टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न

आजभोलि

काठमाडौँ । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ ।

एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् ।

सिआइवीका अनुसार ती मध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुल आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल आलम छन् । आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सिआइवीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए ।

सिआइवीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी महबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको जानकारी दिइयो । आदिललाई एउटा ‘नो बल’ र एउटा ‘वाइड बल’ खेल्न भनिएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पुष्टि भएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । अर्का नेपाली खेलाडीलाई त्यसैगरी स्पट फिक्सिङ गर्न लगाएको उनले बताए ।

उनीहरु पक्राउ नपरेकाले बाँकी आठ जनाको नाम खुलाइएको छैन । एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समुहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“एउटा टोलीका व्यवस्थापकको निर्देशनमा विदेशी खेलाडीले एक इनिङ (पारी)मा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको पाइएको छ । केही फ्रेन्चाइज टोलीको आर्थिक र खेलाडीको पारिश्रमिकको श्रोत पनि खुलेको छैन”, उनले भने। उक्त घटनाको अनुसन्धानका लागि सिआइवीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

समितिको अनुसन्धानपछि आज विवरण सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत यसरी मिलेमतो गरेको पाइएमा तीन वर्ष कैद र रु ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए उक्त रकम पनि जफत हुने व्यवस्था छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !