केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

आजभोलि

काठमाडांै । मुलुकको सबैभन्दा पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको हो ।

नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने व्यवस्था गरिँदै छ । तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् ।

उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना संक्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन ।

काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ ।

कूल ३० शय्या क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुन्निनेलगायतका रोगको उपचार हुँदै आएको छ ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । बयालीस रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा एक हजार ७८४ कैदी र एक हजार ४३१ बन्दी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् ।

यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन् । हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन् । देशभर कारागारको क्षमता भने १६ हजार मात्र हो ।

पछिल्लो समय देशभर कैदीबन्दीको सङ्ख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ । दश हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ ।

नुवाकोटमा सात हजार ५०० र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ । सरकारले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ ।

केन्द्रीय कारागारका जेलर अधिकारीले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौँ फर्किसकेको बताएका छन् ।

सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उनको भनाइ छ । केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारको लक्ष्य छ । (रासस)

 

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !