बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान

आजभोलि

मनहरी (मकवानपुर)। मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाले ९५ बिघा जमिनमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । उनका अनुसार पालिकाले गत शुक्रबार बगरखेती कार्यक्रमका लागि प्रस्तावना आह्वानको सूचना प्रकाशित गरेको हो । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक किसान, समूह, कृषि सहकारी संस्था, फारममार्फत एक साताभित्र दरखास्त आह्वान गर्न सकिने पालिकाले जनाएको छ ।

अनुदानका लागि संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि, प्रतिबद्धता पत्र, आयोजनासम्बन्धी अन्य कागजात माग गरिएको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने छ ।

आयआर्जनमा विकास गर्ने लक्ष्यसहित बगर खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताए । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्दै जान्छौँ । अब विस्तारै गाउँबाट सहरमा तरकारी पठाउने लक्ष्यका साथ काम गरेका छौँ”,उनले भने ।

हिउँदमा खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने र त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने लामिछानेले बताए ।

बकैया गाँउपालिकाका १२ वटा वडामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास क्षेत्रअन्तर्गत पर्ने उनले जानकारी दिए । बगर खेतीलाई प्रोत्साहन गर्न गाँउपालिकाले अनुदान दिने भएपछि किसान उत्साहित भएका छन् ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !