राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

आजभोलि

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् ।

गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उनले अनावरण गरेका हुन् । राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताए ।

सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंह नै भएको बताउँदै उनले भने,“गणेशमानलाई म सधैँ सर्वमान्य नेता मान्छु, देशमा एकपटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँ नै हो ।”

विसं २००७ बाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै राष्ट्रपति पौडेलले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डो¥याउने कालखण्डको रूपमा लिइए पनि विसं २०१७ मा निरङ्कुश शासनपछि विसं २०४६ को जनआन्दोलन र उपलब्धिमा उनकै देन रहेको चर्चा गरे ।

जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासन विरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै दलका नेतालाई प्रेरणा दिएको बताए ।

उनले भने, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनुपर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यो देशका अमूल्य निधिको ठाउँ बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुहोस् ।”

राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरे । स्व ढुङ्गेलका छोरा अनुप र नाति अक्षेप ढुङ्गेललाई उक्त सम्मानपत्र हस्तान्तरण गरे । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि उनले सम्मान गरे । उनले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको विमोचन गरे ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सबैका लागि प्रेरणाको स्रोत बन्नुभएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुुपर्ने बताए ।

नेता सिंह र उनी जस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उनले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पूरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वको स्मरण गर्ने स्थलका रूपमा विकास गर्न बाँकी रहेका काम पूरा गर्ने उनको भनाइ थियो । मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउँदै जनाधिकार स्थापित गर्ने छ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताए । विसं २०४६ को जनआन्दोलनमा विभिन्न विचार बोकेका दललाई उनकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गरे ।

त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले गणेशमान वाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पूरा हुन नदिन वाटिकाको नाममा आइसकेको जग्गा फिर्ता गर्ने षड्यन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौहपुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधैँ जीवित राख्ने बताए ।

  • २ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !