भैरहवामा गोल्डस्टारको कारखाना खोलिंदै

आजभोलि

काठमाडौं । हेटौंडा, वीरगञ्ज, जितपुरलगायत स्थानमा खुलिसकेका कारखाना बन्द गरेको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार उत्पादन गर्ने किरण शुज म्यानुफ्याक्चरर्सले रूपन्देहीको भैरहवामा नयाँ कारखाना खोल्ने भएको छ । ७० प्रतिशतबाट ३० प्रतिशतमा झरेको भारततर्फको जुत्ता निर्यात अंश बढाउने लक्ष्यसहित कम्पनीले भैरहवामा ६० करोड रुपैयाँ लगानी गरेर कारखाना सञ्चालन गर्न लागेको हो । कम्पनीले ७ बिगाहा जग्गामा कारखाना सञ्चालन गर्नेछ ।

भैरहवाको कारखानाबाट ३ महीनाभित्र जुत्ता उत्पादन शुरू हुने बताइएको छ । ४० वर्ष पुरानो उद्योगको उत्पादन गोल्डस्टार भारत निर्यात हुन थालेको ३० वर्ष भइसकेको छ । पछिल्लो समय भारततर्फको निर्यातमा उल्लेख्य कमी आएपछि सोही बजारलाई लक्ष्य गरेर सीमावर्ती शहर भैरहवामा नयाँ कारखाना खोल्न लागेको कम्पनीका कार्यकारी निर्देशक ब्रान्डिङ एन्ड मार्केटिङ विदुषी राणाले जानकारी दिइन् ।

‘भैरहवामा ठूलो कारखाना सञ्चालन गर्दै छौं,’ राणाले भनिन्, ‘अबको १र२ महीनामा ५० प्रतिशत काम सकिनेछ । काठमाडौंका केही मेशिन भैरहवा सार्ने तयारी छ ।’

अहिले ६० करोड रुपैयाँसम्म लगानी भइसकेको र पछि लगानी थप्दै जाने राणाले जानकारी दिइन् । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले लगानी विस्तारबारे पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । राणाका अनुसार अहिले भैरहवामा एउटा भवनमात्रै बनेको छ । त्यसैबाट उत्पादन शुरू गर्ने तयारी छ ।

कारखाना बन्द गरेपछि कम्पनीले काठमाडौंबाट मात्रै जुत्ता चप्पल उत्पादन गरिरहेको छ । कुनै समय ११ पुगेको कारखाना संख्या घटेर अहिले ४ मा सीमित भएको छ । पहिला नेपालमा जुत्ता उद्योग यो मात्रै भएकाले विभिन्न ठाउँमा कारखाना खोल्नुपरेको थियो ।

त्यसबेला जुत्ताको माथिल्लो भाग, धागो, सोलजस्ता सहायक वस्तु आफै बनाउने हुँदा कारखाना धेरै थिए । ती कारखाना बन्द गरेको किरण शुजको मुख्य कारखाना काठमाडौं, महाराजगञ्जमा छ । त्यही कारखानाले गर्दा उक्त ठाउँलाई चप्पल कारखानाको नामले चिनिन्छ ।

काठमाडौंकै नीलोपुल, बालाजु औद्योगिक क्षेत्र र महाराजगञ्जमै थप अर्को गरी अहिले चारओटा कारखाना सञ्चालनमा छन् । यी कारखानाको दैनिक उत्पादन क्षमता १ लाख जोर भए पनि अचेल २५ प्रतिशत क्षमतामा मात्रै चलिरहेको राणाले जानकारी दिइन् ।

ती कारखानामा इटालीबाट ल्याइएका १८ ओटा ठूला मेशिन छन् । इटालियन प्रविधिबाट जुत्ता चप्पल बनाउने उद्योगका केही मेशिन भैरहवा लगिनेछ । भैरहवाबाट भारत निकासी सहज र नजिक पर्ने भएपछि त्यहाँ कारखाना सञ्चालन गर्न लागेको राणाले बताइन् ।

चर्चित हात्तीछाप चप्पल उत्पादक यो उद्योगले प्रत्यक्ष रूपमा ३ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । कारखानामा काम गर्ने कामदारमा ७० प्रतिशत महिला छन् । उद्योगले ३ महीना निःशुल्क तालीम दिएर रोजगारी दिएको राणाले जानकारी दिइन् ।

‘२०७२ वैशाखको भूकम्पपछि कामदारहरू आआफ्नो गाउँघर जाँदा ६ महीनासम्म उद्योग नै बन्द गर्नुपरेको थियो,’ राणाले भनिन्, ‘त्यसपछि कारखाना खोल्ने क्रममा भारतको नाकाबन्दी, नोटबन्दी र जीएसटी लागू जस्ता कारणले समस्यामाथि समस्या थपियो । जुत्ता निर्यात गर्नै अप्ठ्यारो भयो, अनि निर्यात घट्न थाल्यो ।’

भारत गोल्डस्टार जुत्ताका लागि निकै प्रतिस्पर्धी बजार हो, भन्छिन् राणा । आफ्नो जुत्ता लोकप्रिय हुन थालेपछि भारतका घरघरमा नक्कली गोल्डस्टार बन्न थालेको राणा बताउँछिन् । सस्तो मूल्यमा त्यही नक्कली गोल्डस्टार पाउन थालेपछि नेपालबाट निर्यात हुने जुत्ताले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । राणाका अनुसार कम्पनीले आफ्नो ब्रान्ड अनधिकृत रूपमा प्रयोग गर्ने जुत्ता उत्पादकविरुद्ध भारतीय अदालतमा मुद्दा लडिरहेको छ ।

निर्यातमा नगद अनुदान दिने सरकारी नीतिबाट उत्साहित राणा उत्पादन लागत घटाउन सघाउने नीति पनि ल्याए जुत्ता उत्पादन र निर्यातमा नेपालले छलाङ मार्ने बताउँछिन् । निर्यातमूलक उद्योगको पहिचान गरेर तिनले लिने बैंक कर्जाको ब्याजदर र विद्युत् महसुल पनि घटाउनुपर्ने उनको सुझाव छ ।

‘हामी वार्षिक ८ करोड रुपैयाँ विद्युत् महसुल तिर्छौं,’ राणाले भनिन्, ‘तर, बजेटमा वार्षिक १० करोड रुपैयाँ पुर्‍याउनेलाई मात्र सहुलियत दिने भनिएको छ । त्यसका लागि उद्योग चल्नुपर्‍यो नि ।

उद्योग चले हाम्रो पनि १० करोड पुग्छ । यस्ता विषयमा सरकारले ध्यान दिन जरुरी छ ।’ आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वार्षिक १० करोड रुपैैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छूट दिने व्यवस्था गरेको छ ।

बढी निर्यात भारतमा गर्ने कम्पनीले अन्य मुलुकमा पनि फ्रेन्चाइज स्टोर खोलेको छ । कतार, अस्ट्रेलिया, बहराइन, जापानमा फ्रेन्चाइज स्टोर खोलेको भन्दै राणाले अन्य देशमा पनि खोल्नका लागि ठाउँ खोजिरहेको जानकारी दिइन् । कम्पनीले केही महीनाअघि अमेरिकामा पनि गोल्डस्टार ब्रान्ड लन्च गरेको छ । तर, त्यहाँ भन्सार महसुल उच्च भएकाले निकासी र प्रतिस्पर्धा निकै चुनौतीपूर्ण भएको उनको भनाइ छ ।

जुत्ता चप्पलमा अमेरिकाले ३७ दशमलव ५ प्रतिशत भन्सार महसुल तोकेको छ । त्यसले गर्दा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले सुनाइन् । उनका अनुसार लजिस्टिक खर्च, नेपालकै चर्को उत्पादन लागत र अन्य शुल्क जोड्दा अमेरिकामा गोल्डस्टारको मूल्य बढी पर्न गयो ।

यस विषयमा अहिले सरकारसँग छलफल भइरहेको उनले बताइन् । ‘गोल्डस्टार नचिन्ने कोही छैन, यो हाम्रा लागि गर्वको विषय हो,’ राणाले भनिन्, ‘नेपाली जुत्ता गुणस्तरीय छैन भन्ने पनि छ तर गुणस्तरीय बनाउन लागिपरेका छौं । भोलिका दिनमा नाइकी, एडिडासजस्ता गुणस्तरीय बनाउन पनि हामी पछि पर्दैनौं ।’

 

  • २२ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !