शून्य समयमा सांसदको ध्यानाकर्षण : सरकारको उपस्थिति देखियोस्

आजभोलि

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् ।

शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारीपीडितले धर्ना दिइरहेको विषयलाई सरकारले गम्भीरताका साथ लिन भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरबहादुर रायमाझी र सांसद अर्जुननरसिंह केसीले पनि देशभरका विद्यालयका कर्मचारी माइतीघरमा धर्नामा बसेको विषय उठाउँदै उनीहरूका समस्या समाधानका लागि सरकारसँग माग राखे । केसीले पनि विद्यालय कर्मचारीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । केसीले बूढानीलकण्ठ स्कुलमा भ्रष्टाचार र अनियमितता भएको र विद्यार्थी भर्ना प्रक्रियामा पनि नियम मिचिएको बताए ।

सांसद अच्युतप्रसाद मैनालीले जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकमाथि भएको भौतिक आक्रमणको छानविन गरी कारबाहीको माग गरे । सांसद अजयकुमार चौरसियाले नागरिकताविहीन व्यक्तिका माग सम्बोधनका लागि सरकारसँग माग गरे । जन्मसिद्ध नागरिकले पनि नागरिकताबाट वञ्चित हुनुपरेको धारणा सांसद ज्वालाकुमारी साहले पनि राखे ।

सांसद अनिता देवीले मधेसमा घरेलु हिंसाका घटना बढ्दै गएको र यस्ता हिंसाको मुख्य कारण दाइजो रहेकाले यो कुप्रथा अन्त्यका लागि सम्बन्धित कानुनको कार्यान्वयनका लागि माग राखिन् ।

सांसद अनिसा नेपालीले आगामी आर्थिक वर्षको बजेट असमान ढङ्गले आएको र विनियोजनमा कुशलता नदेखिएको बताइन् । सांसद अशोककुमार चौधरी र अस्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेटले थारु समुदायलाई समेट्न नसकेको बताइन् । सरकारले आगामी आर्थिक वर्षको बजेटले पिछडिएका र विपन्न वर्गका लागि कुनै विशेष कार्यक्रम ल्याउन नसकेको उनीहरूको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा संविधानको व्यवस्थाविपरीत महिलाले सिन्दुर, शीर छोपिएको लुगा हटाउनुपर्नेजस्ता नियम बनाएकाले अहिले धेरै मुस्लिम महिलाका लागि राष्ट्रिय परिचयपत्र बनाउन समस्या रहेको विषय सांसद अब्दुल खानले उठाए ।

सांसद डा अमरेशकुमार सिंहले तराईका जिल्लामा नदी कटानका कारण खेतीयोग्य जमिन नष्ट हुँदै गएको र मानवबस्ती पनि जोखिममा रहेकाले तटबन्धका लागि माग गरे । सांसद किरणकुमार साहले रौतहटको गौर जोड्ने लालबकैया नदीको पुल निर्माणको काम १० वर्षदेखि अलपत्र रहेकाले उत्त पुल निर्माणलाई शीघ्रता दिइनुपर्ने विषय उठाए ।

शून्य समयमा सांसद अमृतादेवी अग्रहरीले तराईका जिल्लामा गर्मी बढेका बेला विद्युत् कटौती गर्दा त्यसले जनजीवन झन अस्तव्यस्त बनेकाले विद्युत्को नियमित आपूर्तिको माग राखिन् । सांसद एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बौद्धमार्गी भिक्षुका लागि विमानस्थलमा सहज होस भनी माग गरे । सांसद अरुणकुमार चौधरीले कर्णाली चिसापानी पुल प्राविधिकरुपमा जीर्ण बनिसकेकाले त्यसको मर्मतसम्भारका लागि संसद्को ध्यानाकर्षण गरे ।

सांसद असीम शाहले नेपाली जनताको आत्मसम्मान र भावनामा चोट पुग्नेगरी भारतीय पक्षबाट विभिन्न समयमा आक्रमण हुने गरेको र अहिले भारतीय चलचित्र आदिपुरुषमा नेपालका राष्ट्रिय विभूति सीता भारतमा जन्मेको भन्ने कुरा राखिएकाले यसबारे सरकारको आधिकारिक धारणा आउनुपर्ने बताए ।

सांसद ईश्वरबहादुर रिजालले दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा विसं २०७२ को भूकम्पका कारण गएको पहिरो अहिले पनि नरोकिएकाले यसको रोकथामका लागि सरकारसँग माग गरे । सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीर र निष्पक्ष छानविनको माग गरे ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यक्रम छ ।

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ ‘रु एक कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

सांसद बलराम अधिकारीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ ‘रु एक कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

अर्का सांसद वसन्तकुमार नेम्बाङले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ ‘एक रूपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ ‘एक रूपैयाँ कायम गरियोस् भन्ने’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !