पाकिस्तानमा अहिलेसम्मकै ठुलो बाढी

आजभोलि

काठमाडौँ । पाकिस्तानमा बाढीका कारण हजारौ विस्थापित भएका छन् । बाढीको तस्बिरबाट उक्त स्थानको अवस्था कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ । तर अहिले पाकिस्तानमा आएको बाढीको स्याटेलाइट तस्बिरहरूले अझ डरलाग्दो कथा बताउँछन् ।

सिन्धु नदीको पानीको बहाव बढेपछि आएको बाढीका कारण सिन्ध प्रान्तमा एक सय किलोमिटर चौडा ताल बनेको छ । पाकिस्तानमा बालीको ठूलो हिस्सा पानीमुनि पुगेको छ । मनसुन सुरु भएदेखि हालसम्म १ हजार १६२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३ हजार ५५४ जना घाइते भएका छन् । मध्य जुनदेखि ३।३ करोड मानिसहरू प्रभावित भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

नासाको मोडिस स्याटेलाइट सेन्सरले अगस्ट २८ मा नयाँ फोटो खिच्यो, जसले भारी वर्षाका कारण सिन्धी नदीको बहावका कारण सिन्ध प्रान्तको अधिकांश भाग पानीमुनि पुगेको देखाउँछ । तस्विरको बीचमा नीलो रंग देखिन्छ, जसले पानी बढेको कारण बाढी देखाउँछ । करिब १०० किलोमिटर क्षेत्र पूरै डुबेको छ । केही दिनअघि यहाँ खेत थियो ।

पाकिस्तानको मौसम विभागका अनुसार सन् १९६१ मा मौसमको रेकर्ड सुरु भएयता यो सबैभन्दा खराब अवस्था हो । तर वर्षा हुन अझै एक महिना बाँकी छ ।

सिन्ध र बलुचिस्तान क्षेत्रमा औसतभन्दा ५ गुणा बढी वर्षा भएको छ । जसका कारण गाउँ र कृषियोग्य जमिन पूर्ण रुपमा डुबानमा परेका छन् । आगामी दिनमा यहाँ चर्को गर्मी हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ तर विज्ञहरु भने यहाँबाट पानी सर्न समय लाग्ने बताएका छन् । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले यही अवस्थामा आफूले सिन्धको भ्रमण गरेको बताएका छन् । बाढीका कारण गाउँ र सहरका मानिसहरु विस्थापित भएका छन् । सुख्खा जग्गा पाउन मुस्किल भएको उनले बताए ।

बुधबार पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले खैबर पख्तुनख्वाको भ्रमण गरी बाढीबाट भएको क्षतिको विवरण लिएका थिए । यस प्रदेशमा बाढीका कारण सबैभन्दा बढी मृत्यु भएको छ । शरिफले मंगलबार यो बाढी पाकिस्तानको इतिहासमा अहिलेसम्मकै सबैभन्दा खराब भएको बताए ।

पाकिस्तानका प्रधानमन्त्री शरीफले आफ्नो देश जलवायु परिवर्तनबाट प्रभावित भएको र त्यसको असर पाकिस्तान एक्लैले सामना गर्न नसक्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई – विशेष गरी धनी देशहरूलाई भनेका छन् कि उनीहरूले जलवायु परिवर्तनको असरको सामना गर्न पाकिस्तान जस्ता देशहरूलाई एक्लै छोड्न सक्दैनन् ।

उनले भने, ‘आज हामी पीडित बनेका छौं, भोलि अरुको पालो आउनेछ । जलवायु परिवर्तनको खतरा वास्तविक र गम्भीर छ, हामी सबैमाथि ठूलो छ ।’

शाहबाज सरिफले विश्वमा कार्बन उत्सर्जनमा पाकिस्तानको हिस्सा एक प्रतिशत मात्रै रहेको बताए । जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने देशमा पाकिस्तान त्यो सूचीमा आठौं नम्बरमा छ । यसअघि धेरै प्रतिष्ठित मौसमविद्हरूले पनि यस विसंगतिप्रति विश्वको ध्यानाकर्षण गराइसकेका छन् ।

महासचिव गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जादै

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पुर्याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका छन् ।

उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्नुहुने उनका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिएका हुन् । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि उनले बताए ।

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते अस्पतालमा रहेका छन् ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !