सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउछन् । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उनी भन्छन् ।

विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ । संसदीय अभ्यासमा सरकारको काम–कारबाहीको मूल्याङ्कन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमी–कमजोरीको आलोचना गरी सरकारका काम–कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम–कारबाहीउपर निगरानी राख्नेलगायतका भूमिका प्रतिपक्षको हुने उनी बताउछन् ।

रापप्रपा संसदीय दलको उपनेतासमेत रहेका तामाङ संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताउछन् । “बहुदलीय व्यवस्थामा मुख्यतः संसद् प्रतिपक्षको हो । सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिँडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन”, सांसद तामाङ बताउछन् ।

पञ्चायतकालदेखि राजनीतिक अनुभव लिनुभएका सांसद तामाङ अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गरे । गरिमामय संसद्लाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ । सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठीक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ ।

पछिल्लो समय भड्किलो चुनावी प्रसार–प्रचारलगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए । “पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ । यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ । सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन”, उनी भन्छन् ।

मुलुकुको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङ जोड दिन्छन् । “समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिर्वतन गर्नुपर्छ । अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ”, सांसद तामाङ बताउछन् । पञ्चायकालदेखि हालसम्म उनी छ पटक चुनाव लडेकामा चारपटक निर्वाचित भए । तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरछन् ।

  • २४ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !