भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत

आजभोलि

काठमाडौँ । उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निर्णयविरुद्धको नेपाल चलचित्र सङ्घको तर्फबाट उच्च अदालतमा प्रितम घिमिरेले रिट दर्ता गरेका थिए ।

रिटउपर सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा निषेधाज्ञा हटाउन र भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु र नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।

“छलफलका लागि दुवै पक्षलाई असार १२ गतेका लागि बोलाइएको छ । उक्त समयसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तिम आदेश दिइएको छ”, प्रवक्ता शाहीले भनिन् ।

महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणमा नसच्याएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको थियो ।

महानगर प्रमुख बालेन्द्र शाहले भने सामाजिक सञ्जालमार्फत देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका छन् ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । चलचित्रका लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर चलचित्र चल्दैन र चल्न दिइनेछैन”, प्रमुख शाहले उल्लेख गरेका छन् ।

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !