स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा व्यस्त भए जुम्ली

आजभोलि

जुम्ला । जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउँ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । 

स्याउ सुपरजोन जुम्लाले स्याउ काँटछाँटका लागि किसानलाई आग्रह गरेको छ । जिल्लाका आठै स्थानीय तहका हरेक बस्तीका किसान दैनिक स्याउका बिरुवा काँटछाँट व्यस्त छन् । जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् ।

तातोपानी गाउँपालिका–६ का किसान सिंह रावतलाई अहिले स्याउ काँटछाँटमा भ्याइनभ्याइ छ । माघको चिसोमा पनि उनी आफ्नो स्याउका बिरुवा काँटछाँट सकाएर गाउँको सामूहिक स्याउखेतीमा काँटछाँटमा सक्रिय छन् । स्थानीय कृषि स्रोत व्यक्तिसमेत रहेका रावतले गाउँका अन्य युवालाई समेत साथमा लिएर स्याउका बिरुवा काँटछाँट प्रक्रिया र विधि सिकाइरहेका छन् । तातोपानी गाउँपालिका–६ रावतबाडा बस्तीको सामूहिक स्याउ खेतीमा एक हजार स्याउ, ओखर र आरुका बिरुवा छन् ।

स्कूल बिदाको समयमा स्याउसम्बन्धी जानकारी स्थानीय कृषि स्रोत व्यक्तिले दिइरहेको विद्यार्थी रमेश कामीले बताए । यस्तै जिल्लाको पातारासी गाउँपालिका– ६ उर्थुका स्याउ किसान मुनबहादुर विष्टपनि स्याउ बगैचा व्यवस्थापनमै व्यस्त छन् । एघार सय स्याउका विरुवा लगाएका उनले यस वर्ष मात्रै रु १२ लाख आम्दानी गरे ।

स्याउ सुपरजोनका निमित्त कृषि विकास अधिकृत जोगेन्द्र कान्दूले स्याउको काँटछाँट गर्ने, बगैँचा निरीक्षण गर्ने र बगैँचा व्यवस्थापनका विषयमा कृषकलाई सहजीकरण पनि गर्दै आएको बताए । प्रत्येक वर्ष सुपरजोनले अभियानकै रुपमा कार्यक्रम चलाउने गरेको छ । 

बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काँटछाँट अभियान थालिएको उनको भनाइ थियो । “वर्षभरि स्याउको गुणस्तरीय फल उत्पादनका लागि सचेतना पनि फैलाउँदै आएका छौँ”, अधिकृत कान्दूले भन्ने, “जिल्लाका सबै किसानलाई समेट्न पनि अभियान थालिएको छ । साथै स्याउको बिरुवालाई रोेग किराको सङ्क्रमणबाट बचाउनका लागि वोडोपेष्ट लगाउने काम पनि भइरहेको छ ।”

माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काँटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ । यसपटक जुम्लाबाट करिव रु २३ करोडको स्याउ बिक्री भएको थियो । (रासस) 

  • ४ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !