सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व

आजभोलि

अरूणा उप्रेती

१८ वर्षअघि सुदूरपश्चिमकोडोटी अस्पतालमा छँदा एउटी बिरामी महिलालाई पिठ्युँमा बोकेर ल्याइएको थियो । बिरामीको सात दिनअघि गर्भपतन भएर ‘रगत गएको गयै भएछ ।’

बिरामीको अनुहार एकदमै सेतो थियो, आँखा चिम्म थिए, अर्ध बेहोसजस्तै । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिनारानी श्रीवास्तवले उनको जाँचपछि भनिन्–‘यिनको शरीरमा रगत कम छ । रगत चढाउनुपर्छ तर यहाँ रगत चढाउन सम्भव छैन ।’ एम्बुलेन्स मगाएर उनलाई धनगढी अस्पताल पठाउँदा १५ सय भाडा लाग्दो रहेछ । ‘हामीसँग पैसा छैन । तपाईंहरूले उपचार गराउने भए गर्नुहोस् । नत्र यहीँ मर्ली,’ बिरामीका भाइले भने ।

बिहानसम्म ती महिला बाँच्छिन् कि बाँच्दिनन् भन्ने धुकचुक थियो । बिहान ६ बजे उठेर हेर्दा ती महिलालाई जीवितै देखेर हामी खुसी भयौं । ९ बजे उनको पाठेघरको उपचार गर्ने तयारी सुरु गरियो । १० बजेतिर डा. श्रीवास्तवसँग ती महिलाको अप्रेसन भयो भनेर सोध्दा उनले अँध्यारो मुख लगाउँदै भनिन्–‘उनकी आमाले उपचार गराउन मानिनन् ।’

म दौडदै अस्पताल पुगें । घाम तापेर नातिनातिनालाई भात ख्वाइरहेकी बज्यैसँग ठूलो स्वरमा सोधें–तपाईंले आफ्नी छोरीको औषधि गर्न किन नमानेको ?’ मुखभरि चाउरी परेकी बूढी बज्यैले हात जोडेर भनिन्–‘म के गरूँ? यसका बैगान (लोग्ने) यहाँ ना थिन् (यहाँ छैनन्) तमले (तिमीले) उनलाई उपचार क्या अर्छाै ? (के गर्छौ) ? उनको पाठेघर निकाल्छ्यौ यिनका पाँच छोरी र एकमात्र सन्तान (छोरा) छन् । यिनको पाठेघर निकाले अरु छोरा हुँदैनन् । अनि यिनका बैगानले के भन्दा हन् (हुन्) ?’ ती बूढी बज्यैको कुराले म रनभुल्लमा परें । उनलाई आफ्नी छोरीको ज्यानभन्दा छोरीको अर्को सन्तान (छोरा) नहोला भन्ने चिन्ता पो थियो?

मसँग आएकी एक विदेशी नर्सलाई मैले ती बज्यैले भनेको कुरा उल्था गरेर सुनाएपछि उनले भनिन्–‘बिरामी महिला त वयस्क भैसकेकी छिन् । हामीले उनीसँगै अनुमति लिएर उपचार गरे हुँदैन ?’ ‘अन्य देशमा भए हुन्थ्यो, यहाँ हुँदैन । उनको साधारण शल्यक्रिया गर्दा तल–माथि भयो भने यिनै गाउँलेले हामीलाई मानिस मारेको आरोप लगाउँछन् । त्यसैले उनकी आमाले हुन्छ नभनी हामीले केही गर्न सक्दैनौं,’ मैले भनेकी थिएँ।

त्यसपछि मैले अस्पतालका केही कर्मचारीसँग भनें–तपाईंहरू यी बज्यैलाई सम्झाइदिनुस्, हामीले पाठेघर निकाल्ने होइन, पाठेघर सफा गर्ने मात्र हो । यदि उनको उपचार गरिएन भने उनी रगत बगेर मर्छिन् ।’ अस्पतालका कर्मचारीहरूले ती बज्यैलाई डोटेली भाषामा सम्झाएपछि बल्ल उनले हात जोडेर रुँदै भनिन् । ‘तम जसो ठीक हुन्छ, तही अर’(तिमीहरूलाई जसो ठीक लाग्छ त्यही गर) । वृद्धाका यिनै शब्दलाई स्वीकृतिका रूपमा लिएर डा. बिनाले बिरामी महिलाको पाठेघर सफा गरिदिइन् । एक घन्टाभित्र सबै उपचार भयो । महिला धेरै कमजोर थिइन् तर उनी बाँचेकी थिइन् र हामी ढुक्क भएका थियौं ।

उक्त घटनाले मलाई त्यतिबेला बारम्बार एउटा प्रश्न गर्न विवश तुल्याएको थियो–के सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व राख्छ ?

  • २१ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !