श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

आजभोलि

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ ।

दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो रु हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता छ ।

सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदुरीमै व्यस्त हुनुहुन्छ । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्नुहुन्छ । आइतबार परेको मजदुर दिवसबारे आफू पनि बेखबर रहेको उहाँले बताउनुभयो । “श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याई छ । मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उहाँलाई जानकारी भए पनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको उहाँ बताउनुहुन्छ । यसैले आज पनि काममै ब्यस्त हुनुहुन्छ उहाँ । उहाँ यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आउनुभएको छ । उहाँको दैनिक ज्याला रु ७५० छ ।

उहाँ भन्नुहुन्छ, “एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेरमात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिँदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै प¥यो ।” श्रमिक दिवस मनाइरहँदा समयानुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उहाँको अनुरोध छ ।

रामपुर नगरपालिका–७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । दैनिक आठ घण्टा खटेर काम गरेवापत रु ७५० ज्याला पाउनुहुन्छ । रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिनुभएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन ।

सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उहाँ गुनासो गर्नुहुन्छ । चुनाव आएसँगै नेता, कार्यकर्ताले उहाँलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदुरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उहाँ बताउनुहुन्छ । “हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महङ्गी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुप¥यो, निरन्तर काम पाए भयो”, उहाँले भन्नुभयो ।

निस्दी गाउँपालिका–४ मित्यालका १७ वर्षीय खुमबहादुर खाम्चा आइतबार घरको गारो लगाउने, सिमेन्ट बोक्ने काममा व्यस्त देखिनुहुन्छ । मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उहाँलाई भने दिनभर काम गरेको ज्यालाले घरमा बिहान–साँझ खाद्यान्नको जोहो पुग्छ भन्नेतिर मात्रै ध्यान छ ।

पारिवारिक अवस्था नाजुक हुँदा कक्षा ६ मा अध्ययन गरिरहेका उहाँ बीचमै छाडेर विभिन्न ठाउँमा घर भवन, पुल पुलेसा, सडक निर्माणलगायतका क्षेत्रमा दैनिक मजदुरी गरी बुझेको ज्यालाबाट घर धान्नुपर्ने बाध्यता छ । सरकारले श्रमिक मजदुरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदुर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उनीहरूको गुनासो छ– उहिलेको ज्याला अहिले छ, तर महङ्गीको हिसाब गर्ने हो भने दैनिक ज्यालाले खानलाउनै पुग्दैन ।

आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनलाई उत्सवका रूपमा मनाइने पर्व हो आज । विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर मजदुर दिवस मनाइन्छ । तर खास मजदुरी गर्ने वर्ग भने यो दिवसबाट नेपालमै पनि बेखबर रहने गर्दछ ।

देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू भने श्रममै रहन्छन् र बेखबर हुने गर्दछन् । यहाँका लाखौँ श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् । त्यसैले यो वर्गका श्रमिकले आजका दिनको बिदा या सुविधा पाउँदैनन् । यसरी जसको अधिकारका लागि सरकारले सार्वजनिक बिदा नै दिएर पर्वको आयोजना गर्छन् ती श्रमिक आज पनि श्रममै रहन्छन् ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !