गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

आजभोलि

काठमाडौं । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् ।

कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरामा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएपछि पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच जना स्टाफ नर्स सहयोग गरेको छ ।

केही दिनअघि नेलम्बोले सरुवा तथा सङ्क्रामक अस्पताललाई समेत चार जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो । स्वास्थ्यकर्मी अधिकतम मात्रामा सङ्क्रमित भइरहेको अवस्थामा स्वास्थ्य अस्पतालमा बिरामीको उपचारमा स्वास्थ्यकर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहजरुपमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी छ महिनाको लागि पाँच जनाको स्वास्थ्य जनशक्ति सहयोग गरिएको नेलम्बोले जनाएको छ ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा आइतबार नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । अध्यक्ष देवकोटाले हाल कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव नहोस र बिरामीको उपचारमा सहयोग गर्नका लागि जनशक्ति सहयोग गरिएको बताउनुभयो । जनशक्ति सहयोगबापतको सबै खर्च नेलम्बोलेनै गर्ने बताइन्छ ।

प्रतिष्ठानका निर्देशक डा खत्रीले नेलम्बो नेपालले कोभिड–१९ सम्बन्धी सुरुआती चरण देखिनै कोरोनासँग जुध्न र जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएकामा आभार व्यक्त गर्नुभयो । पछिल्लो केही दिनयता सङ्क्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा मानवीय सेवाको कार्य गर्ने नेलम्बोको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !