जंगबहादुरको बझांग सम्बन्ध

आजभोलि

रतन भण्डारी

प्रधानमन्त्री जंगबहादुर राणाका दुई छोरी, तत्कालीन बझांगी राजा विक्रमबहादुर सिंहकी रानीहरु तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र देवीजंगबहादुर सिंहकी आमा रुद्रकुमारी र मेघकुमारी । राजा विक्रमबहादुर सिंहकी चार रानीमध्ये जेठी रुद्रकुमारीबाट जेठा जयपृथ्वीबहादुर सिंह, काहिला वीरजंगबहादुर सिंह र ठाइला प्रभुजंगबहादुर सिंह गरी तीन छोरा थिए ।

माइली मेघकुमारीबाट ललितजंगबहादुर सिंह र देवीजंगबहादुर सिंह थिए । साइली रानी त्रैलोक्यकुमारी (पिथौरागढको अस्कोट माइती) बाट अम्मर बहादुर सिंह, बबरबहादुर सिंह, नवराजबहादुर सिंह, ईन्द्रबहादुर सिंह र ध्रुवबहादुर सिंह जन्मे । कान्छी रानी पार्वतीदेवी (पानमतीदेवी र) बाट मिनबहादुर सिंह, वीरभन्जन सिंह, महेन्द्रबहादुर सिंह र डम्बरबहादुर सिंह थिए ।

रानी रुद्रकुमारीपट्टिका छोराहरुमध्ये राजा जयपृथ्वीबहादुर सिंह पछि भारतको बैंगलोर बसाई सरे । काहिला वीरजंगबहादुर सिंह डडेल्धुराका बडाहाकिम र कप्तान थिए । वीरजंगबहादुर सिंह पछि बझांगकै देउरामा बसे । वीरजंगबहादुर सिंहका चन्द्रजंगबहादुर सिंह, गोपीजंगबहादुर सिंह र सिद्धजंगबहादुर सिंह गरी तीन छोरा थिए । सिद्धजंगबहादुर सिंह तत्कालीन शाही सेनामा मेजर थिए । ठाहिलाँ प्रभुजंगबहादुर सिंह बझांगको मुक्तियार भई बझांगकै बगडगाउँमा बसे ।

मेघकुमारीपट्टिका जेठा छोरा ललितजंगबहादुर सिंह नुवाकोटको तारुकामा बसाइँ सरे । बझांगमा गोरु र राँगा जुघाउने प्रचलन रहेकोमा ललितजंगबहादुर सिंहले नै उक्त चलन नुवाकोटको तारुकामा भित्र्याएका हुन् । तर स्थानीय नुवाकोटबासीमा भने बझांगी राजा जयपृथ्वी आफ्नो मावली तारुका आउँदा गोरु जुधाउने खेल शुरु गरेका थिए भन्ने भ्रम छ, जुन सत्य होइन ।

जयपृथ्वीकी आमा रुद्रकुमारी जंगबहादुर कि छोरी हुन् । माइला देवीजंगबहादुर सिंह जन्मले सौतनी आमापट्टिका वीरजंगबहादुर सिंहभन्दा जेठो हुनुका साथै देवीजंगभन्दा जेठा ललितजंग (जो तारुका बसाइ सरेका थिए०को मृत्यु भइसकेकोले पछि जयपृथ्वीले राजकाज त्याग्दा उनी बझांगको राजा बनेका थिए । अम्मरबहादुर सिंह बझांगको बुंगलमा सट्टायबगर किनी बसे । उनका जेठा छोरा वीरेन्द्रबहादुर सिंह पंचायतकालमा बझांगबाट पहिलोपटक राज्यमन्त्री भएका थिए । वीरेन्द्रबहादुर सिंहका छोरा पूर्वएआइजी राजेन्द्रबहादुर सिंह हुन् ।

बबरजंग शाही सेनाको कर्णेल भई काठमाडौँमा बसे । नवराजबहादुर सिंहले प्रधानमन्त्री पद्मशम्शेरकी छोरी विहे गरी काठमाडौँमै बसे । ईन्द्रबहादुर सिंह शाही सेनामा कर्णेल थिए । यिनले देवशम्शेरकी नातिनीसँग विहे गरी काठमाडौँमै बसे । पूर्व ब्याडमिन्टन खेलाडी तथा खेदकूल परिषद्का पूर्वसदस्यसचिव किशोरबहादुर सिंह यिनका छोरा हुन् । त्यसैगरी धु्रवबहादुर सिंह बझांगको झोतामा अंश पाई बसेका थिए ।

राजा जयपृथ्वीका सौतेनी आमापट्टिका भाइ देवीजंगका तीन रानीमध्ये जेठी कमाण्डर इन्चीफ खड्गशम्शेरकी छोरी, दोस्री पाल्पाली चौतरिया कोटिजंगकी छोरी र काँछी थानकोटको नेवार पट्टिकी थिइन । देवीजंगका यी तीनओटै रानीबाट रामजंगबहादुर सिंह, कृष्णबहादुर सिंह, धर्मजंगबहादुर सिंह, केशरजंगबहादुर सिंह, सर्वेश्वरजंगबहादुर सिंह (सर्वेश्वरजंगबहादुर सिंहका छोरा तोरणजंगबहादुर सिंह नेपाली सेनाका पूर्वरथी हुन्), ईश्वरीजंगबहादुर सिंह, लक्ष्मणजंगबहादुर सिंह (०१५ सालमा महासभा सदस्य, पाल्पाका बडाहाकिम, पूर्वी पाकिस्तानका कन्सुलर), चन्द्रजंगबहादुर सिंह र गगनजंगबहादुर सिंह गरी नौ भाइ छोरा थिए ।

देवीजंगपछि उनका जेठा छोरा रामजंग बझांगका राजा भएका थिए । २०१९ सालको बझांगकाण्डमा रामजंगका छोरा राजकुमार ओमजंगले विद्रोह गरेपछि उनी सैनिक कारबाहीमा दार्चुलामा मारिए । त्यसपछि जिवित राजा रामजंगको राजपदवी खोसिइ उनका भाई ईश्वरीजंग (जो सर्वोच्च अदालतका न्यायाधीश थिए)लाई बझांगको राजा बनाइएको थियो ।

ईश्वरीजंगपछि उनका छोरा दीपकजंगबहादुर सिंह बझांगका राजा भए। दीपकजंगको विहे राजा महेन्द्रकी जेठी छोरी शान्तिसँग भएको थियो । देवीजंगबहादुर सिंहका नौ छोराहरुमध्ये पछि चन्द्रजंगबहादुर सिंह र गगनजंगबहादुर सिंह राष्ट्रिय पंचायत सदस्य भएका थिए । गगनजंगबहादुर सिंह प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको पालामा वन राज्यमन्त्री थिए ।

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !