सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती

आजभोलि

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोपेकी थिइन् । गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भइन् ।

त्यसैगरी, मालिका गाउँपालिका–१ निस्कोटका मनवीर सुनरले पनि विगतका वर्षमा भन्दा तीन मुरी बढी कोदो घरमा भित्र्याएको बताए । विगतका वर्षहरुमा मुस्किलले दुई मुरी कोदो उत्पादन हुने गरेकामा यस वर्ष पाँच मुरी बढी कोदो घरमा हुल्न पाउँदा उनी खुशी भएका छन् । पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । कोदोको परिकारप्रति सहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन् ।

हिमाली जिल्लाका रूपमा रहेको म्याग्दीमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ । विशेषगरी पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका कोदो खेतीका लागि उपयुक्त मानिन्छ । बिस्तारै कोदोको माग बढ्दै गएपछि वर्षौंदेखि बाँझो छोडेको जग्गामा खनजोत गरी कोदो खेती थालेपछि कोदोको उत्पादन बढ्दै गएको निस्कोटका कृषक खिरा विश्वकर्माले बताए । केही वर्षअघि सम्म घरअगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायत धेरै गाउँमा गत  वर्षदेखि कोदो खेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरू खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

पछिल्लो समय गाउँबाट सहर गएका मानिससमेत बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका स्थानीयले बताएका छन् । “सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यो वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, पाँच मुरी कोदो फल्यो”, मालिका गाउँपालिका–४ का कर्णबहादुर पुनले भने, “यति भएपछि जाडोमा ढिँडो र रोटी खान पनि पाइने, बिक्री गर्न पनि पाइने ।” मालिका गाउँपालिका–६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा यस वर्ष राम्रो कोदो उत्पादन भएको र यहाँका स्थानीयले यस वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेका स्थानीय टीका सिउथानी मगरले बताए । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।

कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष  पथबहादुर रोकाले बताए । रुम गाउँमा मात्रै तीन सय रोपनीभन्दा बढी बारीमा व्यावसायिकरुपमा नै गरिएको कोदो खेतीबाट यस वर्ष तीन सय मुरीभन्दा बढी कोदो उत्पादन भएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय कालिका पुन मगरले बताए ।

“गाउँमा १० वर्षअघि देखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रुपमा प्रयोग गर्ने गर्छौं”, उनले भने। विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भने जति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरि नै कोदो राम्रो उत्पादन भएको मालिका गाउँपालिका–२ का टीका सुनारको भनाइ छ ।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !