वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

आजभोलि

कैलाली । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे ।

पुख्र्यौली घर बझाङको छविस पाथिभेरा(२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए ।

सुरुवातमा काम गर्न दुबई पुगेका उनी त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक रु दुई लाख ९० हजारको जागिर गर्न थाले ।

“व्यक्तिगत खर्च कटाएर मासिक रु दुई लाख ९० हजार घर पठाउथे”, उनले भने, “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किए ।

बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प¥यो ।

“सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उनले भने, “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए ।

कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए । क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।

“कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”, उनले भने ।

“साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरे ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैँसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उनले भने । हाल उनको फार्ममा छ वटा भैँसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।

“अहिले प्रतिलिटर रु ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उनले भने, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।”
कुल रु ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रु आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !