शुरू भयो थारूवस्तीमा माघीको रौनक

आजभोलि


अविनाश चौधरी । धनगढी । ‘बाबाकी सगरा गैनु हाँ, मुरिया लहाने, सखी ये हो, सेन्दुर छुटल पानी घाट । सखी ये हो…’ । ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखीयै हो माघक पिली गुँरी–गुँरी जाँर ।’

थारू समुदायको महान् पर्व माघीमा घन्किने गीतले कैलालीको थारू बस्तीहरू माघी नलाग्दै गुञ्जायमान हुन थालेका छन् । वर्ष दिनको पीडा बिर्सेर उल्लासपूर्वक मनाइने माघी पर्वको चहलपहल शुरु भैसकेको छ । 

जवान व्यक्ति, बालबालिका, वृद्धावृद्धा सबै माघी पर्वको रौनकमा भिजेका छन् । गाउँघरका जमिनदार परिवारदेखि मुक्त कमैया बस्तीसम्म पर्वको उमङ्ग र उल्लासले छोइसकेको छ । कामका लागि विदेशिएकाहरू माघी मनाउनलाई फर्किन थालेका छन् । पुस अन्तिम दिनबाट माघी शुरु हुने भए पनि धमार गीत, मघौटा नाचगानसँगै हरेक बस्तीका थारू माघीको तयारीमा जुटेका छन् । 

माघीको लागि अन्न कुटानी पिसानीदेखि लिएर सालको पातबाट दुना, टपरी गाँस्ने, मासुका लागि ‘जिता’ मिलाउने, घर लिपपोत जस्ता कार्य धमाधम भइरहेको बताउँछन्, धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका लक्ष्मीनारायण चौधरी । 
‘एक वर्षपछि फर्केर आउने महान् पर्व माघीको चहलपहल सबैतिर शुरु भइसकेको छ’, उनले भने, ‘कुटानी, पिसानीदेखि आवश्यक सरसामान जुटाउने, तयारी गर्ने कार्य भइरहेको छ ।’ 

माघी पर्वमा मूलतः ढिक्री, सुँगुरको मासु, तरुलजस्ता मिठा–मिठा परिकार खाने चलन छ । माघीमा ढिक्री बनाउन लागि हप्ता दिनअगाडिबाटै कुटानी पिसानीको काम हुन्छ । पुसको अन्तिम दिन सुँगुर मारेर खाइन्छ जसलाई थारू भाषामा ‘जिता मरना’ भन्ने गरिन्छ । जिता मारेर मासु खाने, खुवाउने र रमाउने चलन छ ।

त्यसपछि रातमा धमार गीत गाउँदै जाग्राम बस्ने, मघौटा नाचेर रमाउने गरिन्छ । धमार गीत गाउँदै माघ १ गते अर्थात् माघी पर्वको दिन बिहान नहुँदै नदी, तलाउमा नुहाउने गरिन्छ । नुहाउनु अगाडि नदीमा पैसा छाड्ने चलन छ । यो दिन बिहानै नुहाउनाले वष दिनमा जानेर वा नजानेर गरेको पाप पखालिने र पुण्य मिल्ने विश्वास गरिन्छ । बिहानै नुहाइधुवाई आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने, आफन्त, इष्टमित्र, छरछिमेकी भेटेर शुभकामना साटासाट गर्ने, रमाउने र तरुल, फर्सीजस्ता परिकार खाने चलन छ । 

थारू समुदायमा कलङ्कित प्रथाको रूपमा रहेको कमैया र कमलरी प्रथासँग पनि माघी पर्वको सम्बन्ध छ । विगतमा माघी पर्वकै बेला कमैया र कमलरीको मोलमोलाइ हुने गरेको थियो । कमैया, कमलरी राख्ने वा उनीहरूलाई छुटकारा दिने निक्र्योल यही पर्वमा हुन्थ्यो । विशेषतः दासत्वको बन्धनबाट मुक्ति पनि यही पर्वमा पाइने हुनाले माघीलाई स्वतन्त्रताको पर्वको रूपमा पनि कतिपयले लिन्छन् । नेपाल सरकारले दुवै प्रथालाई प्रतिबन्ध लगाइसकेको छ । 

माघी पर्वको दिन गएको वर्षभरिको समीक्षा गर्नेदेखि अब पछिल्लो एक वर्षभरि गरिने कार्यको योजना बनाइन्छ । गाउँघरको नेतृत्व गर्ने भल्मन्सा (बडघर) अघारी, चिरकिया (चौकीदार) चयन गरिन्छ । 

यस पर्वमा खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका हरेक सदस्यहरूको जिम्मेवारी बाँडफाँटदेखि छोरीछोरीको विवाह, अंशबन्डा, घर निर्माण लगायत थालनी गरिन्छ । माघी पर्वलाई थारू समुदायको नयाँ वर्ष भन्ने गरिए पनि यो पर्व खासगरेर आर्थिक वर्षका रूपमा रहेको थारू साहित्यकार छविलाल कोपिलाको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘नयाँ वर्ष भन्ने हो भने हामी थारू समुदायको आफ्नो क्यालेन्डर छैन । तर, माघीमा अर्थसँग सम्बन्धित वार्षिक कार्ययोजना निर्माणदेखि विवाह, अंशबन्डा, हरहिसाबका कार्य शुरु हुन्छ । त्यसैले यो आर्थिक वर्ष हो ।’

यस पर्वमा खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका हरेक सदस्यहरूको जिम्मेवारी बाँडफाँटदेखि छोरीछोरीको विवाह, अंशबन्डा, घर निर्माण लगायत थालनी गरिन्छ ।

थारू समुदायभित्रको सबैभन्दा विपन्न र सीमान्तकृत व्यक्ति हुन मुक्त कमैया । वर्षदिनभरि जे जसरी जीवन यापन गरे पनि माघी पर्वमा सम्पूर्ण दुःख, पीडा बिर्सेर यो वर्गले पनि रमाइलो गर्दै आएका छन् । मजदुरी गरेर भए पनि माघीमा मासु खान र बालबालिकालाई नयाँ नानाका लागि पैसाको जोहो गरेका हुन्छन् । विभिन्न बस्तीमा मादल घन्काएर मघौटा नाच नाच्ने, रमाइलो गर्ने कार्य हुन्छ ।

कैलालीको सबै बस्तीमा माघीको तयारी भइरहेको मुक्त कमैया अगुवा बजारी चौधरीले बताए । ‘हरेक वर्ष नाचगान गर्दै माघीमा रमाउँदै आएका छौँ’, राधाकृष्णमुक्त कमैया बस्तीमा बस्दै आउनु भएकी उनले भने, ‘पर्व र नाचको तयारी भइरहेको छ ।’ मुक्त कमैयाको पुनःस्थापना, जीविकोपार्जन लगायतको सवाल एकातिर कायमै रहे पनि वर्ष दिनमा एकचोटि आउने पर्वमा रमाउँदै आएको चौधरीले जनाए ।

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !