रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

आजभोलि

काठमाडौं । रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष नौ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए ।

उनका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असरलगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो । यस वर्ष गत वर्षको भन्दा करिब तीन सय मेट्रिक टनले बढी उत्पादन भएको छ । जिल्लाभर किसानले एक सय पाँच हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन् ।

त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको  क्षेत्र रहे तापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको थियो । उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी रु ६०÷६५ मा बिक्री गरेका किसानले यो वर्ष रु ४० देखि ५०/५५ मा बिक्री गरिरहेका छन् । सुन्तला उत्पादन धेरै भए पनि बजार नहुँदा भने किसान समस्यामा पर्ने गर्छन् । उत्पादनलाई जोड दिँदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा बर्सेनि यहाँको उत्पादनलाई लिएर किसान मर्कामा पर्ने गरेका छन् ।

यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे तापनि  विशेष गरी सिस्ने गाउपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !