पाटनको कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि बन्द

आजभोलि

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ ।

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो ।

यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछाँै ।”

मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ । यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनले भने, “रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनाँै ।” सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ ।

कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ । पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।

कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्दथे ।

सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ ।
–––

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !