कसरी गर्ने च्याउ खेती ?

आजभोलि

पराल, केराको पात, कपासका टुक्रा, उखुको बोक्रा तथा अन्य पदार्थको प्रयोग गरी पराले च्याउखेती गर्न सकिन्छ । यो खेतीका लागि निम्न सामग्रीको आवश्यकता पर्छ ।

१. च्याउखेती गर्ने ठाउँ– घरको कोठा, फुसको छाप्रो, जस्तापाताको छाना भएको टहरा वा रूखको छहारी ।
२. सब्ष्ट्रेट (तह)– पराल, केराको पात वा अन्य पदार्थको प्रयोगबाट
३. बीउ– पराले च्याउको बीउ (स्पान)
४. पराल भिजाउने भाँडो– फलामका ड्रम वा सानो पोखरी
५. ब्याड बनाउने सामान– बाँस, काठ, इँटा वा ढुङ्गा आदि ।
६. ब्याड छोप्ने सामग्री– प्लाष्टिकको सीट

सबष्ट्रेट (तह) तयार गर्ने विधि
पराले च्याउको खेती हातले काटेको परालमा गरिन्छ । च्याउखेती गरिने पराल राम्रोसँग सुकेको हुनुपर्छ । नयाँ तथा सफा परालमा गरिएको च्याउखेती राम्रो हुन्छ । परालको सट्टन केराको सुकेका पात पनि प्रयोग गर्न सकिन्छ । यसरी राम्ररी सुकेको केराको पात र पराल तहतह मिलाएर राखेमा बढी च्याउ फल्ने सम्भावना हुन्छ ।
सबभन्दा पहिले परालको फेद र टुप्पो काटेर मुठा बनाउनुपर्छ । त्यसपछि लम्बाइ एक हात लामो हुने (४० सेण्टिमिटर) गरी पराल काट्न प्रयोग हुने कैंचीले काट्नुपर्छ । काटेको पराललाई हातले समात्न मिल्ने गरी मुठा (१०–११ सेण्टिमिटरको) बनाउनुपर्छ । केराको पातमा पनि यही प्रक्रिया अपनाउन सकिन्छ । परालका मुठा फलामको ड्रम वा सानो पोखरीमा जमाएको सफा पानीमा १०–१२ घण्टा (एक रात) भिजाउनुपर्छ । यसरी भिजाइसकेपछि परालका मुठा पानीबाट बाहिर निकाली भिरालो ठाउँमा २–४ घण्टासम्म राखी पानी तर्काउनुपर्छ ।

बीउ रोप्ने र खेती गर्ने विधि
भिजेका परालका मुठा जमीनमा दुई लाइन इँटा, काठ वा बाँसको फ्रेम राखी त्यसमाथि एक तह बिछ्याउनुपर्छ । त्यसमा चनाको पीठो (बेसन) एक पसर हातमा लिई परालमाथि (लाइन–लाइन गरी) छर्किनुपर्दछ । प्रत्येक तहको छेउबाट करीब ५–६ सेण्टिमिटर (चार/पाँच औंलाजति)भित्र पराले च्याउको बीउ (सुपारीको टुक्रा जत्रो वा बूढी औंलाको टुप्पा जत्रो) चारैतिर १०–१२ सेण्टिमिटरको फरकमा राख्दै जानुपर्छ । तर, ब्याडको बीचमा भने राख्नु आवश्यक हुँदैन । ती परालका मुठा अर्काे तह राख्दा ‘क्रिशक्रश’ हुने गरी अर्थात् दोस्रो तह पहिलो तहको लम्बाइलाई चौडाइ पारेर राख्नुपर्दछ । यसरी परालका मुठा एक तहमाथि अर्काे तह थप्दै लैजानुपर्छ । माथि उल्लेख गरिएझैं चनाको पीठो छर्ने र बीउ रोप्ने काम पनि सँगै गर्नुपर्दछ । परालका मुठा ५/६ तहदेखि ७/८ तहसम्म अर्थात् एक मिटर अग्लो नभएसम्म थप्दै जान सकिन्छ । परालका चाङबाहिरका छेउ एकनासले मिलेको हुनुपर्दछ । अन्यथा च्याउ उम्रिएपछि टिप्न गाह्रो हुन्छ ।

खेती गर्ने सकिने ठाउँ

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रो अर्थात् टहरामा पनि गर्न सकिन्छ । त्यस्तै, गाउँमा आफ्नै घरवरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ । च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान सक्दैनन् । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्न समेत सहयोग पुग्छ । ठाउँको बचत गर्न लागि तीन तला गरी ब्याड बनाउन सकिन्छ । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ ।

उत्पादन गर्ने र टिप्ने विधि

बीउ रोप्ने काम सकिएपछि परालको चाङलाई सेतो प्लाष्टिकले छोपिदिनुपर्दछ । प्लाष्टिकले छोपेपछि परालको चाङभित्र तापक्रम र सापेक्षिक आद्रता बढ्छ । तर, तापक्रम ३ सय ८० डिग्री सेल्सियसभन्दा बढी बढ्न दिनुहुँदैन । यसका लागि छोपेको प्लाष्टिकलाई केही बेरका लागि झिकिदिने गर्नुपर्दछ भने ४–५ दिनपछि पूरै प्लाष्टिक निकाल्न सकिन्छ । च्याउको ढुसी खरानी रङको हुन्छ, जुन परालको तहतहमा फैलिएको देखिन्छ । बीउ छरेर १० दिनभित्र च्याउका स–साना कालो गोलाकार झुप्पा देखापर्न थाल्छ । यसरी च्याउको गेडा देखेको २–३ दिनभित्र अण्डाकार वा गोलाकारको च्याउ बन्छ । अब यसलाई टिप्न सकिन्छ । यस बेला प्रशस्त हावा सञ्चालन हुनुपर्दछ । साथै, तापक्रम ३५०–४०० सेल्सियस, सापेक्षिक आद्रता ८०–९० प्रतिशत हुनुपर्दछ । यदि च्याउ गोलाकारको अवस्थामा हुँदा नै टिपिएन भने त्यो फक्रेर छाताजस्तो हुन थान्छ । नफक्रेको च्याउ धेरै स्वादिलो हुन्छ । पहिलोपटक उत्पादित च्याउ २–३ दिनसम्म लगातार टिप्न सकिन्छ । अर्कोपटक च्याउ आउन ६–७ दिनसम्म कुर्नुपर्छ । बीउ रोपेको दिनदेखि १ महीनासम्म च्याउ आउँछ ।

त्यसपछि भने पराल काम नलाग्ने हुन पुग्छ । १ सय ५०–२ सय मुठा वा २५ केजी सुकेको परालबाट २ मिटरको एउटा ब्याड बनाउन सकिन्छ । यसका लागि करीब पाँच बोतल बीउ चाहिन्छ । जसबाट जम्मा ५–६ केजीसम्म च्याउ उत्पादन हुन्छ । च्याउ फल्दा पहिलोपटक धेरै (७०–८० प्रतिशत) फल्छ र दोस्रो, तेस्रोपटक यो मात्रा घट्दै जान्छ । ब्याड सुकेको अवस्थामा पानीले पर्याप्त भिजाउनुपर्छ । च्याउ फलेको बेलामा दिनको दुईपटक पनि टिप्नुपर्ने हुन्छ किनकि, त्यसमा सानो र ठूलो सँगै रहेको हुन्छ । ठूलो च्याउलाई होशियारीका साथ टिप्नुपर्दछ । सानो च्याउ दिनभरिमै ठूलो हुन्छ । च्याउ टिपिसकेपछि पराल सुकेको छ भने त्यसमा झारीले अलिअलि पानी छर्नुपर्छ र फेरि प्लाष्टिकले छोपिदिनुपर्छ । तर, च्याउमा पर्ने गरी पानी हाल्नुहुँदैन । च्याउ टिपेर २४ घण्टासम्म कोठाको तापक्रममा राख्दा ताजै रहन्छ । त्यसपछि पनि राख्नु परेमा चिसो कोठामा राख्नुपर्छ । तर, रेफ्रिजेरेटरमा भने राख्नहुँदैन । च्याउ टिपेकै दिनमा प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

रोग र कीरा

यस च्याउलाई नोक्सान गर्ने मुख्य रोग नै जङ्गली च्याउ (कोप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ । यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरू कीराले भने त्यति नोक्सान गर्दैनन् ।

  • १५ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !