स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल

आजभोलि

पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन् । आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भनेका हुन् ।

“नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री दाहालले भने ।

उनले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उनले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताए ।

प्रधानमन्त्रीले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको बताए । उनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गरे ।

सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सङ्घीयताको कार्यान्वयनमा सङ्घीयताको मर्मअनुरुप संविधानले समन्वय सहकार्य र सहअस्तित्वको व्यवस्था गरेको र मिलेर विकास निर्माण गर्नुपर्ने धारणा राखे ।

उनले उपत्यकालाई धुलोरहित बनाउन र यातायातको व्यवस्था सहज बनाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर महर्जनले ललितपुरलाई सांस्कृतिक महानगरका रुपमा विकास गर्न धेरै काम गर्न बाँकी रहेको बताए ।

त्यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताको समस्या समाधानका लागि महानगरले गरिरहेका कामको प्रशंसा गर्दै वातावरण सुधारदेखि संस्कृति सम्पदा संरक्षणमा गरेको काम उत्कृष्ट रहेको धारणा राखे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ र ललितपुर दुई परस्पर सम्बन्ध भएका महानगर रहेको बताउँदै दुवै महानगरको विकास समानान्तररुपमा अगाडि बढ्नुपर्ने बताए ।

उनले स्थानीय तहका अधिकारसम्बन्धी केही कुरा सङ्घीय कानुनमा बाझिएका प्रष्ट गर्दै यसलाई सहजीकरण गरेर समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरे । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा नेपाल सरकारसँग हातेमालो गर्दै आइरहेको जानकारी दिँदै धेरै ललितपुर महानगर धेरै कुरामा राम्रो काम गर्न सफल भएको धारणा राखे । उनले ग्वार्कोको फ्लाइओभरको व्यवस्थापन नहुँदा उपत्यकाकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै ग्वार्को, सातदोबाटो, एकान्तकुनाका तीनवटै फ्लाइओभर एकै पटक बनाउन प्रधानमन्त्रीसँग आग्रह पनि गरे ।

संविधानसभा सदस्य तथा पूर्वनगर उपप्रमुख चन्द्र महर्जन स्मार्ट स्टेटलाइट, संस्कृति सम्पदा संरक्षणमा ललितपुर महानगरले गरेको कामको जनताले प्रशंसा गरिरहेको बताए । उनले संविधानका बारेमा जनतामा चेतना जगाउन विद्यार्थीमा जानकारी गराउनुपर्ने र पाठ्यक्रममा समेटिनुपर्ने धारणा राखे ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीलाई पानीको व्यवस्था गर्न र यहाँबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापनका लागि सहयोग र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गरिन् ।

विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरको जनसङ्ख्या दुई लाख ९४ हजार ९८ छ । ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा पूर्वाधार’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महानगरले आजदेखि आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । प्रधानमन्त्रीले आपाङ्गता भएका दुई व्यक्तिलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेसँगै यो कार्यक्रमको सुभारम्भ भएको हो ।

विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !