जाजरकोटमा बढ्यो सुन्तला उत्पादन

आजभोलि

जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाभरी यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताए । करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उनले जानकारी दिए ।

अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।

कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिए ।

आव २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उनका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो ।

किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताए । यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उनको भनाइ थियो ।

अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताए । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उनले जनाए ।

नलगाड–३ का अगुवा किसान कमल पुनले भने, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ । खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।” उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ ।

परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाइ प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार लाभग्राहीकोसमेत प्रतिनिधित्व हुने गरी नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीदगायतको विवरण अध्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोखरेलले जानकारी दिए ।

विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोखरेलले जानकारी दिए । यसले सुन्तला जोगाएर पछिसम्म बिक्री गर्न सकिने उनको भनाइ थियो ।

किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड–१० का नरेश विक्रम शाहले बताए । सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राख्न सकेमा चैतको गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो ।

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएकाले किसानले सेलार स्टोरबाट फाइदा लिन सक्नेछन् । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ स्टोर स्थापना गरिएको परियोजना प्रमुख पोखरेलले जानकारी दिए ।

कुशे–५, ७ र ८, छेडागाड–१० र १२ र नलगाड– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रुपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ छ । सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोखरेलले बताए । उनका अनुसार प्रतिसेलार रू १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् । यसका लागि परियोजनाले रू १० लाख ३३ हजार तीन सय ३३ र किसानले रू पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् ।

पाँच मेट्रिक टन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ । विद्युत् पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिए ।

परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ । किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताए । सेलार स्थापनाका साथै परियोजनाको सहयोगले व्यवसायिक सुन्तलाखेती गर्न सहज भएको यहाँका किसान बताउँछन् ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !