अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन निर्माण सुरु

आजभोलि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु गरेको छ ।

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारणलाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारणलाइनलाई एक–आपसमा आबद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएको हो। कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवाखण्ड सञ्चालनमा आइसकेको छ। वसन्तपुर–ढुंगेसाँघुखण्ड निर्माण अन्तिम चरणमा छ। काबेली करिडोर सञ्चालनमा छ ।

हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको टावर निर्माण शिलान्यास गरिएको छ ।

करिब १९ किलोमिटर प्रसारणलाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ। उक्त प्रसारणलाइनबाट दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको विद्युतलाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए ।

आयोजना प्रमुख गौतमका अनुसार, कोशी र काबेली करिडोर प्रसारणलाइन एक–आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ ।

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ। तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ ।

नेपाल सरकारको करिब रु. एक अर्ब २० करोड लगानीमा आर्थिक वर्ष ०७५÷७६ मा आयोजना सुरु गरिएको हो। प्रसारणलाइन निर्माणका लागि ०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई–दुईवटा लाइन बे निर्माण गरिनेछ ।

यसका अतिरिक्त स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिनेछ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइनेछ । आयोजनाअन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष ०८१÷८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !