कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

आजभोलि

काठमाडौं । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ ।

लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक पनि पाउन सकेका थिएनन् ।

मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । ‘कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं’, मन्त्री पन्थीले भने ।

कोरोनाकालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिक समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजङग क्षेत्रीले बताए ।

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोरोनाकालमा सेवारत स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

कोरोनाकालमा सेवा गर्ने २२ जना मेडिकल अफिसर, एक सय ११ जना स्टाफ नर्स, छ जना ल्याब टेक्निसियन, तीन जना रेडियोग्राफर, दुई जना एनेस्थेटिक, दुई जना अहेब, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, एक जना वायोमेडिकल टेक्निसियन, एक जना प्लम्बर र एकजना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकको पारिश्रमिक निकासा गर्ने निर्णय पनि भएको उनले बताए ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !