एउटा मुसाको आत्मकथा

नयाँ कसमको सिर्जना

योगीशकृष्ण

भाग सात

साढुभाइजीले  हाकिम नम्बर दुईतिर हेर्दै अघि भनेकै कुरा दोहोर्याएदाइ, आज हामी तपाईंका लागि भनेर मात्र आएको हो । तपाईंको लागि म जे  पनि गर्न सक्छु । भन्नूस् न मात्र ।

इतिहासको सहप्राध्यापक भए पनि  मुसा विशेषज्ञको रूपमा उपस्थित हुँदा  उसले कुनै अपठ्यारो अनुभूत गरेजस्तो देखिएन । मैले पत्रिकामा प्रकाशित  केही समाचार सम्झिएँ । ओली सरकारले बामदेव गौतमलाई राष्टियसभा सदस्यमा विज्ञका रूपमा नियुक्त गर्ने निर्णय गर्यो । उनी कुन विषयका विज्ञ थिए, निर्णय गर्ने बैंठकमा कसैले सोधपुछ गरेन । नियुक्त गर्नेलाई पनि मतलब भएनउनी कस्ता  विज्ञ हुन् ? सञ्चार माध्यमहरूले नियुक्तिको समाचार प्रसारण गरे , तर उनको विज्ञता कुन विषयको हो , कसैले प्रश्न उठाएन । यो पनि हुन सक्छ , सबलाई थाहा भएको होस् कि यिनी विज्ञसिज्ञ केही होइनन् । कसैका मतलब साध्य गर्न विज्ञ बनाइएका हुन् । संविधानमाविज्ञशब्दको प्रयोगले गर्दा उनलाईविज्ञशब्दको प्रयोग गर्नु  सरकारको बाध्यता थियो ।  विधिको सरकार न हो ।सरकारले विज्ञ भन्यो, सबले मानिदिए । सरकार शक्तिशाली हुन्छ , उसले विज्ञ भनिदिएपछि पुगिहाल्यो ।  विधिको त सम्मान गर्नै प¥यो    विज्ञहरू मुलुकमा भरमार छन् । हरेक गल्ली ,हरेक सडक र हरेक मोडमा एक से एक विज्ञहरू भेटिन्छन् , जसले वातावरणको समस्यादेखि अन्तराष्ट्रिय मुद्दाहरूको समेत एक मिनेटमा समाधान निकालिदिन्छन् ।केवल सरकारी मान्यताको खाँचो मात्र छ । कसको कतिखेर भाग्य फिर्ने हो, त्यसको के ठेगान ।

मलाई नरायण ढकालको  एउटा संस्मरणको पनि सम्झना भयो । पञ्चायतकालको कुरा । दलहरू भूमिगत तवरले आफ्ना काम गरिरहेका थिए । पार्टीको सहयोगका लागि लेखकपत्रकारले पत्रिका सञ्चालन गर्दै आएका थिए । अचानक पार्टीको निर्देशानुसार देवी ओझा पत्रिकाको नेतूत्वकर्ता बनाइए, झलनाथ खनालको आदेशमा । सम्पादकको जिम्मेवारी निर्वाह गरिरहेका ढकालले ओझासँग उनको  पत्रकारिताको अनुभव बारे सोधपुछ गरेछन् ।

अनुभव नभए तापनि पार्टीको आदेशबमोजिम आफू  जेपनि गर्न तयार रेहेको कुरा ओझाले व्यक्त गरेपछि  पार्टीले भन्यो भने हवाइजहाज पनि चलाउन जानुहुन्छभनेर ढकालले  प्रतिप्रश्न गरेछन् ।  केही वर्षपछि  पछि ओझा शिक्षा मन्त्री भए भने खनाल प्रधानमन्त्री । त्यही मुलुकको विश्वविद्यालयका इतिहासका सहप्राध्यापक मुसा नियन्त्रण गर्ने प्रयोजनका लागि मेरा सामुन्ने उपस्थित थिए  । मानिसको योग्यता उसलाई कुन र कस्तो शक्तिको समर्थन प्राप्त छ, त्यसले निर्धारण गर्दो रहेछ । शक्ति छ वा शक्तिशालीको समर्थन छ भने जस्तोसुकै मूर्ख पनि विद्ववानमा दरिन सक्छ । हाकिम नम्बर दुईको साढुभाइ हुनु नै यिनको सबैभन्दा ठूलो योग्यता थियो । त्यही योग्यताको बलमा उनी मुसा विशेषज्ञका रूपमा उपस्थित थिए । मानिसहरूको मुख्य विशेषता नै यही रहेछ ।

मैले  कुरा गर्ने मानवशैली ( मानवशैली अलि भन्न नमिल्ला , नेपाली मानवशैली ) बुझिसकेको थिएँ । कुन प्रयोजनले भेट्न आएको हो, त्यो विषयको प्रवेश सरल र सहज तवरले हुनै सक्दैन ।  त्यस्तै यहाँ पनि भयो । हाकिम नम्बर दुईले साढुभाइतिर हेरेर सोधेअरु के छ त खबर ?” 

साढुभाइजीले आफ्नो साथीको अनुहारतिर हेर्दै निराश स्वरमा उत्तर दिएके हुनु नि दाइ, हामीजस्ताको यो मुलुकमा । बल्ल बल्ल स्थायी भइयो । त्यसका लागि पनि कत्रा कत्रा आन्दोलन र सङ्घर्ष गनुपर्र्यो ।अब हेर्नूस् न, यत्रो अनुभव भइसक्यो बढुवा हुन नानाभाँतिका नौटंकी छन् । किताब लेखेको हुनुपर्ने, पिएचडी गरेको, अन्तवार्ता आदिइत्यादि दुनियाँभरका झमेला । यति वर्ष काम गरेपछि सहप्राध्यापक बनाएजस्तै सोझै प्राध्यापक बनाए त भइगयो । कसको बाउको के जान्थ्यो ? माथि आफ्नो मानिस नभएपछि राम्रो ठाउँ कहिल्यै नपाइने । विद्यार्थी छैनन् , तैपनि दैनिक हाजिरी गर्न जानै पर्ने । दशौँ वर्ष भइसक्यो यही लिला छ । आफन्तका कृपाले केही वर्ष प्रशासनिक काम पाइएको थियो , त्यही बेला घरघडेरीको व्यवस्था भयो, नत्र चिल्लै हुने नि दाइ । राजनीतिले खत्तम पारिसक्यो नि सब कुरा ।सबतिर चौपट छ ।राजनीतिमुक्त विश्वविद्यालय नभइन्जेल यस्तै हो ।

केही नबोलेर चुपचाप बसिरहेको विश्वविद्यालयका अर्का सहप्राध्यापकले मुख खोलेअब हाम्रो पार्टीको एकल  सरकार बन्यो भने हामीले पनि जानेका छौँ ।त्यतिबेला सबको एकएक हिसाब हुन्छ । हाम्रै कारणले सबले बिना परीक्षा एक झमोटमा स्थायी हुन पाएका थिए । आज हाम्रो योगदानको कुनै कदर नै छैन । अत्याचारको हद भइसक्यो ।अब भने सहने स्थिति रहेन । सहिन्न पनि ।उनको अनुहार रातो भयो ।

सही हो ।  विचराहरूले सङ्घर्ष त उत्पातै गरेका हुन् । तालाबन्दी, घेराबन्दी,नारा जुलुस र यदाकदा तोडफोड । धन्य हुन् ती विद्यार्थी जसले किताबी जानकारीमात्र होइन, यस्ता जीवन उपयोगी  ज्ञान पनि एउटै थलोमा पाउने अवसर पाइरहेका छन्  । मैले समाचारमा पढेको थिएँकम अङ्क दिए भनेर विद्यार्थीहरूले विश्वविद्यालयमा आन्दोलन गरेका थिए । गुरुले दिएको ज्ञानको यस्तो अनुपम प्रयोग शायदै अन्यत्र कतै भएको होला । यी भन्दा धन्य त ती हुन् , जसले यस्तो अवस्थाको सिर्जना गरिरहन्छन् र स्थायी समस्या बनाइराख्छन् । आवश्यकता अनुसार  दरबन्दी कायम नगर्दा शक्तिको चलखेल, राजनीतिक तलबितल गर्ने अवसर प्राप्त भइरहन्छ ।  आफ्ना नातेदार , कार्यकर्ता आदिलाई मनालागी रोजगार दिन पाइयो ।चाकडी त स्वतः पाइने नै भयो, यसबाहेक द्रव्यलाभको बन्दोवस्त पनि हुने संभावना । मेरो पुरानो आवासका मालिक कबाडी साहुकै शैलीमा भन्ने हो भने  जो मजा इसमे है , वह और कहाँ ?” सब मजासँग  मजा मारिरहेका थिए ।

हाकिम नम्बर दुई चुपचाप आफ्नो साढुभाइको कुरा गम्भीरतापूर्वक सुनिरहेको थियो  । उसका सहकर्मीहरू  त झन् बढी गम्भीर देखिन्थे । उसले लामो सास फेरेर म्याडमतिर हेर्दै भन्योअब हेर्नूस् । यो देशका माथिल्लोलेवलकाइन्टेलेक्चुअलहरूमा यत्रोफ्रस्टेसनछ । चारैतिर भ्रष्टाचार , नातावाद, कृपावाद, मनपरितन्त्र चलिरहेको छ । अनि यस्तो अवस्थामा यो देश कसरी अघि बढ्छ ? हँ , यो देशकोफ्यूचरनै छैन । उसले साढुभाइ र उसको साथीतिर हेरेर भन्योधन्य, तपाईँहरू कसरी यो मुलुकमा बसिरहनुभएको छ ।आइ साल्यूट योर फिलिंग  यार  रियल्ली, यु पिपुल आर ग्रेट। म त सक्दिन यार । मैले त मेरो छोरालाईयुएसतिर पठाउने विचार गरिसकेँ । यस्तो देशमा बसेर के गर्ने ? काम गर्नेइन्वायरमेन्ट  नै छैन यहाँ । अनि यो देश कहिले उँभो लाग्छ ?”

उसको कुरा सुनेर मेरो हाँस्यो फुट्यो । टाउको  मास्तिर फर्काएरु खित्काएको के थिएँ , साढुभाइजी मलाई देखेर चिच्याए, मुसा ।

मुसा भनेको सुन्नासाथ हाकिम नम्बर तीन स्टिक समातेर जुरुक्क उठ्योखोइ, कहाँ छ मुसा ? ”  मानो ऊ सेनापतिको आदेशमा शत्रुको  शीरछेदन गर्न तत्पर सिपाही हो ।

हाकिम नम्बर दुई भाइतिर हेरेर हाँसेभाइले आज दिउँसै हल्का फुल्का  दियो जस्तो छ नि , क्या हो ?

साढुभाइले हाँस्दै उत्तर दियोदाइ पनि । खोइ, कहिलेको के हो । ब्यागमा आधा क्वार्टर भेटियो ।कहाँ सिसी बोकेर हिँड्ने भनेर  दुइभाइ मिलेर निट हानिदिएको ।एक छिन त भाउन्न भयो  । के गर्नु ? दिग्दारी छ । त्यसमाथि हेर्नु न दाइ, दुइ हप्ता भइसक्यो कहिले हारेको छ , कहिले साउँ मात्र उठेको छ । पत्तिले पनि साथ दिँदैन दाइ । के भएको हो यस्तो ? त्यही झोकमा लगाइदिएको हो । मैले मुसा त देखेकै हो । त्यही मुसाको कसम दाइ ।

कसम नै खानु थियो भने अरु कसैको खाए भइहाल्थ्यो नि । मेरै कसम किन खानुपर्ने नि । उसलाई आफैले खाएको कसम खुब मन परेछ । हाँस्दै फरक फरक लयमा दोहर्याउँदै गयो  मुसा कसम , मुसा कसम मुसा कसम ।

सबै जना गलल्ल हाँसे । हाकिम नम्बर दुईले दङ्ग पर्दै भने “ ‘इन्टेलेक्चुअलहरूले मजाकमजाकमा पनि सिर्जना नै गर्छन् । ल हेर्नूस्, नयाँ कसम को सिर्जना भयो, मुसा कसम । सुन्दा नै कस्तो  चार्मिङ।लाग्छ  मुसा कसम । मुसा कसम ।

उनका सहकर्मीहरू सबैले सासानो स्वरमा दोहोर्याएमुसा कसम , मुसा कसम ।एकछिन कोठामामुसा कसमकोरस झैँ गुञ्जियो । सबै जना  चुप लागिसकेपछि  पनि म्याडम भने चोपारे स्वरमा  भन्दै गईमुसा कसम, मुसा कसम ।उसले हिन्दी सिनेमाको गीतसनम तेरी कसमको धुनमामुसा मुसा कसम गुनगुनाउन थाली ।

हाकिम नम्बर दुईले भन्योवाउ , कस्तोस्वीटकसम । यार यो कसम तम्यूजिकलटाइपको पनि रहेछ । हंहंहं मुसाााा कस्सअअम । मुस्साा कसम । मजा आयो । आज कस्तोफ्रुटफुल मिटिंङभयो । आइ एम रिएल्ली प्लिज्ड । थ्यान्कयू गाइज ।

यिनीहरू गफ्फिन थालेको  एक घण्टा जति भइसकेको थियो  । त्यो बैंठक के का लागि बोलाइएको थियो, त्यस विषयमा चर्चा नै सुरु भएको थिएन । एउटास्वीटकसमको सिर्जना भएकामा सबै जना प्रसन्न देखिन्थे ।

(धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क [email protected] )

एउटा मुसाको आत्मकथा भाग १

एउटा मुसाको आत्मकथा भाग २

एउटा मुसाको आत्मकथा भाग ३ 

एउटा मुसाको आत्मकथा भाग ४

एउटा मुसाको आत्मकथा भाग ५

एउटा मुसाको आत्मकथा भाग ६

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !