कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

आजभोलि

काठमाडौं ।  मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुङ्गो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक नपाएपछि किसान निराश भएका हुन् ।

“माघ लागेदेखि नै जन (कृषि कार्यका श्रमिक) खोजेको खोज्यै छु, कहीँ काम गर्ने मान्छे भेटिएनन्”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतोले दिक्क मान्दै भने, “श्रमिक पुज्ने त भोलि बिहीबार नै हो, मान्छे नपाएपछि अब के गरुँ” श्रमिक नपाएर पर्वमा पुज्ने विधि गर्न नपाएपछि किसानलाई पर्वको उल्लास नछाउने महेन्द्रको भनाइ छ ।

महेन्द्रजस्तै छिमेककै भङ्गाहा–४ रामनगरका ५५ वर्षीय किसान गङ्गाराम महतोले पनि श्रमिक भेटेका छैनन् । आफ्नो बस्ती र छिमेकका बस्तीमा श्रमिक नभेटेर दिक्क भएका गङ्गारामले भने, “यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने गङ्गाराम अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । गङ्गारामले विरक्तिँदै अगाडि भने, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आस मर्‍यो ।”

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको  परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि  कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ÷नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि यहाँका किसानमा चिन्ता बढेको हो ।

श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुसी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारको खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै छ । पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिदैन । “के पर्वमा रमाउनु र वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुसी भित्रन्छ र ”, भङ्गाहा–४ रामनगरकै अर्का किसान ६० वर्षीय सत्यनारायण यादवले खिन्न हुँदै भने । यसपालि बिहीबार श्रीपञ्चमी पर्व परेको छ ।

यसै बस्तीका हरिदेव साहले पनि अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन ।  आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । “हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले दिक्क मान्दै भने, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।”

कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने) परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।

श्रीपञ्चमी पर्व एक दिनमात्र बाँकी रहँदा कृषि श्रमिक पुज्न नपाउने कुराले यहाँका आम किसानमा चिन्ता बढाएको छ । आम किसान यो समस्याले बिलखबन्द परेका छन् । जिल्लाका गाउँ–नगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ–नगर बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँ–नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको जिल्लाकै बर्दिबास–६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको दुःखेसो छ ।

“घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”, उमेर सात दशक कटाएका खड्काले भने, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँंला भने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क भएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको बताए ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !