प्रविधिमा किसानको आकर्षण बढ्दो

आजभोलि

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् ।

उनको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्छन् ।

‘अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ’, उनले भने । प्रविधिको प्रयोगले आफूलाई मात्र नभए धेरै कृषकलाई सहज भएको चौधरीको भनाइ थियो ।

कुरेरुवा कृषक समूहमा आबद्ध उनले कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गरेका हुन् । यहाँका किसानसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्न हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । ‘धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न उपकरणको प्रयोग गर्छौं’, उनले भने, ‘कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।’

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेकी छन् । ‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्’, उनले भनिन्, ‘यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।’

जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोगले यहाँका किसान कृषि पेसामा आत्मनिर्भर हुन थालेका छन् ।

‘पहिले परम्परागत तरिकाले खेती गर्दा जनशक्ति र लागत बढी लाग्ने र उत्पादन कम हुन्थ्यो । अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुने गरेको छ’, अनिलाले भनिन् । गाउँमा काम गर्ने उमेरका युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तथा शिक्षाका लागि सहर पस्ने गरेकाले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन थालेको उनको भनाइ थियो ।

भएका जनशक्तिको दैनिकी ज्याला पनि महङ्गो हुन थालेको अवस्थामा कृषि यान्त्रीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको किसान चेतराज चौधरीले बताए । ‘विगतको जस्तो काम गर्ने जनशक्ति गाउँमा छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज बनाएको छ । पहिला खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक÷दुई सातामै सकिन्छ’, उनले भने ।

जिल्लामा कृषि क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ‘कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र तथा उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ’, उनले भने, ‘किसानले व्यक्तिगत रूपमा किनेर वा अनुदानमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गरेका छन् ।’

उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँका किसानले कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग गर्दै आएका छन् ।

  • ४ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !