किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

आजभोलि

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिए लगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका अनुसार हालै रु आठ करोड ७४ लाखको सुन्तला जिल्लाबाट बिक्री गरिएको छ । उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो । जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी परियोजनाअन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । परियोजना लागू भएका क्षेत्रमा अहिले अभियानकै रूपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो ।

प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए ।

प्राविधिकको टोलीले यही माघको १५ गतेसम्म यो अभियान जारी राख्ने छन् । गैँडाकोट, धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउराली, बबोक, राइकोटलगायत १६ स्थानमा सुन्तला जात फलफूलको बगैँचा व्यवस्थापन कार्य गरिने उनले जानकारी दिए । अहिलेसम्म ११ स्थानमा बगैँचा व्यवस्थापनको काम सम्पन्न भएको उहाँले बताए ।

प्राविधिकसहितको टोलीले समूह मार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् । यसपछि किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् । ‘बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रूपमा अगाडि बढाएका छौँ’, कार्यालय प्रमुख सिंहले भने ।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने एकाइ प्रमुख सिंहले जानकारी दिए । उनले भने, ‘यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।’

फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने सिंहको भनाइ छ । कार्यालयले यस वर्ष राम्रोसँग बगैँचाको व्यवस्थापन गर्ने किसानलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।

सुन्तलाको उत्पादनसँगै किसानको आम्दानी बढाउने लक्ष्यअनुसार बगैँचा व्यवस्थापनको अभियान सञ्चालन गरिएको उनले बताए । नवलपुरमा राम्रो सुन्तला उत्पादन गर्न सकिने क्षेत्र भएकाले क्षेत्र विस्तार र भएका बोटबाट धेरै उत्पादन लिन सकियोस् भनेर कार्यालयले किसान लक्षित भएर काम गरिरहेको जनाइएको छ । जिल्लामा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ । किसान गेसबहादुर रानाले सुन्तलाको थप उत्पादन लिन बगैँचा व्यवस्थापनले सहयोग पुग्ने बताए ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !