युद्धविराम नहुने भएपछि त्रासकै बीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

आजभोलि

एजेन्सी । प्यालेस्टिनीहरूले सोमबारदेखि रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि जारी युद्धको कुनै अन्त्य नदेखिएको अवस्थामा मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ ।

आइतबार राति ध्वस्त भवनहरूको भग्नावशेषबीच बाहिर प्रार्थना गरिएको थियो । केही मानिसले खचाखच भरिएको पाल शिविरलाई बत्तीसहित सजाएका छन् । आश्रयस्थलमा परिवर्तन भएको संयुक्त राष्ट्र–विद्यालयको एक भिडियोमा बालबालिकाहरू नाच्दै फोम छर्किरहेको देखाइएको थियो भने एकजना मानिसले लाउडस्पिकरमा गाइरहेका थिए ।

यद्यपि पाँच महिनाको युद्धपछि खुशीयाली मनाउनका लागि केही पनि थिएन । युद्धमा ३० हजारभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् भने गाजाका अधिकांश हिस्सा तहसनहस भएको छ । परिवारले सामान्यतया बिदाको भोजका साथ दैनिक उपवास तोड्छन् तर भोजन उपलब्ध भएका स्थानमा डिब्बाबन्द सामानबाहेक केही पनि छैन र धेरै मानिसका लागि ती सामानको मूल्य धेरै महँगो भएको छ ।

दक्षिणी सहर रफामा आइतबार खाना किन्दै गरेका सबा अल–हेन्डीले भने, “तपाईं कसैको आँखामा खुशी देख्नुहुन्न, प्रत्येक परिवार दुःखी छ र हरेक परिवारमा एक जना शहीद छन् ।” अमेरिका, कतार र इजिप्टले सामान्यतया रमाइलोसँग बिहानदेखि साँझसम्म उपवास बस्ने महिनाअघि युद्धविराम हुने आशा गरेका थिए । दर्जनौँ इजरायली बन्धक र प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा ठूलो सङ्ख्यामा मानवीय सहायता प्रवेशलाई लिएर युद्धविराम वार्ता सुरु भए पनि गत साता वार्ता रोकियो ।

हमासले कुनै पनि सम्झौताले युद्धको अन्त्य गर्ने प्रत्याभूति मागिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ र बाँकी सबै बन्धकको रिहाइ नभएसम्म आक्रमण जारी राख्ने वाचा गरेका छन् ।

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि आक्रमण भएपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गत वर्ष भएको आदानप्रदानपछि हमाससँग अहिले पनि करिब एक सय  ३० जना बन्दी बाँकी रहेको बताइएको छ ।

युद्धले गाजाका २३ लाख जनसङ्ख्यामध्ये करिब ८० प्रतिशतलाई आफ्नो घरबाट विस्थापित गरेको छ भने लाखौँ मानिसलाई भोकमरीमा धकेलेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार उत्तरी गाजामा कुपोषण र निर्जलीकरण (पानीको अभाव) ले अधिकांश बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !