पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द

आजभोलि

काठमाडौं । पाँचथर जिल्लाका उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ ।

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।

जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो ।

यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए । बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।

आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाइलागेको थियो । रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो ।

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिककक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन ।

अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो । संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजकीरिया खर्चका लागि रु ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !