हो , दुवै जना बेलाबेलामा मुस्कुराइरहेका हुन्थे । हाकिम नम्बर तीन अनकनाउँदै फर्किन लागेको थियो , दुई नम्बर हाकिमले देखेर बोलायो । बैठक कक्षमा बस्नू भनेर आदेश दियो । म्याम र ऊ दुवै बैठक कक्षमा गए । हाकिम नम्बर तीनले अलि सानो स्वरमा भन्यो “सर, यो मुसाको कुरा छ नि यत्ति सजिलो छैन जस्तो लाग्छ । साथीहरूले गम्भीरतपूर्वक जिम्मेवारी बहन गर्लान् जस्तो लागेन । ”

दुई नम्बर हाकिमले भृकुटी खुम्च्यायो “ मलाई पनि त्यस्तै लाग्यो । साह्रै दिक्क लाग्छ । उहाँ म्यामसँग अघि त्यही कुरा छलफल गरेर बसेको । यस विषयमा केही महत्वपूर्ण निर्णय गर्ने विचार गरेको छु  । तपाईँसँग पनि सल्लाह गर्ने विचार थियो नै । ”

हाकिम  नम्बर तीनले भन्यो “ मैले सबको काम हेरेँ । स्टिकले यसो टेबल ठाकठुक पारे । अनि सब गफ गरेर बसे ।काममा ‘सिरियसनेस’ नै छैन । जागिरे प्रवृत्ति , यसो काम गरेजस्तो गर्यो, दिन काट्यो । मुसाको कारणले यत्रो समस्या उत्पन्न भएको छ , त्यसबाट कस्तो कस्तो नकारात्मक परिणाम आउन सक्छ , त्यसको एक रत्ति ख्याल र्छैन, साथीहरूलाई । सोच्दा पनि मेरो मुटु काँप्छ । ”

म्यामले उसको कुराको समर्थन गर्दै भनिन् “मैले पनि अघिदेखि सरसँग यही विषयमा छलफल गर्दै थिएँ । यसरी चुपचाप बसेर हुन्न । कडाइका साथ केही कदम चाल्नै पर्छ । भनाइ नै छ नि – सपना पूरा गर्ने कुनै जादू छैन । यसका लागि पसिना बगाउनु पर्छ , दृढतापूर्वक मेहनत गर्नुपर्छ ।”

म्यामको कुरा सुनेर हाकिम नम्बर दुई गदगद भयो “ तपाईँका अभिव्यक्तिहरू कति गहन र मार्मिक हुन्छन् । तपाइँका यी भनाइ प्रिन्ट गरेर हरेक कोठा कोठमा राख्नुपर्ला जस्तो छ ।”

हकिमको कुरा सुनेर म्याम लजाएजस्तो गरिन् “ त्यसो गर्न त हुन्न सर । सरले अनावश्यक फेभर गरेजस्तो हुन्छ । सरले यति सोच्नु भयो , त्यो नै मेरा लागि अमूल्य छ । ”

दुई नम्बरी हाकिमले भन्यो “ म एउटा कुरामा के क्लियर छु भने जे गर्ने हो ,हामी तीनचार जनाले नै गर्ने हो । अरुबाट केही काम होला भन्ने मलाई लागेकै छैन । हामी तीन जना र एक नम्बर हाकिमसहितको एउटा ‘कोर टीम ’ बनाएर काम गर्ने अब । नत्र नसकिने भयो । कामै हुन्न , अनि के गर्ने ? यही मुसाकै कुरा गरौँ न । अघि मैले बोल्दा कति जनाले नोट गरे होलान् र ?  मलाई लाग्छ आधाले गरे होलान्  ।”

हाकिम नम्बर तीनले बिचमै भन्यो “ कहाँ आधा नि सर । त्यति भएको भए त उत्पात हुन्थ्यो नि । मैले एक एक गरी हेरेका थिएँ –जम्मा पाँच जना थिए । सर, फलानो र ढिस्कानो त डायरीमा नोट गरेजस्तो गरेर सरको कुरा काटेर बसिरहेको थिए । अझ म्यामको विषयमा बोलेको सुन्दा त मलाई तिनको बङ्गारा झारिदिउँ जस्तो भएको थियो । के गर्नु , नहुने भएर पो ।”

उनको कुरा सुनेर म्यामले  अनुहार अँध्यारो बनाउने प्रयास गर्दै भनिन् “ सर, मैले पनि गाइँगुइँ नसुनेको कहाँ हो र ? मलाई आफ्नो कर्तव्य प्यारो छ । जसले जेसुकै भनोस् , मलाई मतलब छैन । उहाँ सरले सबैको मूल्याङ्कन गर्नुभएकै छ नि ।

हाकिम नम्बर दुईले नरम स्वर पारेर भन्यो “म्याम , तपाईँ चिन्ता नगर्नूस् । तपाईँको विषयमा कुरा गर्नेलाई मैले जानेको छु । समय आउन दिनोस् । तिनको खैरियत छैन । अब यो मुसाको विषयमा पनि एउटा बेग्लै टिम बनाउने हो । यसको कोर्डिनेट म्यामले गर्नुहुन्छ । तपाइँहरूले म्यामलाई सहयोग गर्नुस् । म्यामले योजना बनाउन हुन्छ । यसका लागि तपाइँहरूले तलबको बीस प्रतिशत र म्यामलाई सयोजक भएबापत चालीस प्रतिशत भत्ता दिने व्यवस्था गर्छु । यसबाट अरु कर्मचारीले पनि काम गर्न प्रोत्साहन पाउने छन् । ”

म्यामले कस्तो योजना बनाउने हुन् कुन्नि । मलाई चिन्ता लाग्न थाल्यो ।

(​धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क [email protected]

एउटा मुसाको आत्मकथा भाग १

एउटा मुसाको आत्मकथा भाग २

एउटा मुसाको आत्मकथा भाग ३ 

एउटा मुसाको आत्मकथा भाग ४

 

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका